जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २स्थित मनकामना सामुदायिक वनले गरेका कार्यको सरोकारवालाले प्रसंसा गरेका छन् । वनले आयोजना गरेको १७ औँ साधारण सभामा बोलेका सरोकारवालाले वनले वन संरक्षण र सामाजिक विकासमा गरेका कार्यहरु उत्कृष्ट रहेको भन्दै प्रसंसा गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, विशिष्ट अतिथि डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख(डिएफओ) अजित कर्ण, नगरप्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेल, सल्लाहाकार बालाराम ज्ञवाली, निवर्तमान अध्यक्ष अमित पौडेल, शिव मन्दिर सामुदायिक वनका अध्यक्ष झलक मल्ल ठकुरी, मायादेवी साझेदारी वनका अध्यक्ष दिनेश जैशवाल, बाणगंगा खानेपानीका अध्यक्ष विश्व कार्की, सल्लाहाकार लिलापति घिमिरे लगायतले वनले निकै राम्रो काम गरेको भन्दै प्रसंसा गरे ।
प्रमुख अतिथि विष्णु पन्थीले वनले अनुकरणीय काम गरेको बताउँदै यसको सिको अरु वनले पनि गर्नुपर्ने बताए । कपिलवस्तुका वनहरुले गरेका गतिविधि निकै राम्रो भएको सांसद पन्थीको दावी छ । आफूहरु वनका गतिविधिबाट प्रभावित भएको भन्दै सांसद पन्थीले अब वनले थप नयाँ नयाँ काम गर्न जरुरी रहेको बताए । वन, नगरपालिका र प्रदेश सरकार मिलेर पर्यटन प्रवद्धन गर्न कपिलवस्तुमा धेरै काम गर्न सकिने पन्थीको धारणा छ ।
डिएफओ कर्णले सामुदायिक वनको संरक्षण, संवद्धन र विकासमा कपिलवस्तुका वनहरुले उल्लेख्य कार्य गरेको बताउँदै त्यसमा पनि मनकामना सामुदायिक वन अग्रणी रहेको बताए । वनले बनाएको बार्षिक कार्यक्रम र प्रतिवेदनले पनि यस कुराको उजागर गरेको उनले बताए ।
वनको संरक्षणविना पृथ्वी नै संकटमा जाने हुँदा दाउरा, लिनेदिनेमा मात्र सिमिति नरही उपभोक्ताहरु वन संरक्षणमा लाग्नु पर्ने कर्ण बताउँछन् ।
वडाअध्यक्ष पौडेलले पनि वनका कार्यले वडाकै गरिमा बढाएको दावी गरे । अब वन र वडा मिलेर अरु थुप्रै सामाजिक विकास र मानवीय काम गर्नुपर्ने बताए ।
वनका अध्यक्ष मुक्त बहादुर कार्कीले सबैको सहयोग र साथबाट वनले प्रगति हासिल गरेको बताए । वनबारेका गतिविधि र कार्यहरु उपभोक्ताले बुझून् भनेर केहि दिन अघि नै प्रतिवेदन समेटिएका प्रतिवेदन उपभोक्ताको घरघरमा पुगेको बताए । आगामी दिनमा वनले थप इमान्दार भएर काम गर्ने बताउँदै अध्यक्ष कार्कीले आएका सुझाव अनुसार आगामी नीति र कार्यक्रम पारित गरिने बताए ।
साधारण सभाले सचिव लगायतका प्रतिबेदन एक ध्वनीले पारित गर्यो भने आगामी बर्षको नीति र कार्यक्रम पारित गरेको छ ।
कार्यक्रमका अवसरमा वन हेरालु लगायतलाई सम्मान गरिएको थियो । सचिव गंगा भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा उपभोक्ताहरुको बाक्लो सहभागिता थियो ।
प्रतिक्रिया