चन्द्रकान्त न्यौपाने, जितपुर । बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगा नगरपालिकामा अवैध क्रसर भएको कुरा स्वीकार गरेका छन् । सिद्धार्थ क्याम्पस बुङ्चीको १४ औँ क्याम्पस सभामा बोल्दै नगर प्रमुख अर्यालले यस्तो कुरा बताएका हुन् ।
सभामा बोल्ने वक्तामध्येबाट एक जना ब्यक्तिले खोलाको ठेक्कापट्टाका विषयको सवाल उठान गर्दै मेयर अर्यालमाथि पनि प्रश्न उठाएका थिए । त्यसको जवाफ दिने क्रममा मेयर अर्यालले नगरभित्रका अधिकांश क्रसर उद्योग मापदण्ड विपरित र अवैध रहेको बताउँदै त्यसको संरक्षण ठुला राजनैतिका दलबाटै भएको बताएका हुन्।
जिल्ला समन्वय समितिको वैठक लगायतका सम्ब्न्धित ठाउँमा अवैध र मापदण्ड विपरितका क्रसर उद्योग रहेको विषय उठान गर्ने पहिलो ब्यक्ति आफू रहेको दावी गर्दै मेयर अर्यालले क्रसर उद्योग संचालकहरुले नगरसंग कहिल्यै समन्वय नगरेको बताए ।
उनले भने, ‘बाणगंगामा रहेका क्रसर उद्योग काँग्रेस, एमाले र माओवादीका छन् । उनीहरुले नगरको नियम मान्दैनन् । नगरसंग कहिल्यै समन्वय गर्दैनन् । कम्पनी रजिस्टारमा नविकरण गरे भने सबै उतैबाट हुने ठान्दछन् । नगरसंग कुनै समन्वय गर्नुपर्दैन भन्ने उनीहरु ठान्दछन् । यिनको संरक्षण पनि तिनै पार्टीबाट भएको देखिन्छ ।’
यस विषयमा अब राजनैतिक दलका नेताहरुले छलफल गर्नु पर्ने अवस्था आएको उनले बताए । क्रसर उद्योगीको यो गतिविधिबाट ठुला पार्टीका नेताहरुले कतै उनीहरुबाट आर्थिक लाभ लिएका त छैनन् भन्ने कुरा अनुमान गर्ने स्थिति आएको उनले बताए ।
नदीजन्य पदार्थको ठेक्कापट्टा कानुन सम्बत नै भएको भन्दै कतैबाट आफूले आर्थिक लाभ अहिलेसम्म नलिएको उनको दावी छ । नगरपालिका मातहतभित्र चलेका जति पनि उद्योग, ब्यापार र ब्यवसाय छन् ती सबैले नगरसंग समन्वय गर्नु पर्ने अर्यालले बताए ।
मेयर अर्यालका यी कुरा जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्य, एमाले नेता झविलाल पोख्रेल, काँग्रेस नगरसभापति विष्णु थापा लगायतले मञ्चबाट सुनिरहेका थिए ।मेयरले यी विषय उठान गरे पनि जिल्ला समन्वय समितिका सभापतिले भने यस विषयमा केहि बोलेनन् । कार्यक्रममा बोल्न एक जना वक्ताले मेयर र जनप्रतिनिधिले नदीजन्य पदार्थमा ठेकेदारबाट लाभ लिएको विषय उठाएका थिए ।
प्रतिक्रिया