मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीमा वडाध्यक्षको मतगणना सुरु, भोलि मात्रै उपाध्यक्षको गणना

लुम्बिनीमा वडाध्यक्षको मतगणना सुरु, भोलि मात्रै उपाध्यक्षको गणना

अपि टाइम्स

बुटवल । लुम्बिनी प्रदेशका ५ स्थानीय तहको आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु भएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षबाहेक वडाध्यक्षहरूको मतगणना आइतबार रातिबाटै सुरु भएको हो ।

लुम्बिनीमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष र वडाध्यक्ष, गुल्मीको मुसिकोट नगरपालिका, बर्दियाको ठाकुरबाबा गाउँपालिका, रोल्पाको रुन्टीगढी गाउँपालिका र कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा वडाध्यक्षका लागि निर्वाचन भएको हो । सम्बन्धित स्थानीय तहका मतदान अधिकृतहरूका अनुसार सबै स्थानीय तहमा निर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षको बाहेक अन्य सबै वडामा आइतबार रातीदेखि नै मतगणना सुरु गरिएको छ । पुथामा सोमबार बेलुका सर्वदलीय बैठक बसेर वडाध्यक्षको मतगणना सुरु गरिएको हो । पुथामा उपाध्यक्षका लागि १४ वडाका मतपेटिका गणनास्थलसम्म ल्याउन समय लाग्ने भएकाले सोमबार बिहानबाट मात्र मतगणना गर्ने गरी तयारी गरिएको निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीले बताए । पुथामा ११ हजार १ सय ८० मतदातामध्ये ५ हजार ९ सय ३३ जना मात्रै मतदानमा सहभागी भएको सुवेदीले बताए ।

कपिलवस्तुको शुद्धोधन–१ मा ६९ दशमलव ४१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी अमरबहादुर वलीका अनुसार ३ हजार ३ सय ७९ मत खसेको छ । उनले तीनवटै मतदान स्थलमा गरी ६९।४१ प्रतिशत मत खसेको बताए । वलीले आइतबार राती ८ बजेदेखि नै मतगणना सुरु भएको बताए । रुकुम पूर्वको पुथा उत्तरगंगाको वडा नं। २ को वडाध्यक्षमा भने यसअघि नै माओवादीका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

शुद्धोधन गाउँपालिका–१ मा निर्वाचनका लागि ४ हजार ८ सय ६८ मतदाता रहेका थिए । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रिक्त पदका लागि निर्वाचन भएको थियो । वडाध्यक्ष पदमा चार स्वतन्त्रसहित १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँको पनि मतगणना सुरु भएको छ ।

त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्षका लागि भएको निर्वाचनमा ६३ दशमलव ७९ प्रतिशत मत खसेको छ । बर्दियामा पनि आइतबार रातीबाटै मतगणना सुरु भएको छ । ठाकुरबाबा नगरपालिका–४ मा ३ हजार ५ सय १० मतदातामध्ये २ हजार २ सय ३९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताए । त्यहाँ वडाध्यक्ष पदका लागि ६ जना उम्मेदवार छन् । वडाध्यक्ष सूर्यबहादुर विष्ट जिल्ला समन्वय समितिका प्रमुख भएपछि हाल उपनिर्वाचन भएको हो ।

त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षका लागि भएको निर्वाचनमा ५७ दशमलव १ प्रतिशत मत खसेको छ । वडाका ४ हजार ५१ मतदातामध्ये २ हजार ३ सय ३४ जनाले मतदान गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । गौतमका अनुसार मुसिकोट नगरपालिकामा पनि आइबार रातीदेखि नै मतगणना सुरु भएको छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडाध्यक्षका लागि भएको निर्वाचनमा झण्डै ६० प्रतिशत मत खसेको छ । १ हजार ९ सय मतदाता रहेको वडामा १ हजार २ सय ९७ जनाले मतदान गरेका छन् । रुन्टीगढीको मतगणना सुरु भइसकेको छ । तीन घण्टाभित्र नै नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको प्रमुख जिल्ला अधिकारी खिमबहादुर अधिकारीले बताए ।