काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले मायादेवी न्यूज डटकमको शुभारम्भ गरेकी छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँबाट संचालन भइरहेको रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम र सडक नाटक प्रदर्शनीका क्रममा उपाध्यक्ष घिमिरेले मायादेवी अनलाइन ‘www.mayadevinews.com’ को शुभारम्भ गरेकी हुन् । अब रेडियो मायादेवीलाई त्यहिँ सुन्न र हेर्न सकिने छ ।
अनलाइन शुभारम्भ गर्दै घिमिरेले निष्पक्ष पत्रकारितामा जोड दिइन् । आफ्नै गृहनगर वडा नम्बर ८ मा रेडियो आउनु सुखद रहेको भन्दै उनले समुदायकेन्द्रित आवाजलाई प्राथमिकतामा पारेर सामाग्री पस्कनु पर्ने उनले बताइन् ।
कतिपय मिडियाका भ्रामक सुचना र समाचारका कारण सार्वजनिक ब्यक्तिको चरित्र हत्या भइरहेको भन्दै यसप्रति सचेत रहन उपाध्यक्ष घिमिरेको आग्रह छ ।
मायादेवी न्यूज डट कम र रेडियोलाई सफलताको शुभकामना दिँदै देउसी भैलोको माध्यमबाट आफू जोडिन पाएकोमा घिमिरेले खुसी ब्यक्त गरिन् । रेडियोको देउसी भैलो कार्यक्रम निकै राम्रो र सन्देशमुलक रहेको उनको भनाई छ । १ घण्टा बढी समय दिएर घिमिरेले कार्यक्रमको अवलोकन गरेकी थिइन् ।
रेडियोका अध्यक्ष कृष्ण बहादुर कुँवरले रेडियोलाई संसारभर जोड्न अनलाइनको सुरु गरेको बताए । मिडियालाई विश्वासिलो बनाउन मिडियाकर्मी लाग्नु पर्ने बताउँदै मायादेवी न्यूज र रेडियोले निष्पक्ष पत्रकारितालाई ध्यान दिने बताए ।
रेडियो र अनलाइनलाई हरेक हिसाबमा चुस्त दुरुस्त बनाउन आफूहरु लागि परेको उनको भनाई छ । रेडियो मायादेवीको भैलोमा रेडियोका उपाध्यक्ष माधव भाटले स्वागत मन्तव्य राखेका थिए ।
प्रतिक्रिया