मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केहि ब्याटर बलिङ र बलर ब्याटिङमा चले पनि नामिबियासँग हार्यो नेपाल

केहि ब्याटर बलिङ र बलर ब्याटिङमा चले पनि नामिबियासँग हार्यो नेपाल

अपि टाइम्स

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले नामिबियासँग दोस्रो हार बेहोरेको छ। नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग २ विकेटको हार बेहोरेको हो। आजको खेलमा ब्याटर बलिङ र बलर बयाटिङमा खरो देखिए पनि नेपालले नतिजामा हार भोग्यो ।

यसअघि पहिलो खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो।

बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पार गर्‍यो।

नामिबियाका लागि कप्तान जेराल्ड इरासमसले अर्धशतक प्रहार गरे। कुशल भुर्तेलको बलमा करण केसीबाट क्याच हुनुअघि उनले ५६ बलमा ८ चौका र २ छक्का प्रहार गरे।

नामिबियाले पाँच ओभरभित्र दुई विकेट गुमाए पनि इरासमस र मिकेल भानले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे। भानले कुशल मल्लबाट आउट हुनुअघि ३१ रन जोडे।

अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न नसके पनि जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले अन्तिमसम्म ब्याटिङ गरेर नामिबियालाई जित दिलाए।

स्मिथले ६६ बल खेलेर नटआउट ३४ रन जोडे भने ट्रम्पलम्यानले १६ रनमा आउट भए।

बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिँदा कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशले एकएक विकेट हात पारे।

नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ३७।१ ओभरमा १६८ रनमा अलआउट भयो।

नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे पनि अरु ब्याटर चल्न सकेनन्। कप्तान रोहित पौडेलसहित चार ब्याटरले खाता खोल्न सकेनन् भने ६ ब्याटरले दोहोरो अंकमा रन बनाएनन्।

६४ बलमा ८ चौका र १ छक्का प्रहार गरेका आसिफले ५८ रन जोडे। आसिफको यो १२औं एकदिवसीय अर्धशतक हो। उनले एकदिवसीय खेलमा एक शतक पनि प्रहार गरेका छ्न। जारी सिरिजमा उनले नेदरल्यान्ड्सविरूद्धको अघिल्लो खेलमा पनि अर्धशतक प्रहार गर्ने क्रममा नटआउट ५४ रन जोडेका थिए।

अर्का ओपनर कुशल भुर्तेलले १८ रन जोडे। उनले आसिफसँग ३८ रनको ओपनिङ साझेदारी गरे। उनी सातौं ओभरमा बर्नाल्ड स्कोल्जको एलबिडब्लूको धरापमा परेका थिए। सोहि ओभरमा अनिल साह र अर्को ओभरमा देव खनाल शून्यमा आउट भएपछि नेपाल सुरुमै दबाबमा परेको थियो। नेपालले आठ ओभरमा महत्वपूर्ण तीन विकेट गुमाउँदा ४३ रन जोडेको थियो।

खेलमा कप्तान रोहित पौडेल पनि चल्न सकेनन्। २४ ओभरमा आउट भएका रोहित ९ बल खेल्दा शून्यमा आउट भए। त्यसपछि कुशल मल्लले २६ रन जोड्दा नेपालको रन केही बढेको थियो।

दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी ३४औं ओभरको चार बलको अन्तरमा आउट भए। दीपेन्द्र सो ओभरको दोस्रो बलमा ६ रनमा आउट हुँदा सोमपाल पाँचौ बलमा ४ रनमा आउट भए।

३५औं ‌ओभरमा भीम सार्की स्कोल्जबाट बोल्ड भए। उनले २६ रन बनाए।

यस्तै करण केसीले अन्तिम विकेटको रुपमा आउट हुनुअघि १२ रन जोडे।

बलिङमा स्कोल्जले ४ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ३१ रन खर्चिए। जान निकोलले पनि ४ विकेट लिए। उनले ६।१ ओभरमा ३४ रन खर्चिए।

अब शुक्रबार नामिबिया र नेदरल्यान्ड्स तथा आइतबार नेपाल र नेदरल्यान्ड्सबीचको खेलपछि यो सिरिज सकिनेछ।