चन्द्रकान्त न्यौपाने, जितपुर । यसपटकको १५ औँ कपिलवस्तु महोत्सव विभिन्न कारणले राम्रो बनेको छ । यसमध्ये दर्शकको मुख्य आकर्षण बनेको छ, महोत्सवको मूलगेट अर्थात् मूल प्रवेशद्धार ।
पशुपतिनाथ मन्दिरको झल्को दिने गरी बंगाली कालीगढले बनाएको मूल प्रवेशद्धार आयोजकले सोँचेभन्दा पनि बढी राम्रो बनेको छ । महोत्सव स्थल बुद्ध रंगशालामा पुग्दा नै टिकट काट्न छाडेरै दर्शकहरु मुलगेटमै फोटो खिच्नमा ब्यस्त भएका देखिन्छन् ।
शुक्रबार तेश्रो दिनमा पनि राति अबेरसम्मै दर्शकले मूलगेटलाई पृष्ठभूमिमा राख्दै फोटो र सेल्फी फोटो खिचिरहेका थिए । दर्शकले पनि मूल गेट निकै आकर्षक बनेको प्रतिक्रिया दिइरहेका छन् ।
मन्दिरको शिरमा पहेँलो गजुर छ भने त्यसको तल शिवजीको आकर्षक चित्र देखिन्छ । गेटको भित्तो र छानो भने रातो रंगमा रहेको छ । छेछाउमा पहेँलो रंग छ ।
मूल गेट कस्तो बनाउने भन्ने सन्दर्भमा लामो छलफल भएपछि बनेको गेट अपेक्षा गरेभन्दा बढी राम्रो भएपछि आयोजक नै छक्क परेको गेट तथा स्टेज ब्यवस्थापन संयोजक इन्द्र पोख्रेलले अपिटाइम्सलाई जानकारी दिए ।
उनले भने, ‘हामीले पनि यति राम्रो गेट बन्ला भन्ने अपेक्षा गरेका थिएनौँ । थोरै खर्चमा आकर्षक गेट बनेको छ । सुरुदेखि धेरै दर्शकले गेट रुचाएका छन् ।’
३४ मिटर लम्बाई र ८ मिटर चौडाई रहेको मूल गेटलाई ५ दिन लगाएर बंगाली कालिगढ मंजुर आलमको टोलीले बनाएको हो । गेट बनाउने ठाउँ प्रशस्त भएकाले आफूहरुले सोचेभन्दा पनि राम्रो बनेको आलम बताउँछन् ।
महोत्सव आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा मूल समारोह संयोजक गणेश बहादुर क्षेत्रीले पनि कम खर्चमा राम्रो गेट बनेको बताए ।
विगतमा गेट बन्दा ८ लाखसम्म पनि खर्च भएको थियो क्षेत्री भन्छन् ‘यसपटक हामीले त्यो भन्दा निकै कम खर्चमा पशुपतिनाथ मन्दिरको आकारमा मूल गेट बनाएका छौँ ।’ गेटको छेउछाउमा सेतो बत्ती राखिएको हुनाले साँझमा गेट झनै सुन्दर देखिन्छ ।
महोत्सव अवलोकन गर्न उद्घाटन सत्रमा पुगेका प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेदेखिअरु अतिथिले पनि गेट र महोत्सवको ब्यवस्थापनको प्रसंसा गरेका थिए ।
प्रतिक्रिया