चन्द्रकान्त न्यौपाने, जितपुर । कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको १५ औँ कपिलवस्तु महोत्सवमा शुक्रबार तेश्रो दिनमा मुख्य कलाकारको रुपमा गायिका समिक्षा अधिकारीले प्रस्तुति राखेकी छन् ।
बुद्ध रंगशालामा महोत्सव अवलोकन गर्न गएका करिब ४ हजार दर्शककाबीचमा समिक्षाले आधादर्जन चर्चित र हिट गित गाएकी थिइन् । सो क्रममा समिक्षाले गीत गाउँदै सन्देशमूलक कुराहरु पनि भनिन् ।
कुनै समय निकै कठिन घडीमा पिरोलिएर उकासिएकी समिक्षाले १५ औँ कपिलवस्तु महोत्सवमा पनि विगतको घाउ सम्झँदै अदम्य साहस र आत्मविश्वासमा रहन दर्शकलाई आग्रह गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘दुईचार जना कुरा काट्ने भएर केहि हुँदैन । मान्छेले हिम्मत हार्नु हुँदैन । दुईचार जना झारपात जता पनि हुन्छन् । मतलब गर्नु हुँदैन ।”
उनले थपेकी थिइन्, ‘दुईचार जना विरोधी भएर मलाई केहि पनि हुँदैन ।’रुघाखोकी र चिसोले ग्रसित भएर आफ्नो गला अवरुद्ध भएको जानकारी दिँदै समिक्षाले धेरै गीतहरु गाउन नसक्ने बताएकी थिइन् ।
उनले हरेक गीतहरुको बीचबीचमा ससाना चुनौति र समस्याबाट नभागी डटेर लडिरहे जित्न सकिने आसय दिइरहेकी थिइन् ।
उनका यी भनाईमा दर्शकले पनि तालिले समर्थन गरेका थिए ।
उनको यो भनाईबाट समिक्षाले बीचमा पाएको दुख र पीडालाई अझै भुल्न सकेकी छैनन् भन्ने प्रमाणित हुन्छ । उनले हरेक मेला र महोत्सवमा युवा र दर्शकलाई जस्तोसुकै परिस्थितिमा पनि हिम्मत नहार्न र हरेश नखान यस्तो खाले सन्देश दिइरहेकी हुन्छिन् । समिक्षाले कपिलवस्तु महोत्सवबाट यो सन्देश दिँदा विद्यार्थीहरु उत्साहित भएका देखिन्थे ।
महोत्सवमा सहभागि भई समिक्षासंग सेल्फी खिच्न मञ्चमा चढ्दै गरेकी एकजना विद्यार्थीले भनिन्, ‘समिक्षा दिदी मेरो आइडल हुनुहुन्छ । उहाँ त्यस्तो स्थितिबाट फेरि साधारण स्थितिमा आउनु भयो । मैले उहाँलाई साहसी लेडी भन्न चाहान्छु । उहाँबाट म अति नै प्रभावित छु । मजस्ता सबै विद्यार्थीले समिक्षा दिदीबाटबाट जस्तोसुकै परिस्थितिमा पनि हिम्मत हार्न नहुने सन्देश र प्रेरणा लिनुपर्दछ ।’ आफ्नो स्वास्थ्यका कारण धेरै गीतहरु प्रस्तुत गर्न नसकेको उनले अपिटाइम्ससंग बताएकी थिइन् ।
समिक्षालाई संयोजक क्षेत्री, निर्देशक हुमानाथ पौडेल, महासचिव नवदत्त घिमिरे, सांस्कृतिक तथा मनोरञ्जन ब्यवस्थापन संयोजक रामजी सेन, भान्छा संयोजक नारायण पौडेल, पास संयोजक कृष्ण गैरे, स्टेज तथा गेट संयोजक इन्द्र (यमलाल) पोख्रेल, लाइट र साउण्ड संयोजक विकास न्यौपाने लगायतले मायाको चिनो प्रदान गरी विदाई गरेका थिए ।

महोत्सवको चौथो दिन भोलि शान्ता रानी परियार, देउडा गायक टंक तिमिल्सिना लगायतका कलाकारको प्रस्तुति रहने छ । शान्ता रानीको म त ढलेँ, ढलेँ गीत अहिले सर्वाधिक रुचाइएको छ ।
मंसिर १९ गतेबाट सुरु भएको महोत्सव पौष २ गतेसम्म संचालन हुने आयोजकले जनाएका छन् । दोश्रो र तेश्रो दिनमा दर्शकको सहभागिताले उत्साह थपेको संघका अध्यक्ष तथा महोत्सवका संयोजक गणेश बहादुर क्षेत्रीले जानकारी दिए ।
प्रतिक्रिया