जितपुर । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सुत्केरी महिलाको लागि अटोरिक्सा निशुल्क गरेको छ । केहिदिन अघि बसेको कार्यपालिकाको वैठकले एम्बुलेन्स सेवा नपाएको स्थितिमा पनि अटोरिक्सामार्फत् सेवा दिने भएको हो । नेपाल पत्रकार महासंघ कपिलवस्तुले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य क्षेत्रको उपलब्धि बताउने क्रममा नगरप्रमुख केशव कुमार श्रेष्ठले यो कुराको जानकारी दिएका हुन् ।
उनले भने, ‘नगरपालिकामा अहिले एउटा एम्बुलेन्स छ, त्यसले एकै समयमा सबैलाई सेवा दिन सक्ने अवस्था नरहन सक्दछ । प्राथमिकताको आधारमा एम्बुलेन्स दौडिरहेको हुन्छ । कहिले विरामी लिएर कतै गएको हुन्छ, कहिले एकभन्दा बढी महिला सुत्केरी हुन सक्दछन् । यस्तो अवस्थामा काम लाग्ने भनेको अटो हो । ग्रामिण तहमा पनि अटोरिक्सा पर्याप्त चल्ने गर्दछन् । त्यसैले विकल्पस्वरुप अटो रिक्साको ब्यवस्था गरेका हौँ ।’ उनले थपे, ‘गाउँगाउँबाट अटोमाफत् बर्थिङ सेञ्टरमा आउने सुत्केरीहरुले ५ सय रुपैयाँ पाउँछन् ।’
कतिपय स्थानमा एम्बुलेन्स जान नसक्ने घरहरु भएको हुँदा उनीहरुको लागि अटो सेवा थप प्रभावकारी हुने नगर प्रमुख श्रेष्ठको भनाई छ । नगर प्रमुख श्रेष्ठले नगरमा थप एउटा एम्बुलेन्स आवश्यक रहेको भन्दै थप्न प्रयास भएको बताए ।
स्वास्थ्य क्षेत्रमा नगरले फड्को मारिरहेको भन्दै श्रेष्ठले अहिलेको लागि १,३,४ र ९ नम्बर वडामा बर्थिङ सेन्टर राखिएको बताउँदै ढुक्कसंग सेवा लिन सबैलाई आग्रह गरे । अब अरु वडामा पनि मापदण्ड पुगेपछि बर्थिङ सेन्टर पुर्याउने नगरप्रमुख श्रेष्ठको दावी छ ।
नगरपालिकामा प्रसुति सेवा सुरक्षित गर्ने र बर्थिङ सेन्टर विस्तार गर्ने विषय हचुवामा नभएको मेयर श्रेष्ठको भनाई छ । सरोकारवालाबाट हचुवाको भरमा प्रसुति सेवा विस्तार गरिएको हो कि भन्ने प्रश्नको जवाफ दिँदै श्रेष्ठले स्वास्थ्य क्षेत्रका सबै मापदण्ड पुरा गरेर मात्र आफूहरुले बर्थिङको लाइसेन्स पाएको बताए । बर्थिङ सेन्टर ल्याउने र सुरक्षित मातृत्व घोषणा आफूहरुले चाहेर नहुने भन्दै उनले मापदण्ड पुरा गरेका क्षेत्रलाई मात्र बर्थिङ सेन्टर बनाइएको जिकिर गरे ।
यसका साथै बुटवल र तौलिहवामा रहेका रेडक्रसका शाखासंग समन्वय गरेर रगतको अभाव हुन नदिएको मेयर श्रेष्ठले जानकारी गराए ।
रगत अभाव भएको खण्डमा नगरबासीको लागि लागि नगरले बनाइदिएको परिचय पत्र देखाएर बुटवल र तौलिहवाबाट निशुल्क रगत लिन पनि मेयर श्रेष्ठले सबैलाई आग्रह गरे ।
स्वास्थ्य क्षेत्रमा बभिन्न शिविरहरु निशुल्क संचालन गरिरहेको हुनाले जनताले धेरै लाभ लिएको श्रेष्ठको भनाई छ । कार्यक्रममा बोल्नेहरुले पनि नगरपालिकाका काम र गतिविधिबाट आफूहरु सन्तुष्ट रहेको सरोकारवालाले बताएका थिए ।
प्रतिक्रिया