काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्ग अब ७.८ मिटर मात्र खन्न बाँकी रहेको छ । ‘ब्रेक थ्रु’ का लागि डेढ मिटर खन्न बाँकी राखिने सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिने सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए ।
‘सुरुमा ‘ब्रेक थ्रु’ माघ २ गते गर्ने तयारीमा थियौं,’ उनले भने, ‘उक्त मितिमा प्रधानमन्त्रीज्युको समय नमिल्ने भएकाले कुनै समस्या आइनपरे माघ ८ गते गर्ने तयारीमा छौं ।’ सुरुमा आयोजनाले पुस अन्तिमसम्म ‘ब्रेक थ्रु’ हुने जनाएको थियो । पछि समय सारिएको योजना कार्यालयले जनाएको छ ।
आपत्कालीन द्वारका रूपमा तीन वटा ‘क्रस प्यासेज’ निर्माण गरिएको छ । तीनवटै क्रस प्यासेजको ‘ब्रेक थ्रु’ भइसकेको छ । उक्त क्रस प्यासेजहरूको कुल दूरी ४ सय ४१ मिटर छ । मुख्य सुरुङको लम्बाइ भने १ हजार १ सय २६ मिटर हो । डेढ मिटर खन्न बाँकी राखेर त्यसबीचमा विस्फोटक गराएर निस्किएको ढुंगा माटो सफा गरिने निर्देशक झाले बताए ।
सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने यसको निर्माण गरिएको हो । यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घट्ना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । यस खण्डको चार किमि पहिरो आउने क्षेत्रभित्र पर्छ ।
पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । अहिलेसम्म समग्र आयोजनाको प्रगति ३८.८५ प्रतिशत छ ।
प्रतिक्रिया