चन्द्रकान्त न्यौपाने, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका बुङ्चीस्थित सिद्धार्थ क्याम्पसले शुक्रबार १४ औँ क्याम्पस सभा राख्यो । अध्यक्षता गर्दै क्याम्पस सभामा ब्यवस्थापन समितिका अध्यक्ष डम्बर शर्माले प्रतिवेदन प्रस्तुत गरे । त्यसपछि वक्ताहरुको बोल्ने पालो आयो । कार्यक्रममा प्रमुख अतिथि रहेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, प्राध्यापक, जनप्रतिनिधिदेखि राजनीतिक दलसम्मका दर्जन बढी नेताले भनाई राखेका थिए ।
कार्यक्रम संचालक तथा सहायक क्याम्पस प्रमुख गोविन्द खनालले ५ मिनेटभन्दा बढी हुने गरी नबोल्न आग्रह गर्दै माइक सुम्पे पनि बोल्ने वक्ताले मनमा लागेजतिका कुराहरु राखे । कतिपयले क्याम्पस सभामा राख्नु पर्ने विषय राखे भने कतिपयका भाषण विषयान्तर भएर आएका थिए ।
त्यसमध्ये चर्चा गर्न लायक भाषण थियो बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विष्णु प्रसाद बेलबासेको । क्याम्पसको प्रतिवेदनहरु प्रस्तुत भइसकेपछि सुरुमा माओवादी केन्द्रको तर्फबाट भाषण गर्न बोलाइए बेलबासे । नाम बोलाउनासाथ माइक समातेका बेलबासेले कड्कँदै आफ्नो विषय राखेका थिए । उनको भाषणमा केहि विषयबस्तुकेन्द्रित कुराहरु थिए भने अरु विषयान्तर थिए ।
उनले सिद्धार्थ क्याम्पस तुलनात्मक रुपमा कमजोर बन्दै गइरहेको बताए । यसो हुनुको पछाडी क्याम्पसमा हुने राजनीति मुख्य कारण रहेको उनले बताए । उनले भनेका थिए, ‘क्याम्पस र बाणगंगा नगरपालिकाका शिक्षा क्षेत्रमा बढी राजनीति भयो । फरक विचार राख्नेहरु यहाँ सिद्धिन्छन् । सिद्धार्थ क्याम्पसमा पनि फरक विचार राख्नेहरु सिद्धिन्छन् । ब्यवस्थापन समितिदेखि प्राध्यापक, शिक्षक भर्नामा समेत ब्यापक राजनीति भएको छ । शिक्षा क्षेत्रमा एमाले, काँग्रेस, माओवादी भनिनु हुँदैन । त्यसको असर अहिले क्याम्पसमा परेको देखिन्छ । क्याम्पसमा विद्यार्थी संख्या घट्नुको कारण राजीतिकरण नै हो ।’
शिक्षाको कुरा गर्ने सन्दर्भमा बेलबासेले बाणगंगा मावि गजेहडामा विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष चयनमा भएको विषय उठान गरे । बाणगंगामा योग्य मान्छे ब्यवस्थापन समितिको अध्यक्ष बन्दा नगर प्रमुखले अनावश्यक बखेडाहरु झिकेर अन्यौल बनाएको बेलबासेले बताए । यिनै विषय राख्ने क्रममा नगरप्रमुख चक्रपाणी अर्याल र उनको नेतृत्वमा रहेका जनप्रतिनिधिमाथि पनि बेलबासे खनिए ।
उनले नदीजन्य पदार्थ दोहन र ठेक्का पट्टका सन्दर्भमा जनप्रतिनिधिमाथि आर्थिक चलखेल भएको आरोप पनि लगाए ।
उनले भने, ‘असोज, कार्तिक या मंसिरमा नदीजन्य पदार्थको ठेक्का पट्टा नभएर चैत्रमा हुने कारण के हो ? मेयर यहिँ हुनुहुन्छ, यो सबै भएको आर्थिक चलखेलकै कारण हो । चैत्रमा ठेक्का खुलाउँदा त्यतिखेरसम्म भाग मिलाउन सकिन्छ ।’
उनले शिक्षा क्षेत्रमा भएको चरम राजनीति र नगरपालिकामा नदीजन्य पदार्थमा भएको ठेक्का पट्टाका विषयमा आक्रामक भनाई राख्दै उनले हरु अब शिक्षा क्षेत्रमा राजनीति गर्न नहुने बताए । यसो भएको खण्डमा जिल्लाका क्याम्पस र स्कुलहरु राम्रो हुने बताए ।
स्कुल र कलेज, क्याम्पसहरुमा शिक्षक भर्नादेखि अन्य सबै विषयमा हाम्रा नभएर राम्रा मान्छे राख्नु पर्ने उनले बताएका थिए ।
कृषि क्याम्पस बनाउन महायज्ञ लगाइएको भन्दै त्यसको अहिले कुनै लेखाजोखा र मुल्यांकन समेत नभएको उनको भनाई थियो । भाषण राखेर बेलबासे एक सेकेण्ड पनि बसेनन्, उनी निस्किहाले ।
माओवादी केन्द्रका जिल्ला संयोजक बेलबासेका यी कुरा सुनेर बसेका मेयरको पनि केहि वक्तापछि पालो आयो । उनको रोलक्रम पछि रहे पनि उनले ब्यस्तताको कारण देखाउँदै समय माग गरी आफ्नो भाषण राखे ।
मेयर अर्यालले क्याम्पस सभामा विषयकेन्द्रित कुरा नउठेर विषयबाहिरका कुरा आएको भन्दै सबैले क्याम्पसको हितकाृ विषयमा कुरा राख्नु पर्ने बताए । आफूमाथि केहि गम्भीर प्रह्न आएपछि ती प्रश्नको उत्तर पनि दिनुपर्ने बताउँदै उनले सुरुमा सभाकेन्द्रित विषय राखे ।
क्याम्पसमा विद्यार्थी संख्या घट्नु, सिपमुलक र प्राविधिक शिक्षाको पठनपाठन हुनुमा नगर र क्याम्पसको दोष नरहेको बताए । उनले प्राविधिक विषयको सम्बन्धन लिन ज्यादै कठिन रहेको, पाठ्यक्रम २०२८ सालदेखिको रहेको बताउँदै नीति र कानुनमाथि नै प्रश्न गरे । यसका साथै उनले क्याम्पस सभामा विद्यार्थी भर्नाको स्थिति, बिभिन्न निकायबाट आएको अनुदानको अपचलन भयो भएन, शिक्षक प्राध्यापकहरुले कत्तिको इमान्दारपूर्वक पढाइरहेका छन् छैनन् लगायतमा सबैको भाषण आउनु पर्ने उनको तर्क थियो ।
त्यसपछि मेयर अर्यालले आफूमाथिका प्रश्नको जवाफ दिन थाले । उनले भने, ‘मलाई यी प्रश्नको जवाफ दिनु थिएन । कुनै एक जना सामान्य ब्यक्तिले भनेको भए म बोल्दिनथेँ तर एउटा पार्टीका जिम्मेवार संयोजक जस्तो ब्यक्तिले प्रश्न उठाएपछि बाध्य भएर जवाफ दिँदैछु । मेरो यो चाहाना थिए ।’
सुरुमा उनले क्याम्पसमा हुने राजनीतिको विषयको जवाफ दिए । झविलाल पोख्रेल अध्यक्ष हुँदाको बखत आफू पनि क्याम्पसको समितिमा रहेको स्मरण गर्दै उनले सहमतिमा क्याम्पस चलाउने सहमति भएको बताए । मेयर अर्यालले विष्णु बेलबासेको नाम लिँदै भने, ‘त्यो सहमति कसले गरेको थियो ? मलाई लाग्दछ एउटा समितिमा उहाँ आफै, कमल चुँदाली लगायत माओवादीका नेता हुनुहुन्थ्यो । सहमतिका आधारमा क्याम्पस चलाउने कुरा गरेका थियौँ अहिले पनि त्यहि छ ।’
बाणगंगा नगरपालिकाको शिक्षा क्षेत्रमा भएको राजनीतिका विषयमा पनि मेयर अर्याल बोले । नगरपालिकाको शिक्षा क्षेत्रमा राजनीति नभएको भन्दै बाणगंगामा माविको ब्यवस्थापन समिति अध्यक्ष चयन नियमसंगत भएको हो, उहाँहरु अदालतसम्म जानु भयो के आयो अदालतको निर्णय ? स्कुलका प्रधानाध्यापक राम प्रसाद भण्डारी यहिँ हुनुहुन्छ अहिलेको ब्यवस्थापन समितिले उहाँलाई कति अफ्ट्यारो पारेको छ भन्ने कुरा मैले बुझेको छु । मेयर अर्यालले समय लिँदै आफूमथि केहि आरोप आएको भन्दै उनले प्रमाण पेश गर्न चेतावनी दिए ।
‘विष्णु जि मेरो प्रिय साथी पनि हुनुहुन्छ, उहाँजत्तिको मान्छे अन्जानमा जे पनि बोल्ने ? अलिअलि अध्ययन गर्नुपर्दैन ? नदीजन्य पदार्थको ठेक्का कार्तिक मंसिरमा नभएर चैत्रमा किन हुन्छ भन्ने कुराको अध्ययन गर्नुपर्यो विष्णु जिले । स्थानीय सरकार संचालन ऐन २०७४ ले नदीजन्य पदार्थको ठेक्काका विषययमा उल्लेख गरेको छ, यहाँ हामीले बनाएको नियम कानुनले चल्दैन । त्यो नियम कानुनको आधारमा हामीले चैत्रमै ठेक्का खुलाउनुको विकल्प छैन । असोजमा खोला सुक्दछन् । माल के कति जम्मा भयो ? त्यसको वातावरणीय प्रभाव मुल्यांक गर्नुपर्यो । यसो गर्दा समय लाग्दछ । अध्ययन गर्दागर्दै चैत्रमा पुग्दछ’, मेयर अर्यालले थपे, ‘नपढी जे पायो बोल्नु हुँदैन विष्णु जि जत्तिको मान्छेले । हामी कानुन अनुसार चलेका छौँ ।’
नदीजन्य पदार्थको ठेक्का लगाउँदा आफूहरुले कुनै आर्थिक लेनदेन नगरेको भन्दै त्यसलाई प्रमाणित गर्न अर्यालको खुला चेतावनी छ । उनले आफूले आर्थिक लेनदेनमा कुनै काम गरेको भए प्रमाण दिन आग्रह गर्दै जथाभाहि गरे । पैसा खाएको विषयमा आफू जहाँ गएर पनि बहस गर्न तयार रहेको उनको जिकिर छ । कुरा राखेपछि विष्णु जि जानु भयो उहाँ बसेर हाम्रा कुरा पनि सुन्नुपर्दथ्यो मेयर अर्याललले भनेका थिए । अर्यालले बाणगंगा नगरपालिकामा अवैध क्रसर भएकोसमेत बताए ।
नगरभित्रका अधिकांश क्रसर उद्योग मापदण्ड विपरित र अवैध रहेको बताउँदै त्यसको संरक्षण ठुला राजनैतिका दलबाटै भएको उनले बताए । उनले भने, ‘बाणगंगामा रहेका क्रसर उद्योग काँग्रेस, एमाले र माओवादीका छन् । उनीहरुले नगरको नियम मान्दैनन् । नगरसंग कहिल्यै समन्वय गर्दैनन् । कम्पनी रजिस्टारमा नविकरण गरे भने सबै उतैबाट हुने ठान्दछन् । नगरसंग कुनै समन्वय गर्नुपर्दैन भन्ने उनीहरु ठान्दछन् । यिनको संरक्षण पनि तिनै पार्टीबाट भएको देखिन्छ ।’
कार्यक्रममा प्रमुख अतिथि विष्णु पन्थीले नेपालको शिक्षा नीति खराब हुँदा समस्या भएको बताए । छोटो भनाई राखेका उनले प्रदेशले विश्व विद्यालय खोल्ने निहुँमा चलिरहेका क्याम्पसलाई धरासयी बनाउने काम गरेको बताए । प्रदेशभरका क्याम्पस बलियो बनाउन विश्वविद्यालयको नाटक बन्द गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण पौडेल, जिल्ला समन्वय समितिका सभापति बाबुराम आचार्य, नेताहरु झविलाल पोख्रेल, विष्णु थापा, पूर्व क्याम्पस प्रमुख बलाराम ज्ञवाली, संस्थापक प्राध्यापक मोहन ज्ञवाली, भूपु विद्यार्थी संगठनका अध्यक्ष गोविन्द पोख्रेल लगायतले बोल्दै क्यापसमा हुने राजनीति बन्द गर्नुपर्ने, क्याम्पसमा विद्यार्थी घट्नु र नहुनुका कारण खोज्नुपर्ने, कमजोरीहरु सुधार गर्नुपर्ने, थप उच्च माविहरु संचालनतर्फ लाग्न नहुने लगायतका विषय राखेका थिए ।
अधिकांस वक्ताले पहिलेको अवस्थाभन्दा क्याम्पसको अहिलेको अवस्था सन्तोषजनक नभएको बताउँदै सुधारमा सबै लाग्नु पर्ने कुरामा ध्यानाकर्षण गराएका थिए । अध्यक्ष शर्माले सबैका कुराहरु समेटेर अघि बढ्ने बताए । उनले पनि धेरै बोलेनन् । सभामा क्याम्पसका उपाध्यक्ष रवि बहादुर काफ्लेले स्वागत मन्तव्य राखेका थिए ।
प्रतिक्रिया