बागलुङ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउने बताएका छन् । ग्रामीण क्षेत्रका नागरिकले सहज स्वास्थ्य सेवा नपाएसम्म सहरका अस्पतालमा उपकरण थपेर मात्र नपुग्ने उनको भनाइ छ ।
बागलुङको बुर्तिवाङ अस्पताल शुक्रबार उद्घाटन गर्दै पाण्डेले एयर लिफ्टिङको लागत घटाउन पनि ग्रामीण क्षेत्रमा अस्पतालहरु चाहिएको बताए । गत वर्ष गण्डकी प्रदेश सरकारले ६७ जना गर्भवतीलाई प्रसूति समयमा हेली उद्धार गरेकोमा २९ जना बागलुङलगायतका ग्रामीण क्षेत्रका देखिएको उल्लेख गर्दै बुर्तिवाङ अस्पतालले प्रदेश सरकारको लागत घट्ने उनले विश्वास व्यक्त गरे । नागरिकको जीवन बचाउन सकेमा आर्थिक विकास छिटो हुने पाण्डेले दाबी गरे ।
गण्डकी प्रदेश सरकारले बागलुङको बुर्तिवाङ र गोरखाको आँपिपलमा चालु वर्ष अस्पताल बनाएको हो । यी दुई अस्पताल बनाउँदा सरकारलाई ४२ करोड व्ययभार थपिए पनि नागरिकको स्वास्थ्य सुधार भएमा आर्थिक क्षमता स्वतस् बढ्ने उनको भनाइ छ । समयमा उपचार सेवा पाउँदा डायलायसिस सेवा लिने बिरामी घटेकोले त्यसबाट पनि खर्च बचाउन सकिने पाण्डेले बताए ।
निर्माण भएका अस्पताल र जुटाइएका उपकरण सदुपयोग गर्ने काम भने स्थानीयको भएको उनले बताए । ‘आजकल सकारात्मक धारणाभन्दा नकारात्मक धारणा बढेको छ, भएका कामबाट फाइदा लिनेभन्दा टिप्पणी गर्नेहरु बढी छन्,’ उनले भने, ‘अब विकासलाई अपनत्व लिन सक्नुपर्छ ।’ हुन नसकेका कामको मात्रै आलोचना गर्न पनि उनले सुझाए ।
प्रतिक्रिया