मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्ष थापा भन्छन् ‘अचेल अख्तियार र पत्रकारसंग डर लाग्न छोड्यो’

अध्यक्ष थापा भन्छन् ‘अचेल अख्तियार र पत्रकारसंग डर लाग्न छोड्यो’

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडस्थित खोजिपुर सामुदायिक वन उपभोक्ता समितिमा लगातार ३ कार्यकालसम्म नेतृत्वमा रहेका दीपक थापाले निस्वार्थी भएर काम गर्दा पनि कहिल्यै जस पाउन नसकेको बताएका छन् ।

आफ्नो जीवनको उर्जाशिल समय समुदायको लागि लगाएको बताएका थापाले कामको जस नपाउने कुराले बेलबेला दुखी बनाउने गरेको भन्दै दुखेसो पोखका हुन् ।
१२ बर्षभन्दा बढी सामुदायिक वनजंगलको संरक्षण र संवद्धनमा खर्च गर्दा अनेक मुद्धा मामिला, आरोपप्रत्यारोप खेप्नु परेको उनी बताउँछन् ।
थापा भन्छन् ‘घर परिवारलाई बिर्सेर समुदायको विकासमा लागेँ । वनमा ३ पटक लगातार नेतृत्वमा बस्दा मेरो ५ कट्ठा खेत नै बेच्नु परेको छ । अहिलेसम्म जंगल र समुदायको काम गरेर एक सुको कमाएको छैन । एक रुपैयाँ भ्रष्टाचार गरेको छैन तर अध्यक्षले यो गर्यो, त्यो गर्यो भनिरहन्छन् । अख्तियारमा मुद्धा पर्दछन् । पत्रकारले केके लेख्दछन् । यो १२ बर्षमा धेरै कुरा झेलिरहेको छु ।’

अध्यक्ष थापाले पत्रकारहरु पनि बेइमान बन्दै गईरहेको बताए । जिल्लाका सामुदायिक बनका अध्यक्षमध्ये आफू बढी मिडिया मैत्री अध्यक्ष रहेको दावी गर्दै पत्रकारहरु पनि सुध्रिएर अघि बढ्नु पर्ने आवश्यकता रहेको थापाले औँल्याए ।
केहि पत्रकारको नाम लिँदै उनैहरुका कारण पत्रकारिता बदनामीतर्फ गएको उनको ठम्याई छ । थापा थप्छन् ‘पत्रकारहरुले कहिले कार्यक्रम, कहिले शुभकामना, कहिले समवेदना भन्दै फोन गरी मैसा माग्दछन् । सधैँ दिइरहिएको छ । कतिपयले यस्तो भएछ नि भनेर धम्की दिन्छन् । तर बनजंगलको विकास र राम्रो कामको बारेमा कहिल्यै कसैले लेख्दैनन् । खाली पैसा माग्न मात्रै आउँछन् ।’

थापाले एकजना पत्रकारले बार्गेनिङ गरेर ६० हजारसम्म खाएको थापाले खुलासा गरे । ‘पहिले पत्रकार, अख्तियार भनेपछि श्रद्धा आउँथ्यो तर पहिले उनीहरुप्रति सम्मान भाव विस्तारै हराउँदै छ । जसले जे आरोप लगाए पनि हुने । पत्रकारले जे लेखे, बोले पनि हुने । बनमा अध्यक्षले यो नराम्रो र बदमासी काम गर्यो भनेर अख्तियारमा उजुरी पर्ने रहेछ । पछि टोली अनुसन्धानमा आएर रित्तै फर्केका छन् । यस्तो धेरैपटक भएको छ । त्यसैले पत्रकार, अख्तियार यस्तै रहेछन् भनेर अचेल त्यति डर लाग्न छोड्यो’, उनले थपे । जसले जे भने पनि आफ्नो नेतृत्वपछि बनजंगलमार्फत् समुदायको धेरै विकास गर्न सकिएकोमा थापा खुसी ब्यक्त गर्दछन् ।

यस्तो समस्या आजभोलि आफूलाई मात्र नरहेर धेरैलाई परेको बताए । झुटो खबर लेख्ने र झुटो आरोप लगाएर अख्तियारमा उजुरी दिनेलाई आरोप प्रमाणित नभएमा कारबाही गर्ने नीति बनाउनु् पर्ने थापाले बताए ।
आफूमाथि बिभिन्न आरोप आए पनि त्यो झुटो रहेको भन्दै नियतले भ्रष्टाचार र बदमासी गरेछु भने आफै कालोमोसो लगाएर गाउँगाउँ हिँड्छु, कसैले भन्नु पर्दैन थापा जिकिर गर्दछन् ।
बनमा दिएको योगदानकै कारण बैज्ञानिक बन ब्यवस्थापन समिति लुम्बिनी प्रदेशको अध्यक्ष बनेको बताउँदै थापाले गाउँ समाजमा पनि सबैको साझा ब्यक्ति बनेको बताए । प्रदेशको अध्यक्ष भएपछि पनि सामुदायिक बनको हकहितको लागि धेरै कार्य गरिरहेको उनले बताए ।
सामुदायिक बनको हकहितको विषयमा कुराकानी गर्दा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली चौधरीसंग झगडा नै भएको थापाले बताए । अपिटाइम्सले खोजिपुर वनमा पाटेबाघ रहेको विषयमा जानकारी लिने क्रममा उनले यी कुरा बताएका हुन् ।