जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बाणगंगा मौरीपालन तथा मह उत्पादक सहकारी संस्था लिमिटेडको १७ औँ साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष लिलापति घिमिरेको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यमा जेसिज भवनमा शनिबार साधारण सभा सम्पन्न भएको हो ।
सभामा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन अनुसार संस्थाले करिब १ करोडको कारोबार गरेको छ । कोषाध्यक्ष कुल प्रसाद ज्ञवालीले संस्थाले गत गत एक बर्षमा ९३ लाख ९२ हजार ८ सय ७७ रुपैयाँ बराबरको आय गरेको र त्यहि हाराहारीमा खर्च भएको बताए ।
सभामा प्रमुख अतिथि पन्थीले संस्थाले गरेको प्रगतिको प्रसंसा गरे । प्रदेशमै सहकारीले राम्रो काम गरेको भन्दै सहयोग गर्ने बताए । वडा नम्बर १ मा रहेको जग्गामा घोला रहेको र त्यहाँ तटबन्ध नभएर समस्या भएको अध्यक्ष घिमिरेले जानकारी गराएपछि आगामी दिनमा जसरी पनि त्यहाँ तटबन्ध् निर्माणमा पहल गर्ने पन्थीको वचन छ ।
सहकारी जनताको घरदैलोको बैँक भएको भन्दै सदस्यमाथि विश्वास कायम गर्न उनले आग्रह गरे । वडा नम्बर २ का वडाअध्यक्ष तथा नगरप्रवक्ता विष्णु पौडेल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री लगायतले संस्थाले उत्पादन गरेको मह बजारीकरणमा टेवा दिने बताए ।
कार्यक्रममा बोल्ने सबैले संस्थाको मह निकै गुणस्तरीय रहेको भन्दै प्रसंसा गरेका थिए । अध्यक्ष घिमिरेले संस्थाले उत्पादन गरेको मह यस क्षेत्रमै गुणस्तरीय रहेको बताउँदै सेवनको लागि सबैलाई आग्रह गरेका छन् । संस्थाले हरेक बर्ष सदस्यको मन जित्दै आएको हुनाले आगामी दिनमा पनि मह उत्पादनमा ध्यान दिने उनले बताए । स्वस्थ शरीरको लागि मह सेवन अनिवार्य भएको घिमिरेको भनाई छ ।
सचिव चिरञ्जिवी शर्माको संचालन, उपाध्यक्ष इन्द्र कँडेलको स्वागतमा सम्पन्न सभामा स्वाभिमान बचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष घनश्याम घिमिरे, लालिगुँरास सहकारीका अध्यक्ष शालिकराम भुसाल लगायतले शुभकामना ब्यक्त गरेका थिए । सहकारीले अतिथि र सहभागि सदस्यहरुलाई मायाको चिनोस्वरुप मह नै दिएको थियो ।
प्रतिक्रिया