जितपुर । मंसिर १९ गतेदेखि पौष २ गतेसम्म बुद्ध रंगशाला चारनम्बर जितपुरमा हुन लागेको १५ औँ कपिलवस्त महोत्सव एवम् कृषि, उद्योग तथा पर्यटन प्रदर्शनीलाई विशेष बनाउन लागि परेको आयोजक कपिलवस्त उद्योग बाणिज्य संघले प्रवेशद्धारबाटै दर्शकलाई लोभ्याउने भएको छ ।
त्यसको लागि मूल प्रवेशद्धारलाई विशेष बनाउन थालिएको छ । संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक गणेश बहादुर क्षेत्रीले मूल गेट पशुपतिनाथको मन्दिर आकारमा हुने अपिटाइम्सलाई जानकारी दिए ।
यसको लागि विशेष तयारी भएको उनको भनाई छ । संयोजक क्षेत्रीले भनेजस्तै अहिले बुद्ध रंगशालाको अघि रहेको पर्खाल नै भत्काइएको छ । पहिल प्रवेशद्धार साँघुरो भएकोले भीँडभाडमा समस्या भएको भन्दै उक्त पर्खाल भत्काएरै प्रवेशद्धार ठुलो बनाउने काम भइरहेको संयोजक क्षेत्री बताउँछन् । त्यसपछि शनिबारदेखि नै बंगाली कालिगढले पशुपति आकारको गेट निर्माण सुरु गरेका उनले बताए ।
यसअघिको एक महोत्सवमा पनि पशुपति मन्दिर आकार बनेकोमा यसपटक त्यो भन्दा पनि सुन्दर ढंगको पशुपति मन्दिरको आकार गेटमा देख्न सकिने संघका वरिष्ठ उपाध्यक्ष तथा निर्देशक हुमानाथ पौडेलले बताए ।
उनका अनुसार प्रवेद्धारबाट नै दर्शकले सकारात्मक अनुभूति पाउने छन् । प्रवेशद्धारको भित्रपट्टीका स्टल पनि आकर्षक ढंगले सजाइने भएको हुँदा गतबर्षका महोत्सव भन्दा बेग्लै देखिने निर्देशक पौडेको दावी छ । प्रवेशद्धारदेखि मंचसम्म यसपटक बेग्लै अनुभुति गर्न सकिने गरी तयारी भइरहेको छ ।
अहिलेसम्म ७० प्रतिशत तयारी पुरा भएको आयोजकको भनाई छ । यसपटक महोत्सवमा बालुवामा साइक्लिङ, प्रदेशस्तरीय महिला कबड्डी, स्कुलस्तरीय भलिबल लगायतका खेलकुद हुने भएपछि रौनकता थपिएको छ ।
प्रतिक्रिया