मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार छानबिन गर्ने सत्ता गठबन्धनको योजना

कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार छानबिन गर्ने सत्ता गठबन्धनको योजना

अपि टाइम्स

काठमाडौँ । सत्ता गठबन्धनले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने योजना अघि सारेको छ।

सत्ता गठबन्धनले मंगलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै भ्रष्टाचार र अख्तियारको दुरूपयोगसँग जोडिएका विषयको छानबिन गर्ने प्रतिबद्धता जनाएको हो।

‘भ्रष्टाचार र अख्तियारको दुरूपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने। भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने,’ न्यूनतम साझा कार्यक्रममा उल्लेख छ।

‘सार्वजनिक पदमा रहेका सबै भ्रष्ट, सबै निकम्मा’को रूपमा व्याप्त भावनालाई बदल्दै ‘बेइमानी गर्नेले कानुनी रूपमा सजाय पाउँछ’ भन्ने उदाहरण प्रस्तुत हुने गरी सार्वजनिक प्रशासनलाई चुस्त तुल्याइने कर्यक्रममा उल्लेख छ।

न्यायालय र सम्बद्ध नियामक निकायहरूमा जवाफदेहिता सुनिश्चित गर्ने, ‘लाइनमा रहेका सबैको पालो आउँछ’ भन्ने मान्यतालाई बल पुर्‍याउने दिगो प्रणाली विकास गरी जनतामा राज्यप्रतिको भरोसा जगाउने कार्यक्रममा उल्लेख गरिएको छ।

यस्तै कार्यसम्पादन करारसम्बन्धी विद्यमान निर्देशिकालाई परिमार्जन गरी प्रमुख पदमा बहाल कर्मचारीहरूसँग वस्तुनिष्ठ मूल्यांकन र मापनयोग्य परिसूचकहरूका आधारमा कार्यसम्पादन सम्झौता गर्ने कार्यक्रममा राखिएको छ।

राष्ट्रिय परिचयपत्रलाई प्रचलनमा ल्याउने, फरकरफरक कार्यालयमा नागरिकतालगायत कागजात पटक–पटक बुझाउनुपर्ने झन्झटलाई हटाउन नागरिक एपलाई सुदृढ गरी त्यसैमार्फत् सबै प्रकारको सेवा उपलब्ध गराउने सत्ता गठबन्धनको योजना छ।

सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने पनि उल्लेख छ।

‘सार्वजनिक खरिद प्रक्रियामा उच्चतम दक्षता र सदाचार सुनिश्चित गर्न आवश्यक कानुनी र संस्थागत सुधार गर्ने, सार्वजनिक खरिद अनुगमन कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रलाई परिणाममुखी र प्रभावकारी बनाउन आवश्यक सुधार गर्ने,’ कार्यक्रममा भनिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकारसम्पन्न बनाउने पनि सत्ता गठबन्धनले योजना अघि सारेको छ।