मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर अर्यालकै रोजाइका हाकिम मरासिनीको सरुवा हल्लाले तरंग ?

मेयर अर्यालकै रोजाइका हाकिम मरासिनीको सरुवा हल्लाले तरंग ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । बाणगंगा नगरपालिकामा कर्मचारी नटिक्ने समस्या नयाँ होइन पुरानै हो । कर्मचारी नटिकेर समस्यैसमस्यामा जकडिएको बाणगंगामा पछिल्लो समय आएका भक्तिराम मरासिनी पनि ५ महिनामै विदा हुन थालेको हल्ला सुनिन थालेको छ । यसअघिका हाकिम खिमानन्द भुसाल १ बर्ष टिकेर विदा भएपछि करिब डेढ महिनाको रिक्ततापछि नगरपालिकामा मरासिनीको इन्ट्रि भएको थियो ।

गत असोजमा खोजिखोजि ल्याइएका मरासिनी पनि कामको चापको समयमा ५ महिनामै विदा हुन थालेको हल्लाले कर्मचारी र जनप्रतिनिधिवृत्तमा तरंग सिर्जना गरेको छ । यहि हल्लाका कारण अहिले कर्मचारीलाई मातहतका काम गर्न भ्याइनभ्याइ भएको अपिटाइम्सले सुचना पाएको छ । नगरको एक शाखाका कर्मचारीले हाकिम सम्वद्ध सम्झ्यौता लगायतको काम चाँडै सक्न सेवाग्राहीलाई अनुरोध गरेको सुचना छ । उनले यसो भन्नुको पछि पनि हाकिम सरुवाको कारण हुन सक्ने बताइन्छ ।

बिभिन्न योजनाहरु सम्झ्यौता भएर कामले गति लिने समयमा मरासिनी लामो विदा लिएर काठमाडौँ गएका छन् । मरासिनी काठमाडौँ जान गएको अरु कारण नभएर सरुवा मिलाउनका लागि रहेको समाचार श्रोत छ । नगरपालिकाका जिम्मेवार कर्मचारी भन्छन् ‘हाकिमको सरुवाको हल्ला सुनेका छौँ । त्यसैले अहिले सम्झ्यौता गर्ने कामको चाप छ ।’

यहि हल्लापछि अपिटाइम्सले कार्यालय प्रमुख मरासिनीसंग बुझ्दा सरुवाको विषय अकल्पनीय रहेको बताए । अहिले आफु काठमाडौँ रहेको बताएका मरासिनीले एकदुईदिनमा काममा फर्कने बताए । अहिले घाँटी दुख्ने लगायतको समस्याका कारण आराम गरिरहेको मरासिनीले बताए ।
आफ्नो सरुवा हुने हल्ला सोच्दै नसोचेको विषय रहेको बताउँदै स्थानीय तहमा काम गर्न सजिलो भने नरहेको उनले बताए । मरासिनीको यो भनाईबाट पनि बाणगंगामा उनलाई काम गर्न सकस रहेको बुझिन्छ । प्रशासनवृत्तमा मरासिनी कुशल प्रशासकको रुपमा चिनिन्छन् ।

यसअघि पनि छुट्टि लिएर काठमाडौँ गएका हाकिमले सरुवाको रमाना लिएर फर्कने गरेका थिए । मरासिनी नगर प्रमुख चक्रपाणी अर्यालको रोजाइकै हाकिम हुन् । नगरमा लामो रिक्ततापछि काठमाडौँ धाएरै मेयर अर्यालले मरासिनीलाई बाणगंगामा ल्याउन सफल भएका थिए । त्यसपछि पनि उनीहरु राम्रैसंग काम गरिरहेका थिए । तर अकस्मात् उनीहरुमा कुरा मिलेन या मरासिनी आफ्नै कारण सरुवा खोजिरहेका छन् त्यो भने अज्ञात छ ।

यस विषयमा एक जना वडा अध्यक्षसंग बुझ्दा हाकिम सा’ब’लाई काम देखाउन मुस्किल रहेको छ । प्रमुख प्रशासकीय अधिकृत मरासिनीले भनेको कुरा उद्धृत गर्दै ती वडा अध्यक्ष भन्छन् ‘आउँदा जुन सोचेर आएको थिएँ त्यो अनुसार रस आएन । त्यति मज्जा आएको छैन पछिल्लो समय भन्नुभएको छ ।’

उनी थप्छन् ‘त्यसैले हुन सक्छ उहाँ हिजो फेरि काठमाडौँ जानुभएको छ । काठमाडौँ गइरहनुभएको छ । सरुवाको लागि हो या अरु थाहा छैन । तर उहाँको सरुवा हुने कुरा थाहा छैन । पछिल्लो समय त्यति खुसी हुनुहुन्न ।’
उनले मरासिनीको काम गराईबाट आफूप्रभावित भएको बताए । कानुनको जानकार र चाँडो निर्णय लिनसक्ने उहाँको क्षमताले काम गर्न सजिलै थियो । सरुवा भए राम्रो सन्देश नजाने उनले बताए ।

यसको कारणबारे ती वडा अध्यक्ष भन्छन् ‘हामी कुनै वडा अध्यक्षबाट नराम्रो भएको छैन । कुनै हाकिमसंग अहिलेसम्म वडाअध्यक्षको मन नमिलेको थाहा छैन । मेयर र उपमेयरसंग खै के मिल्दैन कुन्नि ? अहिलेसम्म ७ ८ कर्मचारी फेरिनु नगरको लागि पटक्कै राम्रो होइन । अब यो कामको पिक आवरमा मरासिनीको सरुवा भएमा धेरै समस्या हुने निश्चित छ ।’

वडा अध्यक्षको यो भनाइले पनि मेयरसंग हाकिमहरुको कुरा मिल्न नसकेको प्रष्ट हुन्छ । नाम नबताउने शर्तमा एकजना भन्छन, “जसले ल्याएका हुन्, उनकै स्वार्थ पुरा हुन नपाएको देखिन्छ । हाकिम सा’ब’ ठिकै हुन् तर उनीमाथि बिभिन्न स्वार्थ समुहको दबाब परेको हो कि ।’

बाणगंगामा ०७४ साल यता ५ बर्षको अवधिमा ८ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । सरुवा हुने प्रशासकीय अधिकृत पनि जनप्रतिनिधिको कारण सरुवा हुन बाध्य बनेको बताउने गरेका छन् । यसअघि प्रशासकिय अधिकृत रहेका कृष्ण सापकोटा, खिमानन्द भुसाल, टेकराज पन्थी, गेहेन्द्र डाँडी लगायतले यहाँ एउटा दबाद दिने स्वार्थ समुह रहेको बताएका थिए । ती समुहमा यहाँ जनप्रतिनिधि पनि परेकाले नतिजा देखाउन गारो हुने उनीहरुकै भनाई हो ।

यस्तै यहाँका केहि पुराना कर्मचारीको कारण पनि समस्या सिर्जना भएको कतिपयको भनाई छ । वाणगंगामा हाकिम सरुवा हुने अरु कारणमा जनप्रतिनिधि र कर्मचारी बीच गुटबन्दी र आन्तरिक द्धन्द्ध, खोलाको ठेक्का पट्टा, नयाँ कर्मचारीलाई पुराना कर्मचारीले नटर्ने प्रवृत्ति हाकिमको आदेश पालना गर्न नखोज्ने आदि रहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको छिटो छिटो सरुवा हुँदा समग्र विकास निर्माको काम नै प्रभावित हुने स्वयम कर्मचारी बताउँछन् । योजना सम्झौता, अनुगमन, मूल्याङ्कन, फरफारत, सुशासन, सेवा प्रवाह, नगरका महत्वपूर्ण निर्णय गर्न, कार्यान्वयन गराउन, कार्यालय ब्यवस्थापन, आर्थिक अनुशासनका काम गर्न पनि समस्या हुने गरेको बताइन्छ ।
यो समस्याबारे कर्मचारी र जनप्रतिनिधिमा फरकफरक भनाइ छ ।

कर्मचारीले जनप्रतिनिधिलाई कारण भन्छन् भने जनप्रतिनिधिले कर्मचारीमाथि दोष थोपर्छन् । त्यहाँका जनप्रतिनिधिले हाकिमहरु आफ्नै रुची र स्वार्थको कारण भाग्ने गरेको बताउँछन् । जनप्रतिनिधि र हाकिमको कुरा नमिल्दा भएको रिक्तताले भने सेवाग्राहीले समस्या भोगिररहेका छन् ।