मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगाको नव जागृति वनमा लफडा, भयो हात हालाहाल !

बाणगंगाको नव जागृति वनमा लफडा, भयो हात हालाहाल !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
काठमाडौँ । सामुदायिक बनमा लफडा, भ्रष्टाचार र एकले अर्कोलाई अस्विकार गर्ने रोग नयाँ होइन पुरानै हो । यस्तै रोगले गाँजिन पुगेको छ कपिलवस्तुको एउटा सामुदायिक वन । वाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा रहेको नवजागृति सामुदायिक बन उपभोक्ता समितिमा कार्यसमितिमा रहेको विवाद छताछुल्ल हुन पुग्दा सिंगो उपभोक्ता र वडा नम्बर २ को नै बेइज्जत भएको छ ।

गत बर्ष यस वनमा हेमनाथ पौडेलले चुनावमार्फत् नयाँ नेतृत्व पाए । त्यसअघिका अध्यक्ष रहेका नेकपा एमालेका पदमलाल अधिकारीलाई पराजित गर्दै माओवादीका पौडेलले चुनाव जिते । ११ जनाको कार्यसमितिमा उनले अध्यक्ष पदमा हत्याउँदा अरु १० जना भने नेकपा एमाले, काँग्रेस, राप्रपा लगायतबाट विजयी भए । त्यसपछि सो बनमा सधैँजसो विवाद भइरहेको छ ।

नेपालकै पहिलो सामुदायिक बनको परिचय बोकेको वनमा अहिले रुख कटान र कुलो सार्ने विषय विवादित छ भने यहि विषयले उग्र रुप लिँदा अध्यक्ष, कार्यसमिति सदस्य र उपभोक्ताबीच आइतबार बनको कार्यालय रहेको स्थान गोबड्डिहवामा हात हालाहालको स्थितिसम्म सिर्जना भएको छ । अध्यक्ष पौडेलकी श्रीमती र अर्की एक महिला हातहालाहालमा उत्रेकी थिइन् । अध्यक्षकी श्रीमतीले आफ्नो हातमा चोक लागेको कारण नसहने बताएकी छन् ।

कुलो सार्ने र रुख कटान गर्ने विषयमा अध्यक्षले एकलौटी गरेको भनेर १० जना कार्यसमितिका सदस्यले राजिनामा दिएका छन् भने राजिनामा दिनु अनुपयुक्त रहेको, वनमा अनावश्यक विवाद गरेको भन्दै अध्यक्ष हेमनाथ पौडेलले राजिनामा पत्र नै च्यातिदिएका छन् । यसपछि वनको कार्यालयमा ताला लागेको छ । केहि युवाले अब यो वन हामीले चलाउँछौँ भनेर कसैलाई प्रवेश गर्न नदिने बताएका छन् । आइतबार दिउँसो अवस्था असामान्य भएपछि सबै घरघर लागेका छन् । सदस्यहरुले राजिनामा दिएको नै हो भने चुनावमा जान आफैलाई कुनै संकोच नहुने अध्यक्ष पौडेलले अपिटाइम्समार्फत् चेतावनी दिएका छन् । जसले जे गरे पनि आफुले बनको विकासको पक्षमा धेरै काम गरेको भन्दै राजिनामा नदिने र डटेरै सामना गर्ने बताएका छन् ।
के भएको थियो ?

बन अहिले रुख कटानको प्रकृयामा छ । सार्वजनिक सुचना जारी गरी टेण्डरमार्फत् उपभोक्ता बाहिरका ब्यक्ति रुख कटान गर्न तयार छन् र अब रुख कटान गरिहाल्नु पर्ने अवस्थामा अध्यक्ष पौडेल छन् । यहि विषयलाई लिएर कार्यसमितिका अधिकांस सदस्य र युवाले रुख कटानको कार्य आफूहरुले गर्न पाउनु पर्ने र त्यो स्थिति नभए रुख कटान गर्न नदिने चेतावनी दिएको स्थिति छ । टेण्डरमार्फत् आएको फर्मले भने चाँडो रुख काट्न अनुमति मागेको छ । सम्भव भएसम्म आजैभोलि रुख काट्ने तयारीमा उक्त फर्म छ ।

यो विषयमा अध्यक्षले पटकपटक कार्यसमितिका सदस्य र युवालाई सम्झाउने प्रयास गरे तर नमाने पछि उनले उपभोक्तालाई आइतबार वनको कार्यालयमा बोलाएर यस विषयको जानकारी दिए । त्यहि क्रममा लफडा भएको हो ।
अध्यक्ष पौडेलले आइतबार टेण्डरमार्फत् कम लागतमा रुख कटान हुने र त्यसरी बचेको पैसा वन समुहको विकासकै लागि खर्च गरिने भएको उपभोक्तालाई जानकारी दिन प्रयास गरेको बताए । वनको नियम अनुसार गरिएको टेण्डर प्रकृया नबुझेर विवाद गर्न खोज्ने र उपभोक्तालाई उक्साउने कार्यमा अरु जिम्मेवार पदाधिकारी र सदस्य लागपछि स्थिति उग्र बनेको अध्यक्ष पौडेलको दावी छ ।

आफूले वनको नियम र प्रकृयाअनुसार टेण्डर गरेको, नियम नमिचेको र हरेक निर्णय गर्दा कार्यसमितिसंग सल्लाहा गरेर गरेको अध्यक्ष पौडेलले दावी छ ।
डिभिजन वन कार्यालयले स्थानीयलाई कटानको जिम्मेवारी दिन अनुमति दिए अझै पनि आफू युवाविरुद्ध जान नसक्ने बताउँदै वनको नियमले नदिए आफूले केहि गर्न नसक्ने पौडेलको भनाई छ ।

रुख कटान जोखिमपूर्ण भएको र युवालाई पनि त्यति फाइदा नहुने ठम्याएपछि टेण्डर प्रकृयामा गएकोले नराम्रो नमान्न आग्रह गर्दै अध्यक्ष पौडेलले अरु कार्यक्रममा युवालाई समेट्ने बताए ।

यो समस्या युवाको नभएर राजनैतिक हस्तक्षेपका कारण भएको पौडेल बताउँछन् । आफू विकासशिल र उपभोक्ताको रोजाइएको ब्यक्ति भएकै कारण अध्यक्षमा विजयी भएको बताउँदै वडा अध्यक्ष, स्थानीय एमालेका नेता कार्यकर्ताले कार्यसमितिका सदस्य र उपभोक्तालाई उक्साउँदा यस्तो घटना भएको उनको भनाई छ । आफू अल्पमतमा भएपछि सुरुदेखि नै दुख दिन खोजेको, निर्णय विवादित बनाउन खोजेर समस्यामा पार्न खोजेको उनले बताए ।

आफ्नो नेतृत्वको एक बर्षमा धेरै विकासका काम भएको उनले बताए । अघिल्लो कार्यसमितिमा भ्रष्टाचार र बेथिति सहेर बसेको भन्दै कार्यसमितिका केहि प्रायोजित ब्यक्तिले आफुले विकास गर्न खोजेपछि प्रतिशोध साँधेर असफल बनाउन बिभिन्न हर्कत गरिरहेको उनको आरोप छ । कुनै पार्टी र नेताको पछि नलागेर विकासको पछि लाग्न कार्यसमितिका सदस्य र उपभोक्तालाई उनले आग्रह गरे ।

यता कार्यसमितिका पदाधिकारी र अरु सदस्यले भने अध्यक्षले एकलौटी गरेको बताए । टेण्डर दिँदा होओस् वा कुलो सार्ने विषय अथवा अरु कुनै पनि निर्णय लिँदा कार्यसमितिसंग सल्लाहा नगरीकन गर्ने गरेका कारण यस्तो स्थिति सर्जना भएको वनका सहसचिव डासुराम बेलबासेले अपिटाइम्सलाई बताए । अध्यक्षको हरेक क्रियाकलाप एकलौटी र पेलेर लैजाने खालका रहेको उनी बताउँछन् ।

रुख कटान दिने र कार्यालयको पश्चिमतिर रहेको कुलो सार्ने विषयको निर्णयमा पनि अध्यक्षको आफूखुसी रहेको उनको भनाई छ । कार्यसमितिमा रहेर आफूहरको कुनै अस्तित्व नरहेपछि सबै जनाले राजिनामा दिने निर्णय गरेको उनको जिकिर छ । आफूहरुको राजिनामा पत्र च्यातेर अध्यक्षले दादागिरी देखाएको सदस्यहरु बताउँछन् । आफूहरुको पत्र च्यातेपछि अवस्था थप बिग्रेको उनले बताए ।

यहि कारण केहि महिला उपभोक्ताहरु घचटाघचटमा लागेको उनले बताए । अध्यक्षकी श्रीमतीलाई हात हालेको नभई एउटा कागज खोस्न खोज्दा त्यस्तो भएको बेलबासेले बताए ।
यता अध्यक्षले पौडेलले आफूमाथिका झुटा कुरा नपत्याउन आग्रह गर्दै यो कार्य आफ्नो दादागिरीबाट प्रेरित नभएको बताए । आफूले विकास गरेको देखेपछि देख्न नसकेर केहि प्रायोजित तत्वले असफल बनाउन अनावश्यक बखेडा झिकेको उनी बताउँछन् । रुख कटानको विषयमा पनि चिठी पत्र काट्ने लगायतको सबै काम भएको बताए । स्थिति उग्र बनेपछि जे पनि हुन सक्ने भयले हेलमेट नै लगाएर छलफल गर्नुपरेको उनले बताए ।

वनका अरु उपभोक्ताले पहिलोपटक बनमा यस्तो चर्तिकला भएको भन्दै आफूहरुलाई बदनाम नगराउन आग्रह गरेका छन् । यो विषयमा कोही चोखो नरहेको बताउँदै ती उपभोक्ताले अध्यक्ष लगायत सबै दोषी रहेको बताए । एक जना पुरानो उपभोक्ता भन्छन् यो कार्यले गाउँ समाजमा परेको असरको जिम्मा बर्तमान कार्यसमितिले लिनुपर्छ । अध्यक्ष, पदाधिकारी र सदस्यले उपभोक्तामाझ नराम्रो भयो भनेर माफी माग्नुपर्ने उनीहरुको भनाई छ ।

अब यो समस्या कसरी समाधान हुन्छ त्यो भने थाहा छैन । यो विषय डिभिजन वन कार्यालय, वड र नगरपालिकासम्म पुगेको छ । कतिपयले यो विषय मुद्धामामिलातर्फ जान सक्ने बताउँछन् । अध्यक्ष पौडेले भने सकेसम्म सल्लाह गरेर सल्टाउने र हदै भए नियमअनुसार जे हुन्छ त्यो विधिमा जाने बताए । १० जनाको राजिनामाको विषय हठात्को निर्णय भएकाले सबै मिलेर जाने कुरामा विश्वस्त रहेको बताए ।