चन्द्रकान्त न्यौपाने, जितपुर । १५ औँ कपिलवस्तु महोत्सव लाग्ने सन्दर्भमा यसअघिका कार्य र कमजोरीका आधारमा केहि सुध्रनुपर्ने भनेर मिडियामा समाचार आए । मिडियाको समाचारपछि आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघमा चर्को छलफल भयो ।
मिडियाको खबरदारीपछि सतर्क र सुधार
खासगरी स्टलमा स्थानीय उद्योगीले पाउन नसकेको छुट, डान्स आइडलमा पैसा बगाउने खेल, कलाकार भित्राउँदा हुने बदमासी र महोत्सवलाई महोत्सव र प्रदर्शनीलाई प्रदर्शनी बनाउने विषयमा समाचारले आयोजकको ध्यानाकर्षण गरेको थियो भने महोत्सव सम्पन्न गर्नासाथ आयब्यय सार्वजनिक गर्ने विषयमा पनि समाचारले आयोजकको ध्यान आकर्षण गरेको थियो । किनकि यसअघिका महोत्सवमा कति आय र ब्यय भयो कसैलाई थाहा छैन । यस्तै महोत्सवमा दर्शकको आकर्षण पनि घट्दै गएका कारण विशेष बनाउन संचार माध्यमले आयोजकलाई आह्वान गरेका थिए ।
समाचार प्रभाव
त्यो समाचारको प्रभावपछि स्थानीय ब्यवसायीले स्टलमा ३५ प्रतिशतसम्म छुट पाए, डान्स आइडललाई पारदर्शी बनाउनको लागि एक ब्यक्तिले १० वटा भन्दा बढी टिकट खरिद गर्न नपाउने नियम बनाइयो, शनिबार जम्मा गरेको टिकट हरेक दिनको लागि प्रयोग गर्ने परिपाटी पनि बन्द भयो ।
डान्स आइडलकै लागि हरेक दिन फरक फरक रंगका टिकट बनाउने नियम बन्यो ।समाचारका कारण संघका अध्यक्षले निकै मिहिनेत गरे । ब्यवस्थापन चुस्तदुरुस्त पनि बन्यो । स्थानीय उत्पादनको बजारीकरणको लागि कतिपय स्टल निशुल्क पनि भए ।महोत्सवका सुरुका स्टललाई प्रदर्शनी स्टल पनि बनाइयो । उद्घाटन सत्र पनि भव्य बन्यो । यसअघि हुने गरेका महोत्सवबारेका कमीकमजोरी मिडियाबाट थाहा पाएपछि राम्रो बनाउन संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले राम्रोसंग अहोरात्र मिहिनेत गरेका छन् ।
असफल हुने हो कि भन्ने डर
तर छैठौँदिनसम्मको महोत्सवको दर्शक संख्या र कारोबार मुल्यांकन गर्दा १५ औँ संस्करणको महोत्सव असफल हुने हो कि भन्ने त्रास बढेको छ ।
पहिले समाचारले पूर्वानुमान गरेजस्तै दर्शकमा आकर्षण घटेको देखिन्छ भने दर्शक र कारोबारको स्थिति पनि अपेक्षाकृत देखिन्न । महोत्सव स्टल सजाउने, स्टेजको उच्च डेकोरेसन ठुलो एलइडी, नयाँ प्रविधिका साउण्ड र लाइट राख्न अध्यक्षले खुबै मिहिनेत गरेका छन् तर केहि ब्यक्तिका कारण अध्यक्ष लगायतको त्यो मिहिनेत कतै बालुवामा पानी हुने त होइन भन्ने चिन्ता थपिन लागेको देखिन्छ ।
मंसिर १९ गतेदेखि पौष २ गतेसम्म संचालन हुने महोत्सवको छैठौँ दिन सकिदासम्म कतै महोत्सव असफल हुने त होइन भनेर अहिले आयोजक नै तनावमा छन् । त्यसपछाडी बिभिन्न कारण छन् ।
सुरुको एक हप्ता (६ दिन) ले निरासा थपेको छ । छैठौँ दिन प्रकाश दुतराज आउँदाको दिन र शनिबारबाहेकलाई हिसाब गर्ने हो भने आयोजकको २ लाख दर्शक भित्राउने र १० करोड बराबरको कारोबार हुने सपना केवल सपनामै सिमित हुने त होइन भन्ने डरमा अहिले आयोजक देखिन्छन् ।
पहिलो दिन उद्घाटन नै भइहाल्यो । दोश्रो पनि शुन्यप्राय । महोत्सवको तेश्रो दिन समिक्षा अधिकारी आएकी थिइन् । तर उनी आउँदा पनि खासै दर्शक थिएनन् । ३५ सयको हाराहारीमा टिकट काटिएका थिए । चौथो दिन शनिबार शान्तारानी परियार मुख्य कलाकार थिइन् । उक्त दिन ८ हजार बढी टिकट कटेका थिए । पाँचौँ दिन महानायक राजेश हमाल र अर्जुन सापकोटा मुख्य आकर्षण थिए तर दर्शक तान्न सकेनन् । राजेश हमाल महोत्सवको लागि आएका थिएनन् आफ्नो नियमित स्याडुल अन्तर्गत कपडा बैंकको उद्घाटन गर्न बाणगंगा नगरपालिकाको निमन्त्रणामा भित्रिएका थिए ।
अर्जुन सापकोटा अहिलेका चर्चित गायक भए पनि पाँचौ दिन जम्मा ४ हजार टिकट विक्री भएका आयोजक बताउँछ । जुन आयोजकको अपेक्षाभन्दा निकै कम हो । गतबर्षभन्दा यो बर्ष हरेक दिन दर्शक संख्या कम देखिन्छ । यसरी हेर्दा अहिलेसम्म जम्मा २० हजार टिकट कटेका छन् महोत्सवमा आगामी कदम नसच्चिए २ लाख दर्शकले महोत्सव हेर्ने र १० करोडको कारोबार गर्ने आयोजकको लक्ष्यको निकै तल रहेर महोत्सव सकिने छ ।
दिनहुँ वैठक हुँदैन
महोत्सवको छैठौँदिनसम्म खासै मिटिङ हुन नसकेको बिभिन्न समितिमा संयोजकमा काम गरिरहेकाहरु बताउँछन् । दैनिक मिटिङ हुने, कमजोरी पहिल्याउने काम नभएर पनि लापरबाही बढेको उनीहरु बताउँछन् । महोत्सवका पास वितरण संयोजक कृष्ण गैरेले दिनुँ मिटिङ भएर रिपोर्टिङ भए कमीकमजोरी हट्दै जाने र महोत्सव सफल हुने बताउँछन् ।
समिक्षा वैठकमै चर्काचर्कीः महोत्सव असफल हुन थालेपछि ५ औँ दिन रातिको समिक्षा वैठकमा चर्काचर्की भएको छ । केहि उपसमिति संयोजकले त बीचैमा महोत्सव छोडेर जाने धम्की पनि दिएका थिए । चर्काचर्कीको मुख्य कारण कलाकार संयोजन र सांस्कृतिक कार्यक्रम संचालन थियो भने यससंग अरु विषय पनि जोडिएका थिए । राति ११ बजेसम्म छलफल भएपछि अध्यक्षले अब भएका कमजोरी सुधार गर्ने भनेपछि वैठक सकिएको थियो । त्यसपछि छैठौँ दिनमा पनि उहि पारा दोहोरिएपछि आयोजक उपसमितिका संयोजकहरु फेरि क्रुद्ध भएका छन् ।
बेठिक कलाकार संयोजन
मेला र महोत्सवमा जसले जेजे नाम दिए पनि दर्शक आउने भनेको कलाकारको प्रस्तुति हेर्न नै हो । तर १५ औँ कपिलवस्तु महोत्सवमा कलाकार संयोजन मिलेको देखिन्न । महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक रामजि सेन छन् । तर उनले कलाकार संयोजन दर्शकको रुची अनुसार गर्न सकेको देखिन्न ।
ब्यक्तित्वका हिसावले उनी खराब पात्र होइनन् तर यस विषयको ज्ञान उनमा पटक्कै छैन भन्दा फरक नपर्ला । यसअघि कलाकारमा भित्राउँदा घुसपैठ हुने गरेको समाचार आएपछि रामजिको ब्यक्तित्वकै कारण सांस्कृतिक कार्यक्रम संयोजक बनाइए पनि पहिलो एक साताले सेन कलाकार संयोजनमा भने चुकेका छन् । कलाकारको ज्ञान नभएका कारण अरुको भर पर्दा उनी असफल हुने दिशामा छन् ।
उनले कपिलवस्तु महोत्सवमा आइरहेका र यतातिर डेट एक्स्पायर भएका कलाकारहरु नै भित्राएका छन् । अहिलेसम्म अर्जुन सापकोटा, शान्तारानी परियार, टंक तिमिल्सिना, समिक्षा अधिकारी, प्रकाश दुतराजलाई मंच टेकाए । प्रकाशबाहेक कसैले पनि दर्शक तान्न सकेनन् । प्रकाश आउँदा अहिले गत बर्षभन्दा कम दर्शक आए । प्रकाश आउने दिनमा पनि सबै लोक प्यार्टनका कलाकार भएको र वृद्धवृद्धा र युवायुवतीलाई समेट्ने कुनै कलाकार छैठौँदिनसम्म महोत्सव स्थलमा टेकिएका छैनन् । सेनको यहि कलाकार संयोजन पटक्कै नमिलेको आयोजककै सदस्य बताउँछन् ।
कलाकार संयोजनमा अहिलेका पुस्तालाई समेट्न नसकेको भन्दै अहिले छलफल हुन थालेको छ । छैठौँ दिनसम्म युवा पुस्ताका पप प्याटनका कुनै पनि कलाकार मंच चढ्न सकेनन् । भोलिका दिनमा कलाकार संयोजन राम्रो नभए उनैहरुका कारण महोत्सव असफल हुने हो कि भन्ने डर भइरहेको छ अर्का एक जना ब्यवसायीले अपिटाइम्ससंग भनेका छन् ।
उनले थपे, ‘रामजी मान्छे ठिक भए पनि परिचालित गर्ने अरु भए । डाइरेक्ट उनको कलाकारसंग सम्पर्क हुन पाएन । पुरानै सम्पर्क भएकाले आफ्नो फेवरका मान्छे ल्याएका छन् । नयाँ र खास स्वाद कलाकारबाट दर्शकले पाउन सकेनन् ।
कपिलवस्तु उद्योग बाणिज्य संघबाटै यसअघि महोत्सव लगाएर जिम्मेवार संयोजकमा काम गरेका एक जना ब्यवसायीले थपे ‘यसपटक महोत्सव जति राम्रो हुनुपर्दथ्यो त्यति राम्रो भएन ।’
यताउता अध्यक्षले मिहिनेत गर्न खोजेका छन् तर केहि ब्यक्तिका कारण यस्तो भइरहेछ । सेनले अब रणनीति नबदले महोत्सव असफल हुने भन्दै ब्यवसायीहरु चिन्तित छन् । अब हरेक दिन पप प्यार्टनका कलाकार र नयाँनयाँ कलाकार बोलाउनु पर्ने मेलाका अनुभवीहरु बताउँछन् ।
स्टेजमा सिण्डिकेट
महोत्सव स्थलमा जाँदा अहिले एउटै ब्यक्तिको आवाज सुनेर दर्शक दिक्क भएका छन् । ती हुन् संघका प्रेस सल्लाहाकार अशोक पौडेल । विहानैदेखि साँझसम्म एकैजनाको आवाज मात्र सुन्दा दिक्क नै लागेको आयोजक संस्थाको उपसमितिमै काम गरिरहेका एक जना संयोजकले अपिटाइम्सलाई बताए ।
उनी भन्छन् ‘यहाँ सांस्कृतिक कार्यक्रम चलाउने मान्छे पटक्कै भएन । क्षमतावान स्थानीय कार्यक्रम संचालक छन् । बाहिरबाट ल्याएर भए पनि कार्यक्रम रोचक बनाउनु पर्दछ । उनले थपे आइडलसम्म अशोक ठिक छ तर सांस्कृतिक कार्यक्रम संचालन पटक्कै भएन । महोत्सवको छैठौँदिनसम्म सांस्कृतिक कार्यक्रम र आइडल पनि उसैले चलाउनु पनि दर्शकको लागि राम्रो भएन ।’
उनले भनेजस्तै १५ औँ कपिलवस्तु मंचमा सिण्डिकेट हावी छ । त्यो सिण्डिकेट लगाउने काम अध्यक्ष क्षेत्रीको नभएर सांस्कृतिक कार्यक्रम संयोजक रामजि सेन, निवर्तमान अध्यक्ष, त्यसअघिका अध्यक्ष लगायत रहेका समाचार श्रोत बताउँछ । स्थानीय उद्घोषकलाई प्राथमिकता दिन अध्यक्ष, पदाधिकारीको जोड भए पनि निवर्तमान र केहि पूर्व अध्यक्षले पनि स्थानीय उद्घोषकलाई मञ्चमा प्रवेश गर्न दिन नहुने बताउँदै आएका समाचार श्रोत बताउँछ ।
पूर्णचन्द्र परियार, राजेन्द्र खनाल, हरि आचार्य, विकास थापा, सागर विक,अनिता क्षेत्री, चेतन विष्ट बाणगंगाका मिडियामा काम गर्ने स्थानीय उद्घोषक हुन् । उनैहरुले महोत्सवका समाचार पनि लेखेका छन् तर उनैहरुलाई सांस्कृतिक कार्यक्रम संचालक अशोक पौडेल, सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेन र पूर्वअध्यक्षहरुले रोकेका छन् । उनै सेनले उद्घोषकमा मिडिया संयोजक अशोक पौडेलबाहेक कसैलाई पनि मञ्चमा टेक्न दिएका छैनन् । अर्कोतर्फ पौडेलले पनि स्थानीय उद्घोषकलाई मंचमा चढाउन नहुने बताउँदै आएका बताइन्छ ।
आफूहरुको मानसम्मान नभएर उपेक्षा गरेपछि केहि पत्रकारबाहेक धेरैले महोत्सवको मंच टेकेका छैनन् । गतबर्ष महोत्सवको प्रेस संयोजक रहेका कृष्ण पौडेलले उद्घाटनपछि आफू मंचमा नगएको र बसेर समाचार लेखेको बताउँछन् ।
स्टलमा किनमेलबाहेक केहि भएन
महोत्सवका स्टललाई नयाँ टेन्ट लगाएर राम्रो बनाइएको छ । महोत्सवको फ्रन्टलाइनमा पर्यटन प्रवद्धनका स्टल छन् । सचिवालय पनि राम्रो बनाइएको छ । तर बाँकी स्टलमा भने खासै नयाँपन छैन । अरु स्टललाई उन्नतखालको हाटबजार बनाउने कामबाहेक खासै केहि भएको छैन ।
मंचमा जाने र गमक्क परेर बस्ने अनि फोटो खिच्ने होडबाजी
मंचमा जाने र गमक्क परेर बस्ने अनि फोटो खिच्ने होडबाजी अहिलेको रोग मात्र नभएर पुरानै रोग हो । केहि मान्छे त मंचमा जाने कलाकारसंग फोटो खिच्ने र गमक्क परेर बस्नैका लागि बिभिन्न समितिका संयोजक बनेका हुन्छन् । १५ औँ महोत्सवमा पनि त्यहि दोहोरिएको छ ।
महोत्सवको लागि मरेर काम गर्ने संयोजकहरुले नै यो प्रथा हावी भएको बताए । शान्ति सुरक्षा संयोजक राजेन्द्र वीक्रम शाहले केहिदिन अघि अनौपचारिक कुराकानीमा यहि बताएका थिए ।
कतिपय संयोजकहरुले आफूहरुको नाम एकपटक पनि उद्घोषकले उच्चारण ख’नगरेको भन्दै चित्त दुखाएका छन् । छैठौँदिनसम्म महोत्सवको लागि ज्यान फालेर काम गर्दा पनि एकपटक उद्घोषकले नाम नभनेको उनले अपिटाइम्ससंग बताए ।
यो महोत्सवमा धेरै कुरा नमिलेको बताए । सिमित ब्यक्तिको लागि महोत्सव लगाएकोजस्तो देखिएको भन्दै मिडियाको खबरदारी ठिक रहेको उनको भनाई छ ।
लोहदोहोरी गीत प्रसितष्ठान कपिलवस्तुलाई उपेक्षा
स्थानीय कलाकारलाई प्राथमिकता भनेर भाषण गरिए पनि कपिलवस्तुका लोक कलाकारहरुले मंच पाउन पाएका छैनन् । संघका पूर्व अध्यक्ष पूर्णचन्द्र परियारले लोक कलाकारलाई १५ औँ कपिलवस्तु महोत्सवले उपेक्षा गरेको बताए ।
आफूहरुसंग कुनै समन्वय नभएको बताउँदै समन्वय गरेको भए चर्चित कलाकारलाई सस्तै दरमा मंच टेकाउने आफूहरुको सामथ्र्य भएको बताउँदै कलाकारमा आयोजकले धेरै पैसा खर्च गरिरहेको उनको दावी छ । हुन पनि स्थानीय कलाकार भन्दै एउटा समुहलाई हरेक दिन नाच्ने अवसर मेलामा पाएका छन् तर अरु विधाका कलाकारलाई महोत्सवले स्थान नदिएको अरु कलाकार बताउँछन् ।
स्टलधनी असन्तुष्ट
महंगो स्टल शुल्क तिरेर बसेका केहि होटल स्टलवालाले सचिवालयमा आएर धम्की दिँदै थिए, ‘यस्तै हो भने हामी चारैजनाले स्टल छोडिदिन्छौँ । चार दिन भयो अझैसम्म बोहनी भएको छैन । आयोजकका मान्छेले हाम्रो टेवलमा बसेका मान्छेलाई उठाएर अरु होटलमा लगेर खुवाउँछन् । हामीले पैसा तिरेर बसेका हौँ नि । सबैको ब्यापार हुन पर्दैन । आयोजक भएर गर्ने यहि हो ।’ त्यसपछि भान्छा संयोजक नारायण पौडेल र स्टल संयोजक मिन बहादुर थापाले अब यस्तो हुँदैन भनेर सम्झाएर पठाएका थिए । हुन पनि आयोजकका केहि ब्यक्ति त्यस्तै ध्याउन्नमा छन् । अतिथि कलाकारदेखि अतिथि सबैलाई आफ्नो रोजाइमा रहेको होटलमा लगेर खुवाउने गरेका छन् । त्यसकारण पनि होटलका स्टलधनीहरु आयोजकप्रति क्रुद्ध भएका हुन् । अब यस्तो विभेद गरिए आफू स्टल छोडेर जाने उनको चेतावनी छ ।
अब के गर्ने ?
महोत्सवमा दर्शक आउने भनेकै कलाकारको प्रस्तुती हेर्नकै लागि हो । त्यसकारण कलाकारको प्रस्तुति हरेक दिन नयाँ र भिन्न हुुनुपर्ने हुन्छ । महोत्सवका जानकारहरुका अनुसार महोत्सव सफल बनाउन कलाकार बोलाउने रणनीतिमा बदलाव आउनुपर्ने छ । पप र भाइरल रहेको गायक गायिकालाई मंचमा चढाउनु पर्ने उनीहरु बताउँछन् ।
यस्तै सांस्कृतिक कार्यक्रम संचालन गर्ने ब्यक्ति पनि अलि क्षमतावान् र रमाइलो गर्ने खालका राख्नुपर्ने अनुभवी ब्यक्तिहरुको भनाई छ । अहिलेका कार्यक्रम संचालकले मन परेका मान्छेको गुणगान बढी गाउने र अरु मान्छेको नाम लिन पनि सकस मान्ने गरेका कारण उद्घोषकले सबैलाई समान रुपमा सम्बोधन गर्नुपर्ने बताइन्छ ।
महोत्सव सफल बनाउन ५०० सदस्यीय मूल समिति र २९ उपसमिति सक्रिय छन् । कुनै एक जनाको प्रचार मात्र नभएर सबैलाई स्टेजबाट सम्बेधन गरिनुपर्ने उनीहरु बताउँछन् । त्यो हुन सके सबैमा महोत्सवको अपनत्व हुने र परिवारलाई पनि महोत्सव अवलोकन गर्न प्रेरित गर्न सकिने उनीहरुले बताए ।
अझै ८ । ९ दिन बाँकी रहेकाले सुधार गर्न खोजे धेरै कुरा परिवर्तन हुने र आयोजकको लक्ष्य पुरा हुने ब्यवसायीहरु बताउँछन् ।उसो त यसपटक प्रायोजक पनि नपाएर आयोजकलाई तनाव रहेको छ । त्यसमाथि पनि कारोबार नभए झनै ठुलो तनाव हुने आयोजक बताउँछन् ।
प्रतिक्रिया