चन्द्रकान्त न्यौपाने, बुटवल । क्लोथ एण्ड फूड बैंक नेपाल र बुटवल उपमहानगरपालिकाको आयोजनामा शनिबार ट्र्यास रेस बुटवल सम्पन्न भयो । रेसमा १३ सय बढीको सहभागिता थियो भने सबैबाट करिब १० क्विन्टल प्लाष्टिकजन्य फोहर संकलन भएको थियो ।
निर्धारित दुरीमै दौडिएर सबैभन्दा बढी फोहर संकलन गर्नेहरुलाई नगद र सम्मानपत्रले पुरस्कृत गर्ने कार्यक्रममा सहभागि रहेका ब्यक्तिको सक्रियताले आयोजक नै उत्साहित छन् । सोही अवसरमै उत्कृष्ट १० जनालाई नगद र प्रमाणपत्रले सम्मानित गरिएको थियो ।
वातावरणीय सचेतनाका साथै सामाजिक युबा जागरणको सेतुको रुपमा लिइएको कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डिआइजी) दान बहादुर कार्की लगायतको सहभागिता थियो भने अन्य क्षेत्रका ब्यक्तित्वहरुले पनि सक्रियतापूर्वक सहभागिता जनाएका थिए । कार्यक्रमको अहिले चौतर्फी चर्चा छ ।
कार्यक्रमका प्रमुख अतिथि पाण्डेयले सफा बुटवल सहर, हाम्रो रहर भन्ने मुलमन्त्रलाई प्रतियोगिताले सम्बोधन गरेको बताए ।
आफूहरुको वातावरण संरक्षण अभियानलाई ट्यास रेसले सघाउ पुर्याएको बताउँदै पाण्डेयले आयोजक क्लोथ एण्ड फूड बैंक नेपाललाई धन्यबाद दिए । यस कार्यमा अभियान्ता कमल जिसीको ठुलो देन रहेको भन्दै उनले युवाहरुलाई सामाजिक र मानवीय कार्यमा लगाउन गरेको लामो समयदेखिको कामलाई प्रसंसा गरे ।
विशिष्ट अतिथि लुम्बिनी प्रदेश प्रहरी प्रमुख (प्रहरी नायब महानिरीक्षक) दानबहादुर कार्कीले पनि कार्यक्रमले सफा बुटवल निर्माणमा टेवा दिएको बताए । युवाहरुले यसरी चेतनामुलक कार्यक्रम गर्दा युवाहरूलाई लागुऔषधविरोधी अभियानमा पनि सक्रिय हुन कार्कीको आग्रह छ ।
उनले लागुऔषध सेवन र बेचबिखनले समाज निकै आक्रान्त रहेको भन्दै त्यसको न्यूनिकरणमा पनि रेसले भूमिका खेल्न सक्ने भन्दै निरन्तरताको लागि शुभकामना दिए । प्रमुख कार्कीले लागु औषधको कहिँ कारोबार भएको पाइए नेपाल प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेका छन् । कार्कीले नै उत्कृष्ट १० प्रतियोगीहरुलाई सम्मानपत्रले सम्मान गरेका थिए ।
क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति कमल जिसीले कार्यक्रममा सहभागि सबैलाई धन्यबाद दिए । केवल देखाउनको लागि नभई समाजलाई जगाउनको लागि यो पृथक अभियानको थालनी गरेको उनको भनाई छ ।
यस अभियानलाई देशब्यापी बनाउने भन्दै विजेताहरुलाई उनले बधाई र शुभकामना दिएका थिए ।सफाइप्रति जागरण ल्याउन यो केवल विम्ब रहेको भन्दै सार्वजनिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुको हरदम सरसफाई हुनुपर्ने जिसीको धारणा छ ।
ट्र्यास रेसले बुटवलमा वातावरणीय सचेतना मात्र नभई सामाजिक र स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने, युबाजगारण ल्याउने लगायतमा भूमिका खेलेको अध्यक्ष जिसीको दावी छ । रेसको संयोजक लक्ष्मण श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा ग्रेस इन्टरनेशनल बुटवलका प्रमुख ईश्वर भट्टराई लगायत सहभागि थिए । कार्यक्रममा सहभागि भएकाहरुले पनि कार्यक्रमको मुक्तकण्ठले प्रसंसा गरेका छन् ।
प्रतिक्रिया