मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगाको चार नम्बरमा ‘भुक फोहरदानी’, प्लाष्टिकजन्य फोहर यतै राखौँ

बाणगंगाको चार नम्बरमा ‘भुक फोहरदानी’, प्लाष्टिकजन्य फोहर यतै राखौँ

अपि टाइम्स

जितपुर । कपिलवस्तुको सबैभन्दा सुन्दर र विकसित सहरको रुपमा अघि बढेको बाणगंगा नगरपालिकास्थित चार नम्बरमा बेग्लै आकारको फोहरदानी राखिएको छ । झट्ट हेर्दा माछा मार्न प्रयोग हुने ‘भुक’ आकारको फोहरदानी हरिबोधनी एकादशीको दिन पारेर राखिएको हो ।

बाणगंगाका वरिष्ठ समाजसेवी सागर श्रेष्ठ र युवा समाजसेवी शुशिल सिंह ठकुरी (गणेश) ले नीजि खर्चमा यो नयाँ आकारको फोहरदानी राखेका हुन् । चार नम्बरको तौलिहवा रोडको सुरुमै दाया र बाँयाँ यो फोहरदानी देख्न सकिन्छ भने फोहरदानीमा प्लाष्टिकजन्य वस्तु र बोतलहरु मात्र राख्न आग्रह गरिएको छ ।

केहि समयअघि दुवै जना सिद्धार्थ सामाजिक विकास संस्थासंग भारतको केरला राज्यको भ्रमणमा गएका थिए । त्यहाँ यस आकारका फोहरदानी देखेपछि उपयुक्त ठानी यसको कपि गरिएको ठकुरीले बताए । फलामका मसिना पाता जोडेर बनाइएको फोहरदानीको भित्रपट्टीबाट चारैतिर जाली छ भने मुखको भाग सानो छ ।

उनले भने, ‘देख्दा पनि राम्रो, पानी जम्मा पनि नहुने, झिँगा, मच्छर पनि नबस्ने, एकदमै राम्रो लागेर त्यसको फोटो खिचेर ल्यायौँ । अनि ग्रिललाई त्यो आकार देखाएपछि यहिँ यति सुन्दर फोहरदानी बन्यो । अब विस्तारै नगरपालिकाभरी यस्तै फोहरदानी राख्ने अभियान थाल्दछौँ ।’ श्रृंङ्गीघाट सामुदायिक वनका अध्यक्ष समेत रहेका ठकुरीले वनले पनि यस्तो फोहरदानी बनाउन प्रयास गर्ने बताए ।

समाजसेवी श्रेष्ठले यो बनाउँदा महंगो भए पनि निकै उपयुक्त रहेको बताए । उनका अनुसार चार नम्बरमा राखिएको सानो फोहरदानी बनाउन १५ र ठुलो फोहरदानीलाई २० हजार रुपैयाँ लागेको छ । यस फोहरदानीलाई १५ औँ कपिलवस्तु महोत्सवमा पनि नमुनाको रुपमा राखिने ठकुरीले बताए ।

चार नम्बरमा निस्कने प्लाष्टिकजन्य फोहर मात्र राख्न श्रेष्ठको आग्रह छ । पर्यावरण स्वच्छ राख्ने सन्देश दिन फोहरदानीको रङ हरियो बनाइएको उनीहरुले बताएका छन् ।