चन्द्रकान्त न्यौपाने, जितपुर । कपिलवस्तुमा दानवीरको छवी कमाइरहेका बाणगंगाका समाजसेवी कृष्ण बहादुर कुँवरले आफ्नी आमाको चौरासी पुजाको खुसीमा एउटा सरप्राइज दिएका छन् ।
कुँवरको यो सरप्राइजबारे परिवारबाहेक सायदैलाई थाहा थियो । पुजास्थलमा पुजाआजा चलिरहेको बखत् हजारौँ आफन्त र शुभेच्छुकहरुमाझ अकस्मात् एउटा कार्यक्रम आयोजना भयो, जुन कार्यक्रममा कुँवरले त्यहि सरप्राइज प्रस्तुत गरे । त्यो थियो आमाको चौरासी पुजाको खुसीमा एउटा विद्यालयलाई नगद १० लाख दान ।
आफ्नो स्थायी बसोबास रहेको वडा नम्बर ४ गजेहडास्थित बाणगंगा माध्यमिक विद्यालयको श्रीवृद्धि र त्यहाँका गरिब र विपन्न विद्यार्थीको पठनपाठनको लागि भन्दै स्थापना भएको अक्षय कोषमा कुँवर परिवारले १० लाख नगद जम्मा गरेका हुन् ।
कार्यक्रममा पूर्व मन्त्रीद्धय चक्रपाणी खनाल ‘बलदेव’, दीप कुमार उपाध्याय लगायतको सहभागिता थियो । उनैहरुको सहभागितामा विद्यालयका प्राचार्य रामप्रसाद भण्डारी, विद्यालय व्यवस्थापन समितिका सदस्य हरीप्रसाद पौडेल लगायतले कुँवरले प्रदान गरेको चेक ग्रहण गरेका थिए ।
कुँवर उक्त माविमा विगत १ बर्षदेखि विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पदमा रहेका छन् । समितिको नेतृत्व पाएदेखि नै विद्यालयलाई नमुना बनाउने उद्घोष गरेका कुँवरले १ करोडको अक्षय कोष स्थापना गर्ने घोषणा गर्दै पहिला पनि चर्चामा आएका थिए ।
त्यहि अनुसार बोलेका कुरा कुँवरले पुरा गरेका हुन् । विद्यालयको अक्षय कोषमा १० लाखबाट रकम जम्मा गर्न आफूले सुरु गरेको भन्दै अध्यक्ष कुँवरले सबैलाई कोषमा रकम जम्मा गर्न आग्रह गरे । रकम हस्तान्तरण गर्ने उपयुक्त समय खोजि गर्ने क्रममा आमाको चौरासी पुजा नै सबैभन्दा उत्तम लागेपछि १० लाख जम्मा गरिएको कुँवरले जानकारी दिए ।
नगद हस्तान्तरणपछि कुँवरले आफ्नो कार्यकालमा बाणगंगा माविलाई नमुना बनाएरै छोड्ने प्रतिवद्धता जनाए । चेक ग्रहण गर्नेक्रममा धेरैले मनकारी कुँवरको ब्यक्तित्वको प्रसंसा गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक रामप्रसाद भण्डारीले जिल्लामै कुँवरले ऐतिहासिक काम गरेको बताए । उनले अपिटाइम्सलाई भने, ‘अहिलेसम्म विद्यालयको अध्यक्ष बनेकाहरुबाट यति मोटो रकम नगद सहयोग गर्ने मान्छे भेटेको छैन । कुँवरको मनकारी ब्यक्तित्वको म प्रसंसा गर्दछु ।’
जिल्लाको पुरानोमध्येको बाणगंगा मावी कुँवरको नेतृत्वपछि अझै राम्रो भएको बताए । उहाँबाट धेरैले पाठ सिक्नु पर्ने भण्डारी बताउँछन् ।
कार्यक्रममा सहभागि भएका पूर्व सांसदद्धय उपाध्याय, बलदेव, एमाले नेता झविलाल पोख्रेल लगायतले पनि कुँवरको मनकारी ब्यक्तित्वको मुक्तकण्ठले प्रसंसा गरेका थिए ।
अक्षयकोषको रकम विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर सुधारका साथै विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ ।
कुँवर सामुदायिक रेडियो मायादेवीको संचालक समितिको अध्यक्षमा छन् भने अरु धेरै संस्थामा पनि आवद्ध छन् । उनले आफ्नो जिल्ला र नगरका बिभिन्न संघसंस्थालाई यसअघि पनि मनग्य सहयोग गर्दै आइरहेका छन् । त्यसैले कुँवरलाई धेरैले वरिष्ठ समाजसेवी र दानवीरको उपमा दिन्छन् ।
चौरासी पुजामा सहभागि भएका आफन्त, शुभचिन्तक र र भक्तजनले पनि कुँवरको निकै प्रसंसा गरे । खालि दिन मात्र जानेको र लिन नजानेको ब्यक्तिको रुपमा कुँवरलाई चिन्ने गरेको बताउँदै स्थानीयहरुले कुँवरलाई अब राजनीतिमा नगर र जिल्ला बनाउन सुझाएका छन् ।
प्रतिक्रिया