मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दर्भ कपिलवस्तु महोत्सवः स्थानीय ब्यापारी मर्कामा, क-कसलाई मिल्छ लाभैलाभ ?

सन्दर्भ कपिलवस्तु महोत्सवः स्थानीय ब्यापारी मर्कामा, क-कसलाई मिल्छ लाभैलाभ ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । कपिलवस्तुमा मेला र महोत्सवको सिजन सुरु भएको छ । बुद्धभूमि उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर ७ गतेदेखि १७ गतेसम्म चौथो बुद्धभूमि महोत्सव हुँदै छ भने कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा बुद्ध रंगशालामा मंसिर १९ गतेदेखि पुष २ गतेसम्म १५ औँ कपिलवस्तु महोत्सव हुदै छ । त्यसपछि लगत्तै चन्द्रौटा, तौलिहवा र शुद्धोद्धन गाउँपालिकामा पनि महोत्सव हुनेछन् ।

जिल्लामा जहाँजहाँ महोत्सव भए पनि जति बुद्ध रंगशाला जितपुरको चर्चा र परिचर्चा हुन्छ अन्य स्थानको त्यति चर्चा भएको पाईदैन ।

अन्य स्थानमा हुने महोत्सव त सिमित ब्यक्तिको ठेक्कामा चलेको हुन्छ र त्यसले स्थानीय ब्यापार प्रर्वद्धनमा खासै अर्थ राख्दैनन् । यस्तोमा बुद्ध रंगशालाको महोत्सवको खास हुन्छ कि भन्ने जनअपेक्षा पनि अचेल मर्दै गएको देखिन्छ । पछिल्लो गति हेर्दा भने लुम्बिनी प्रदेशमै धेरै दर्शक आउनेमध्येको महोत्सव भए पनि कपिलवस्तु महोत्सव पनि खस्कँदो छ । पछिल्ला संस्करणमा आयोजकहरु बिभिन्न कुरामा चुक्दा दर्शकको उल्लेख्य साथ पाए पनि बुद्ध रंगशालामा हुने महोत्सवले पनि विश्वसनियता गुमाउँदै गएको छ ।

जसकाकारण कपिलवस्तु उद्योग बाणिज्य संघ र बाणगंगा वेलफेयर सोसाइटीको आलोचना हुने गर्दछ । किनकि १५ औँ संस्करणसम्म महोत्सव आउँदै गर्दा आलोपालो यिनै संस्थाले महोत्सव आयोजना गरिरहेका छन् । आयोजकको आलोचना हुने र महोत्सवले विश्वसनीयता गुमाउनु पर्ने स्थिति किन आयो त ?

१ः करोडौँ कमाउने तर हिसाब किताब सार्वजनिक नगर्ने परिपाटी

१५ औँ संस्करणसम्म कपिलवस्तु महोत्सव हुँदैगर्दा अहिलेसम्म औसतमा करिब ५० करोडको कारोबार भएको देखिन्छ । २ लाख दर्शक र ५ करोडको कारोबारको लक्ष्य हरेक पटक हुने महोत्सवमा आयोजककले राखेको इतिहास छ । आयोजकको लक्ष्य अनुसार कारोबार भएमा ७० र नभएर १ २ करोड घटे पनि करिब ५० करोडको कारोबार सहजै भएको अनुमान गर्न सकिन्छ ।

तर यतिधेरै कारोबार भए पनि यसको हिसाबकिताब सार्वजनिक गर्न भने दुवै संस्था अहिलेसम्म असफल भएका छन् । महोत्सव संचालन गर्दैगर्दा पत्रकार सम्मेलनमार्फत् हिसाब किताब सार्वजनिक गर्छौ भने पनि महोत्सव सकिएपछि अहिलेसम्म हिसाबकिताब सार्वजनिक भएको प्रमाण भेटिन्न ।

महोत्सवबाट जम्मा भएको रकम कहाँ जान्छ, महोत्सवको आम्दानी र खर्च बराबरी भयो या के भइरहेको छ महोत्सवमा खर्च गर्ने दर्शकले थाहा पाउन सकेका छैनन् । यति धेरै पैसा कमाएर पनि महोत्सव स्थलको हविगत उस्तै छ भने उनीहरुले गरेको कामको नतिजा पनि कहिँ कतै भेटिँदैन । उमानाथ पौडेल अध्यक्ष र संयोजक रहेको पालाको महोत्सवबाट रकम संकलन गरी कपिलवस्तु उद्योग बाणिज्य संघको भवन बनेबाहेक अरु महोत्सवबाट जुटेको करोडौँ रकम कतातिर स्वाहा भयो अहिलेसम्म अत्तोपत्तो छैन ।

त्यसैले पनि महोत्सवमा मान्छेको विश्वसनियता घट्दो छ । त्यसैले अचेल विरासत बोकेको कपिलवस्तु महोत्सवमा स्थानीय ब्यापारी, बुद्धिजिवी र सरोकारवालाको त्यति चासो देखिन्न । अहिले १५ औँ कपिलवस्तु महोत्सवको प्रचार सुरु भए पनि सरोकारवालामा उत्साह छैन ।

२ः स्थानीय ब्यापारीलाई सधैँ घाटा न प्राथमिकता
बुद्ध रंगशालामा हुने महोत्सवबाट सिमिति ब्यक्तिले प्रशस्त लाभ लिए भने स्थानीय ब्यापारीलाई सधैँ घाटा भइरह्यो । मंसिर महिनापछि ३ महिना जाडोको लागि ब्यापार गरौँला भनेर तयारी गरेका स्थानीय ब्यापारी महोत्सव लागेपछि टाउको छोपेर बस्न बाध्य हुन्छन् । चार नम्बरका एक जना कपडा पसलका ब्यापारीले भने, ‘अब फेरि महोत्सव लाग्ने हल्ला छ हाम्रो जाडोमा हुने ब्यापार खत्तम हुने भो ।’

यस्तै अन्य ब्यापारीले पनि यो महोत्सवबाट खासै लाभ लिन सकेको उदाहरण प्रस्तुत गर्न सक्दैनन् । स्थानीय एक जना ब्यापारीले भने, ‘नत हामीलाई स्टलमा प्राथमिकता दिइन्छ, नत स्थानीय ब्यापारीको स्टलको लागि खास सुविधा दिइन्छ । महोत्सवमा बाहिरका ब्यापारी हावी हुन्छन् । देशैभर महोत्सवमा स्टल राख्ने ब्यापारीसंग आयोजकको साँठगाँठ हुन्छ । महंगो स्टल बनाएर स्थानीयलाई पर्न नदिने प्रपञ्चमा आयोजक हुन्छन् । अनि हामीले कसरी महोत्सवको अपनत्व लिने ?’
उनी भन्दछन्, ‘यदि स्थानीय ब्यापारीको पनि महोत्सव हो भन्ने बनाउनु छ भने आयोजकले स्टलमा केहि छुट दिनुपर्दछ भने ५० प्रतिशत स्टल पनि स्थानीय ब्यापारीले पाउनु पर्दछ ।’

तर यस विषयमा कहिल्यै पनि आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघ र बाणगंगा वेलफेयरले सोचेनन् । स्थानीय ब्यापारीलाई पेलेर गए पनि फरक पर्दैन भन्नेमा उनीहरु रहेको बुझिन्छ । त्यसैले महोत्सव आए पनि गए पनि मतलब हुन छोडेको ती ब्यापारीले बताए । यसपटक कपिलवस्तु उद्योग बाणिज्य संघले पनि यसरी छलफल नचलाएको ब्यापारी बताउँछन् ।

दशैँतिहारमा समेत भनेजस्तो ब्यापार नभएर तनावमा रहेका ब्यापारीहरु महोत्सवको चर्चाले थप तनावमा परेको बताए । ब्यापारीको हितभन्दा पनि बालबालिका र उरन्ठ्यौला युवा जमातलाई उन्मादमा केन्द्रित गर्न महोत्सव आयोजना गर्न लागिएको चार नम्बर, बनगाई, पिपरा, गजेहडा लगायतका ब्यवसायी बताउँछन् ।

३ः सिमित ब्यक्तिको रजाई र उनैलाई लाभैलाभ
बुद्ध रंगशालामा लाग्ने महोत्सवले सिमित ब्यक्तिलाई भने सधैँ लाभ हुने गरेको स्थानीयको आरोप छ । दुवै संस्थामा जिम्मेवार पदमा बसेकाहरु नै यस कुरालाई स्वीकार गर्दछन् । यो कुराको पुष्टि पनि बिभिन्न उपसमितिका संयोजक पाउन हानथाप गरेबाट पुष्टि हुन्छ । मुख्यगरी स्टल, कलाकार ब्यवस्थापन, पिङ, उद्यान तथा भान्छा संयोजकमा हानथाप हुने गर्दछ ।
यसपटक पनि कपिलवस्तु उद्योग बाणिज्य संघमा उपसमिति संयोजक विभाजन गर्दा विवाद भएको थियो । एमालेले नाम नै तोकेर लाभ हुने समिति माग्दा नपाएपछि विवाद भएको बताइन्छ ।

अहिले पनि स्टल लगायतका संयोजकमाकाँग्रेस र एमालेको विवाद भएको थियो, श्रोत भन्छ ‘यी उपसमितिको संयोजकमा मरिहत्तै गर्नुको पछाडी त्यहाँ आर्थिक चलखेल गर्न पाइन्छ भन्ने मनोदशा नै हो ।’

हरेक महोत्सवमा स्टल संयोजकले हरेक स्टल ल्याउँदा नै कमिसन खाने र मातहतलाई बाँड्ने गरेको आरोप एकपटक होइन पटकपटक आएको थियो । चाँडै स्टल खुलाउने, खाली नै राखेर प्याक भयो भनेर हल्ला फैलाउने अनि पछि धेरै पैसामा ती स्टल बेच्ने गरेको स्थानीय ब्यापारी बताउँछन् । त्यसैले यस्ता महोत्सव लगाउँदा पनि ती स्टल संयोजक र वरिपरिका मान्छेले राम्रै लाभ लिने गरेको महोत्सव लगाउने अनुभवकर्ताले अपिटाइम्सलाई बताए ।

यस्तै कलाकारको जिम्मा लिने ब्यक्तिले पनि राम्रै लाभ लिने गरेको सुन्नमा आउँछ । त्यसैले कपिलवस्तु महोत्सवमा केहि कलाकार नयाँ आए पनि प्रायजसो पुराना कलाकार नै आउने गर्दछन् । ‘सांस्कृतिक र स्टेज कार्यक्रम संचालक र कलाकारको जिम्मा लिने ब्यक्ति लगभग उनै हुने गर्दछन् । त्यो हुनुको पछाडी पनि कलाकारसंग मिलिजुली गर्ने पाइन्छ र स्वार्थ लिन पाइन्छ नै भन्नु हो’, विगतका महोत्सवमा आयोजक रहेका एक जना सदस्यले भने ।

पहिलेदेखि नै कलाकारसंग चिनजान भएका कारण उनीहरुले ठुलो स्टेज लिन लागेको भन्दै सस्तैमा कलाकारसंग डिल गर्दछन् र आयोजकबाट बढी लिन लगाउने गर्दछन् । पछि कलाकारबाट नै बोलाएबापत्को कमिसन लिने गरेको धेरैको गुनासो छ । त्यसैले महोत्सवबाट कलाकारको जिम्मा लिने संयोजक र ऊ मातहतका ब्यक्तिलाई राम्रो लाभ हुने गरेको धेरै जना बताउँछन् । यति मात्र होइन बाल उद्यान, पिङ लगायतको जिम्मा लिनेहरु पनि कमिसनमा चल्ने गरेको आरोप छ । बिभिन्न स्थानबाट लिएको लाभ घुमाएर संयोजक, निर्देशक लगायतको पोल्टामा जाने गरेको सुनिँदै आएको छ ।

४ः डान्स आइडलका नाममा पैसाको खेलोमेलो

पछिल्लो समय कपिलवस्तु महोत्सवमा हुने डान्स आइडलमा प्रतिभा प्रस्फुटन भन्दा पनि पैसा प्रस्फुटनले महत्व पाउन थालेको छ । त्यसैकारण अहिलेसम्मका डान्स आइडलका विजेता गुमनाम छन् । डान्स आइडल बन्नको लागि पैसा पेलेपछि राम्रो प्रतिभाले स्थान पाउन नसकेको स्वयम् अभिभावक बताउँछन् ।

यसको पछाडी टिकटको खरिद विक्रि हो गत बर्ष आइडलमा सहभागि भएर कम भोटका कारण पछारिएका प्रतिभा भन्दछन् ‘बिटोको बिटो पैसाले टिकट किनेपछि हामीहरुको के स्थान ?’ हुन पनि आइडलको भोटिङ राउण्ड सुरु भएपछि नै यो खेल सुरु हुन्छ ।

भोटिङका नाममा एक जनाले ७ लाखसम्म खर्च गरेर आइडल जिताएको बताइन्छ । यहाँबाट पनि आइडल संयोजक लगायतले धेरै पैसा कमाउने गरेको स्थानीयको अर्को आरोप छ । त्यसैले अहिले डान्स आइडल भनेपछि खासै रौनक नआउने नृत्यमा रुची राख्नेहरु बताउँछन् । यदि डान्स आइडल गर्ने र प्रतिभालाई निकाल्ने हो भने भोटिङको नाममा हुने टिकट खरिद बिक्रि बन्द गर्नुपर्ने अभिभावक र सरोकारवाला बताउँछन् ।

प्रदर्शनीका नाममा हाटबजार
हरेक महोत्सवमा पर्यटन प्रर्वद्धन र प्रदर्शनी जोडिएको हुन्छ । तर महोत्सवका स्टल हेर्ने हो भने न त्यहाँबाट पर्यटन प्रवद्धन भएको देखिन्छ नत स्थानीय सीप र कला र कृषिको नै प्रदर्शन । केवल नाम टाँसेर कलाकारको प्रस्तुतिमा मात्रै महोत्सवहरु केन्द्रित हुने गरेका छन् । मेलाभित्रको स्थिति हेर्दा हाटबजारभन्दा कम देखिन्न । केवल त्यहाँ किनमेल मात्र देखिन्छ कुनै प्रदर्शनी देखिन्न ।

यसपटकको १५ औँ कपिलवस्तु महोत्सवमा पनि त्यस्तो नयाँपन आउने छ भन्नेमा कुनै सरोकारवालामा विश्वास छैन । कपिलवस्तुको पर्यटन प्रवद्धन भनिएको हुन्छ त्यसले न्याय सचिवालयको भीत्तामा पाएको देखिन्छ ।

यहाँका केहि पर्यटकीय स्थलको सचिवालयमा फोटो टाँसेपछि आयोजकबाट पर्यटन प्रर्वद्धन भइरहेको छ । यस तरिकाले यहाँको पर्यटन प्रर्वद्धन नहुने नयाँ सोँच निर्माण गर्न आयोजकलाई पर्यटन ब्यवयसायीको आग्रह छ ।

मिडियालाई सधैँ उपेक्षा
अहिलेसम्म भएका महोत्सवमा सधैँ मिडियालाई उपेक्षा गर्ने गरिएको छ । मदिरा सेवन गरेर आएको एकजना कलाकारले एकदुई घण्टा गीत गाएर ५० औँ हजार, एक लाख कुम्ल्याएर लैजाँदै गर्दा १० १२ दिन मिहिनेत गर्ने मिडियाले निकै कम रकम पाउँछन् । उतामहोत्सवले कमाएजतिको पैसा तिनै लाजघिन पचेका कलाकारले लैजाने गरेको आरोप आउने गर्दछ ।

यस क्षेत्रका अनलाइन, रेडियो, पत्रपत्रिका र टेलिभिजनले परिश्रम गरे अनुसार महोत्सवबाट रकम पाउन नसकेको बताइन्छ ।आयोजक मातहतको मिडियाकर्मी र उसको मिडियाबाहेक अन्य मिडियालाई उपेक्षा गर्ने गरेको मिडियाकर्मीको आरोप छ । यसपटक त्यसो नगर्न नेपाल पत्रकार महासंघले आग्रह गरेको छ । मिडियाविना महोत्सव सफल हुन नसक्ने कुरलाई हेक्का राख्न पत्रकारले सबै आयोजकलाई आग्रह गरेका छन् ।

अब १५ औँ कपिलवस्तु महोत्सवमा यी र यस्ता विषय कसरी ब्यवस्थापन हुन्छन् हेर्न बाँकी छ । संघका अध्यक्ष गणेश बहादुर क्षेत्री पनि सिमित ब्यक्तिको घेराभन्दा माथि उठ्न नसकेको हुनाले तिनै परिपाटी दोहोरिने निश्चित भएको संघभित्रकै ब्यक्तिहरु बताउँछन् ।

तर केहि पदाधिकारी भने यसपटक ती कमजोरी हुन नदिने बताउँछन् । आयोजक पनि महोत्सव मिति नजिकै आएसंगै फरक खालको बनाउन तातेको छ ।