मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय महिला क्रिकेटमा पूजा महतोको कीर्तिमान, शतक र ५ विकेट

अन्तर्राष्ट्रिय महिला क्रिकेटमा पूजा महतोको कीर्तिमान, शतक र ५ विकेट

अपि टाइम्स

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाली ब्याटरलाई अर्धशतक पार गर्नु नै ठूलो उपलब्धि हुँदै आएको स्थितिमा मंगलबार पूजा महतोले एकै पटक शतक र ५ विकेटको दुर्लभ कीर्तिमान बनाएकी छन् । यूएईमा भइरहेको आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपअन्तर्गत एसिया छनोटमा नेपाली यू–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजाले कुवेतविरुद्धको खेलमा यस्तो कीर्तिमान बनाएकी हुन् ।

अजमानस्थित द सेभेन रंगशालामा पूजाले अविजित १३० रनको इनिङ्स खेलिन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला खेलाडीको यो दोस्रो र उमेर समूहमा पहिलो शतक हो । रुबिना क्षेत्रीले फेब्रुअरीमा मलेसियामा एसीसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध अविजित ११८ रन बनाएकी थिइन् ।

सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेयता यो नै नेपाली महिला खेलाडीको पहिलो शतक थियो । संयोग के थियो भने रुबिनाले शतक बनाउँदा नेपाली खेलाडीमा सबैभन्दा नजिकबाट अर्थात् नन स्ट्राइकबाट पूजाले त्यो ऐतिहासिक क्षण हेरिरहेकी थिइन् ।

उनै पूजाले रुबिनाको पथ पछ्याउँदै शतकको सूचीमा आफ्नो नाम लेखाएकी हुन् । पूजाले यूएईमा शतक पूरा गरेपछि रुबिनाले शतक बनाउने सूचीमा आएकामा पूजाको स्वागत गर्दै उनी प्रतिभाशाली खेलाडी भनेर तारिफ गरेकी छन् । रुबिनाले ५४ बलमा शतक पूरा गरेकी थिइन् । पूजाले शतक बनाउन केवल ५७ बल खेलिन् ।

रुबिना र पूजाले मलेसियामा पाँचौं विकेटमा १६६ रनको साझेदारी गरेका थिए । पूजाले यूएईमा कुवेतविरुद्ध सोनी पाख्रिनसँग तेस्रो विकेटका लागि १५७ रनको साझेदारी गरिन् । पूजाले ६९ बल खेल्दै १७ चौका प्रहार गरेकी थिइन् । ओपनरद्वय सना प्रवीण ६ र सावित्री धामी ११ रनमा आउट भएपछि पूजा र सोनीले जमेर खेलेका थिए । सोनीले ३३ बल खेल्दै २ चौकासहित अविजित ३३ रन बनाइन् ।

पूजाको जोडदार प्रदर्शन यतिमै सीमित रहेन । उनले बलिङमा पनि प्रभाव जमाइन् । ४ ओभरमा १ मेडन राख्दै ८ रन मात्र खर्चेर ५ विकेट लिएकी हुन् । यस अर्थमा पूजा एकै खेलमा शतक बनाउने र ५ विकेट लिएर दुर्लभ कीर्तिमान बनाउने नेपालको पहिलो खेलाडी बनेकी छन् । रचनाकुमारी चौधरी र सीमा केसीले पनि २–२ विकेट लिएपछि कुवेतलाई १३ ओभरमा १४८ रनमा अलआउट गर्दै नेपालले खेल १६५ रनको विशाल अन्तरले जितेको थियो

मधेश प्रदेशको महोत्तरीबाट खेल्दै आएकी पूजासँग राष्ट्रिय टोलीको पनि बाक्लो अनुभव छ । उनले गत वर्षको अगस्टमा मलेसियामा हङकङविरुद्ध राष्ट्रिय टोलीबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेकी थिइन् । त्यसयता १८ वर्षीया पूजाले २० खेलमा १ अर्धशतकसहित १८५ रन बनाउनुका साथै ११।३७ को औसतमा १६ विकेट लिइसकेकी छन् ।