मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ करोड लगानीमा बाणगंगामा होटल मझेरी, स्टारलेभलको सुविधा

१५ करोड लगानीमा बाणगंगामा होटल मझेरी, स्टारलेभलको सुविधा

अपि टाइम्स

जितपुर । करिब १५ करोड लगानीमा कपिलवस्तुको बाणगंगा नगरपालिकामा होटल मझेरी संचालनमा आएको छ । जनप्रतिनिधि छवीलाल रेश्मी मगर र होटल ब्यवसायी पर्शुराम थारुले नगरपालिकाको वडा नम्बर १ चार नम्बर जितपुरमा होटल मझेरी संचालनमा ल्याएका हुन् ।

करिब १०० जना अतिथिहरुलाई स्वागत गर्न सकिने गरी होटल संचालनमा ल्याइएको वडा नम्बर ४ का वडा अध्यक्ष तथा तथा संचालक छविलाल रेश्मी मगरले अपिटाइम्सलाई जानकारी दिए ।

उनका अनुसार होटल मझेरी यस क्षेत्रकै सुविधा सम्पन्न होटल रहेको छ । ७ तला रहेको होटलमा एक रातको लागि एक हजारदेखि १० हजारसम्मका सुविधासम्पन्न कोठाहरु रहेका छन् । संचालक रेश्मीले भने, ‘धेरै अध्ययन गरेर होटल संचालनमा ल्याएको छ, यहाँ स्टारलेभलको सुविधा हुनेछ । होटलका रुमहरु विदेशमा बसेजस्तो अनुभूति हुनेगरी डिजाइन गरिएको छ । अर्थात् स्टार मान्यता नभए पनि थ्रीस्टार, फाइभस्टार लेभलका होटलमा पाइने लिभिङ सुविधा दिने छौँ । लुम्बिनी र तिलाराकोटसम्मका आन्तरिक र बाह्य पर्यटकलाई समेत यहिँ राख्न सकिने छ ।’

उनले त्यहिअनुसार लुम्बिनी विकास कोष, त्यससम्बद्ध संस्थाहरुसंग पनि संयोजन भएको बताए । अब लुम्बिनी, कपिलवस्तु आएका कुनै पनि अतिथिले बास बस्न अन्य स्थानमा डुल्न पर्दैन, रेश्मी थप्छन्, ‘अब टुर प्याकेजमार्फत् पनि होटलको प्रचार गरिनेछ । नेपाल र भारतका ठाउँमा लामो अध्ययनपछि यस्तो होटलको परिकल्पना गरिएको हो । यसले यस क्षेत्रमा पर्यटन प्रवद्धन गर्न टेवा पुग्ने विश्वास गरेको छु ।’

राजापापानीमा थारु भिलेज संचालन गरिरहेका पर्शुराम थारुले रेश्मी र आफ्नो लगानीमा होटल संचालन भएको बताउँदै यहाँ स्थानीय रैथाने खानाको रुपमा रहेको थारु परिकारलाई पनि प्राथमिकतामा राख्ने बताए । राजापानी र थारु भिलेजमा एकै नासको सुविधा दिइने उनले बताए ।

राजापानी र चार नम्बरका होटलमा माछा, लोकर कुखुरा, हाँसका परिकारको साथमा पारिवारिक जमघट हुने बातावरण सिर्जना गर्ने थारुको भनाई छ । संचालक रेश्मीका अनुसार होटलमा अहिले ३२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । होटलमा सुविधा सम्पन्न २८ कोठाहरु छन् । भिभिआइपी र भिआइपी कोठामा छिरेपछि आफै पकाएर खाना खान सकिने छ भने सयन कक्ष पनि रहेको छ ।

यसका साथै १ सय जनासम्म अट्ने गरी मिटिङ हल पनि बनाइएको छ । सात तलामाथि रुफटप रेस्टुरेन्ट रहने छ भने त्यहाँबाट बाणगंगा नगरपालिकाभरलाई नियाल्न सकिने छ । होटलको आइतबार उद्घाटन गरिने र उद्घाटनका अवसरमा १५% छुटको ब्यवस्था गरिएको संचालक बताउँछन् । होटलमा प्रशस्त पार्किङ सुविधा पनि रहेको छ ।

कोरोनापछि धेरै ब्यवसायी पलायन भएको देखेपछि स्वदेशमै केहि गर्नुपर्छ भन्ने प्रेरणा बोकेर मोटो लगानीमा होटल संचालनमा ल्याइएको संचालकद्धय बताउँछन् ।

होटलको संचालनपछि निकै राम्रो प्रतिक्रिया आइरहेको उनीहरुको भनाई छ । होटलमा विद्यूतीय सवारी चार्ज गर्ने ब्यवस्था पनि मिलाइएको छ ।
यो आफ्नो लागि ठुलो चुनौति रहेपनि सबैबाट सहयोग मिल्ने रेश्मीले विश्वास गरे । खान र बस्नको लागि मात्र नभएर दैनिक खाजानास्ताको लागि बाहिरी होटलहरुमाभन्दा महंगो नभएको उनले जानकारी दिए ।

होटल मझेरीको संचालनपछि यस क्षेत्रमा अब बिभिन्न पाहुनाहरुलाई राख्न सकिने बताउँदै सरोकारवालाले खुसी ब्यक्त गरेका छन् । होटलले बाणगंगा नगरपालिकाकै गरिमा बढाउने अपेक्षा गरिएको छ ।