मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाइलट बनेका नेपालका दुई मुस्लिम युवती, अमेरिका र फिलिपिन्समा उडान भर्दै

पाइलट बनेका नेपालका दुई मुस्लिम युवती, अमेरिका र फिलिपिन्समा उडान भर्दै

अपि टाइम्स

काठमाण्डौँ । नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलट प्रशिक्षणका लागि ‘नो अब्जेक्सन लेटर’ लिने साइमा खान नेपालको पहिलो र आलिया परबिन दोस्रो मुस्लिम युवती हुन् । ललितपुरकी आलिया फिलिपिन्समा विमान उडाउने सीप सिकेर भर्खरै नेपाल फर्केकी छन् भने रूपन्देहीकी साइमा अमेरिकामा प्रशिक्षण लिइरहेकी छन् ।
भैरहवा — ललितपुर महानगरपालिका–२ सानेपाकी २० वर्षीया आलिया परबिन फिलिपिन्समा विमान उडाउने सीप सिकेर भर्खरै नेपाल फर्केकी छन् । रूपन्देही सिद्धार्थनगर नगरपालिका–९ गोलीगढकी २३ वर्षीया साइमा खान भने यतिबेला अमेरिकामा विमान उडाउने प्रशिक्षण लिइरहेकी छन् । यी दुवै युवती मुस्लिम समुदायका हुन् ।

मुस्लिम समुदायबाट विमान चालकको मान्यता प्राप्त गरेर जहाज उडाउन दुवै युवती कस्सिएर लागेका छन् ।

‘अवसर पाए सामान्य परिवारका नेपाली मुस्लिम युवतीले पनि साहसिक कार्य गर्न सक्छन् भन्ने सन्देश समुदायलाई दिन पाइलट बन्ने अठोट गरेकी हुँ,’ साइमाले भनिन्, ‘सामाजिक प्रचलनकै कारण महिला दबिएर बस्नु हुँदैन भन्ने मान्यता स्थापित गरी मुस्लिम समुदायको संस्कारमा पनि परिवर्तन ल्याउने सोच मेरो छ ।’

नेपाली ग्रामीण समाजमा महिलालाई पढ्ने, लेख्नेदेखि अगाडि बढ्न अझै पनि धेरै चुनौती रहेको उनको बुझाइ छ । ‘लैंगिक भेदभाव उत्तिकै छ । कतिपय परिवारमा छोरीलाई विभेद छँदै छ । नेपाली मुस्लिम समाजमा पनि छोरीका निम्ति त्यस किसिमका चुनौती उत्तिकै छन्,’ उनले भनिन्, ‘त्यसलाई तोड्न पनि पाइलटको तालिम लिन थालेकी हुँ ।’

८र९ वर्षको हुँदा पहिलो पटक साइमालाई जहाज अवतरण र आकाशमा उडेको दृश्यले निकै रोमाञ्चित बनायो । ‘पहिलो पटक विमान हेर्न हजुरबुवाको हात समाउँदै भैरहवा विमानस्थलमा पुगेकी थिएँ,’ उनले भनिन्, ‘विमान अवतरण र उडान गरेको देखेपछि म पनि यसरी नै विमान उडाउने सोच्थें ।’

बाल मस्तिष्कमा जमेर बसेको त्यो दृश्य नै उनका लागि भविष्यका लागि प्रेरणा बन्यो । यतिबेला उनले अमेरिकाको टेक्सास राज्यस्थित फोर्टवार्ट सहरको डेल्टा क्वालिफ्लाइट एभियसन एकेडेमीमा पूर्ण पाइलटको प्रशिक्षणलाई अन्तिम चरणमा पुर्‍याएकी छन् ।

साइमाले सन् २०२१ नोभेम्बरदेखि प्रशिक्षण सुरु गरेकी हुन् । उनका अनुसार सिंगल इन्जिन विमानको पाइलट लाइसेन्स एक वर्षअघि नै प्राप्त गरिसकेकी छन् । यतिबेला उनले मल्टिइन्जिनको विमान उडाउन सिकिरहेकी छन् ।

‘यो सिकाइ अन्तिम चरणमा पुगेको छ । आउँदो मार्चरअप्रिलमा कोर्स पूरा गरी पूर्ण पाइलटको लाइसेन्स लिएर नेपाल फर्किन्छु,’ उनले भनिन्, ‘विदेशबाट प्राप्त गरेको पाइलटको लाइसेन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समकक्षता लाइसेन्स लिई नेपालमै व्यावसायिक रूपमा विमान उडाउने योजना छ ।’

उड्डयन प्राधिकरणका अनुसार साइमाले पाइलट प्रशिक्षणका लागि सन् २०२१ सेप्टेम्बर २७ मा ‘नो अब्जेक्सन लेटर’ लिएकी थिइन् । ‘पाइलट प्रशिक्षणका लागि प्राधिकरणबाट नो अब्जेक्सन लेटर लिने उनी नेपालको पहिलो मुस्लिम युवती हुन्,’ प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले भने, ‘आलिया परबिन दोस्रो मुस्लिम युवती हुन् ।’ नेपालमा अहिलेसम्म मुस्लिम समुदायका महिला पाइलट बनेर प्राधिकरणमा सूचीकृत कोही पनि नरहेको पाण्डेले बताए ।

सन् २०२३ जनवरी १७ मा फिलिपिन्सको फास्ट एभियसन एकेडेमीबाट पाइलट प्रशिक्षणका लागि प्राधिकरणबाट ‘नो अब्जेक्सन लेटर’ लिएपछि आलिया विमान उडाउने सीप सिक्न पुगेकी हुन् । करिब डेढ वर्षको प्रशिक्षणपछि आलिया मल्टिइन्जिन विमानको लाइसेन्स लिएर हाल नेपाल फर्केकी छन् । उनी अब उड्डयन प्राधिकरणको समकक्षता परीक्षा दिएर पाइलटको लाइसेन्स लिने तयारीमा छिन् ।

‘मुस्लिम समुदायबाट नेपालमा महिला पाइलट नभएकाले नयाँ पहिचानसहित आफूलाई स्थापित गर्न यो पेसा अपनाउने निधो गरेकी हुँ,’ उनले भनिन्, ‘क्यानबाट पाइलटको लाइसेन्स पाएका मुस्लिम महिलाको रेकर्ड अहिलेसम्म रहेनछ ।’

पाइलट पेसामा सम्बद्ध नजिकका नातेदार दाजुको प्रेरणा र साहसिक पेसा अपनाउने निर्णयले आफू पाइलट बनेको उनी बताउँछिन् । काठमाडौंमै पढेकी र घरका अन्य दिदीहरू पनि विदेश अध्ययन तथा भ्रमणमा जाने–आउने भइरहेकाले विदेशमा गएर पाइलट प्रशिक्षण लिन आफूले कुनै असहज परिस्थितिको सामना गर्नु नपरेको उनले सुनाइन् ।

छोरीको इच्छा पूरा गर्न धेरै सामाजिक र आर्थिक अभावको सामना गर्नुपरेको साइमाका बुवा अनबर खानले बताए । उनका अनुसार विज्ञान विषय लिएर प्लस टुमा राम्रो नतिजा ल्याएकी साइमालाई मेडिकल साइन्स, इन्जिनियरिङ पढ्न निकै कर गरे पनि पाइलटबाहेक अन्य नबन्ने बरु पढाइ त्यागेर घरायसी काम गरेर बस्ने भन्थिन् ।

पाइलटको प्रशिक्षणका लागि छोरीकै चाहनाअनुरूप अमेरिका पठाउने वातावरण बनाएको उनले बताए । छोरीलाई विमान चालक बनाउने प्रक्रियामा आफ्नो एक करोडभन्दा बढी रकम खर्च भइसकेको पनि उनले बताए ।

‘छोरी मान्छेलाई सकेसम्म घरबाट एक्लै टाढा राखेर नपढाउने हाम्रो सामाजिक चलनमा परिवर्तन गर्न पनि धेरै आफन्तको सुझाव नमानेर म अगाडि बढेको हुँ,’ अनबरले भने, ‘यसका लागि मध्यमस्तरको हाम्रो परिवारले आर्थिक लगायत धेरै चुनौतीको सामना गर्नुपर्‍यो । घर–खेत बैंकमा धितो राखेर भए पनि छोरीको इच्छा पूरा गरें ।’कान्तिुपुरबाट