जितपुर । १५ औँ कपिलवस्तु महोत्सवको स्थलगत भ्रमणको लागि भन्दै आज बाणगंगा नगरपालिकाका सम्मूर्ण विद्यालयमा विदा दिइएको छ । महोत्सवमा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनीमा विद्यार्थीले केहि सिकून् भनेर विद्यालयमा विदा दिइएको नगर शिक्षा, खेलकुद तथा युवा शाखा प्रमुख खिम बहादुर जिसीले जानकारी दिए ।
स्थलगत भ्रमण र अध्ययन अवलोकन पनि शैक्षिक गतिविधिमा पर्ने भन्दै विदा दिइएको उनले जानकारी दिए । वनभोज खान र बिभिन्न नयाँ नयाँ ठाउँमा विद्यार्थीलाई लगेजस्तै महोत्सव पनि त्यहि अन्तर्गत रहेकाले अतिरञ्जित गर्न नहुने उनले बताए । महोत्सवमा विद्यार्थीको लागि ५० प्रतिशत छुटमा लगिने महोत्सवका शैक्षिक गतिविधि ब्यवस्थापन प्रमुख बासुदेव घिमिरे बताउँछन् । आयोजकको आग्रह र नगरपालिकाको निर्णय अनुसार आज स्कुलमा विदा दिइएको घिमिरेले जानकारी दिए ।
हरेक बर्ष यस्तै गरी विद्यार्थीलाई महोत्सव स्थलमा लगेर प्रवचनमा सहभागि गराउने, ज्ञानगुनका कुराहरु सिकाउने, अरु वस्तु र सामाग्रीको बारेमा पनि टिपोट गर्न लगाएर प्रतिवेदन नै बनाउन भनिएको घिमिरेको तर्क छ । सामाजिक संजालमा यसबारे कुप्रचार गरिएको भन्दै अन्यथा लिन नहुने उनी बताउँछन् ।
आज स्कुलस्तरीय गायन प्रतियोगिताको फाइनल, पुरस्कार वितरण र विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने कार्यक्रम रहेको संयोजक घिमिरेले जानकारी दिए ।
महोत्सवका संयोजक तथा आयोजक कपिलवीस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले महोत्सवबाट विद्यार्थीले धेरै ज्ञान लिएर फर्कने विश्वास ब्यक्त गर्दै स्कुलका शिक्षकहरुलाई सोही प्रकारले भ्रमण गराउन आग्रह गरे ।
स्थानीय स्तरमा लाग्ने महोत्सवमा ५० प्रतिशत शुल्क तिरेर हेर्न पाउनुलाई सामान्य रुपमा लिनुपर्ने भन्दै अनावश्यक टिका टिप्पणी नगर्न उनले सुझाए ।
तर कतिपयले भने विद्यालय बन्द नै गरेर महोत्सव भ्रमण गराइनु नगरपालिकाको बेठिक निर्णय भएको बताउँछन् ।
प्रतिक्रिया