बुटवल । स्थानीय तहका रिक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । लुम्बिनीमा रिक्त रहेका ६ पदमा तीन ठूला दलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
रिक्त ६ पदमा यसअघिको निर्वाचनमा नेपाली कांग्रेसबाट ४ जना र माओवादीबाट २ जना निर्वाचित भएका थिए । ती सबै पदमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाइसकेको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले केही स्थानमा टुङ्ग्याएका छन् ।
लुम्बिनीमा हुने उपनिर्वाचनका पद मध्य रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकालाई प्रमुख दल कांग्रेस, एमाले र माओवादीले विषेश चासोका साथ हेरेका छन् । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले उपनिर्वाचनमा भाग लिने तयारी गरे पनि अहिलेसम्म उम्मेद्वारको घोषणा गरेको छैन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार एक गाउँपालिका उपाध्यक्ष र ५ वटा वडाध्यक्षको लागि निर्वाचन हुने छ । यस्तै सोही गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा पनि निर्वाचन हुँदैछ ।
गत भदौ २८ गते सवारी दुर्घटनामा परी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा मगरको मृत्यु भएको थियो । उनी २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित भएकी थिइन् । उनको मृत्यु पछि रिक्त रहेको उपाध्यक्ष पदमा निर्वाचन हुन लागेको हो ।
यस्तै सोही गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षका अध्यक्ष पनि सोही सवारी दुर्घटनामा परी मृत्य भएको थियो । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था अनुसार उपनिर्वाचनको तयारी गरिएको हो ।
यी रिक्त पदहरुमा एमालेले उम्मेद्वारको टुङ्गो लगाइसकेको छ । एमालले रुकुमपूर्वको पुथा उत्तरगंगाको उपाध्यक्षमा केशकुमारी तुलाचन, वडा नं २ को अध्यक्षमा जीवन रोका, गुल्मी मुसिकोट नगरपालिका वडा नं १ को अध्यक्षमा दलबहादुर थापा, बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ४ मा विष्णुप्रसाद सापकोटा, कपिलवस्तु शुद्धोधन गाउापालिका वडा नं १ मा अब्दुल मोजिन खाँ, रोल्पा रुन्टिगढी गाउँपालिका ४ को अध्यक्षमा बेगम पुनलाई उम्मेदवार बनाइएको एमाले लुम्बिनीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेँलले बताए ।
कांग्रेस र माओवादीले अझै औपचारिक रुपमा उम्मेद्वारको घोषणा गरेका छैन् । कांग्रेस र माओवादीले अबको १/२ दिनमा नै उम्मेदवार टुङ्गाउने बताएका छन् । रास्वपाले उपनिर्वाचनमा भाग लिने बताए पनि अहिलेसम्म उम्मेद्वार घोषणा भने गरेको छैन् ।
प्रतिक्रिया