काठमाडौँ । पोखराबाट बिहीबार जहाजमा ल्याइएका रास्वपा सभापति रवि लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं प्रहरी परिसर लगिँदै ।
स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोप काठमाडौंमा बयान सकेपछि लामिछानेलाई पोखरा नै फर्काइने
पोखरा — सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बिहीबार साँझ काठमाडौं पुर्याइएको छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत सहकारीको रकम अपचलनका विषयमा बयान लिन उनलाई जहाजमार्फत काठमाडौं लगिएको हो ।
स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको सम्बन्धमा जाहेरी परेपछि काठमाडौं प्रहरी परिसरले लामिछानेविरुद्ध मंसिर २ मा पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ । उनीसँग जिल्ला सरकारी वकिल कार्यालयमा शुक्रबारदेखि बयान लिने तयारी छ ।
कास्कीमा जस्तै काठमाडौंमा पनि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई कास्की नै फिर्ता गरिनेछ ।
गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा गत कात्तिक २ मा पोखरामा पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले आइतबार पाँचौपल्ट म्याद थप्दै १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
प्रतिक्रिया