मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

अपि टाइम्स

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउनेछ ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलगायत ६३ जना विरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावी सहित ५ पुसमा थप र ७ पुसमा पूरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

लामिछाने विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।

लामिछानेसहित पूर्वडीआईजी समेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लीला पछाईं, पूर्वसांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्वकोषाध्यक्ष आरती गुरुङ पनि प्रतिवादी छन् ।