मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलौराकोट गोल्डकपः आयोजक भन्छ ‘आँटैआँटको उपज’, के भन्छन् दर्शक ?

तिलौराकोट गोल्डकपः आयोजक भन्छ ‘आँटैआँटको उपज’, के भन्छन् दर्शक ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु। बाणगंगाको बुद्ध रंगशालामा जारी ‘प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप’ ले सुरुदेखि नै दर्शकको साथ पाएको छ । नकआउट चरणदेखि अहिलेसम्म ५ खेल सकिए, अहिलेसम्म कुनै पनि खेलमा दर्शकको अभाव भएन । उद्घाटनमै रंगशालामा निर्माण भएको प्याराफिट भरिभराउ थियो ।

प्रदेशकै सर्वाधिक पुरस्कार राशी दावी गरिएको प्रतियोगितामा ए डिभिजनका ४ र मोफसलका ४ गरी ८ टिमले सहभागिता जनाएका थिए । जसमा अब मात्र २ खेल बाँकी छन् । ए डिभिजनका ३ वटै क्लव बाहिरिएका छन् भने विभागिए नेपाल पुलिस क्लवलाई मात्र फाइनलमा देख्न सकिने छ । मोफसलका टिमको दबदबा रहेको गोल्डकपमा त्रिभुवन आर्मी, मछिन्द्र र थ्रीस्टार प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

ए डिभिजनका क्लवको सहभागिता, विदेशी र राष्ट्रिय खेलाडीलाई आफ्नै मैदानमा देख्न पाउनेभएपछि सुरुदेखि नै दर्शकको संख्या कम भएको छैन । विदेशी र चर्चित खेलाडी भेटेपछि उनीहरु थप उत्साहित छन् । कतिपय यस्ता दर्शक छन् जसले सुरुदेखि नै लगातार टिकट काटेर मैदान छिरेका छन् । यस क्षेत्रका खेलका क्रेजीदेखि, ब्यवसायी, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, डाक्टर पनि निरन्तर खेल हेर्न मैदान पुगेको देखिन्छ ।

पहिलोपटक यस खाले प्रतियोगिता आयोजना भएका कारण धेरै दर्शकले टिभी र सामाजिक संजालमा देखेका चर्चित खेलाडीलाई पनि यहि गोल्डकपमा भेट्न पाएकोमा खुसी ब्यक्त गरे ।
नकआउट चरणमा २ सय, सेमिफाइनलमा ३ सयको टिकट र ३० रुपैयाँको सवारी पार्किङमा परेका दर्शकले फाइनलसम्म थप खेलाडी देख्न पाउनेमा आशा ब्यक्त गर्दै टिकट खेर नगएको अपिटाइम्सलाई बताए ।

प्रतियोगितामा अहिलेसम्म ४ । ५ विदेशी खेलाडी मैदान देखिए भने ५ । ६ जना चर्चित राष्ट्रिय खेलाडी पनि बुद्ध रंगशालामा भित्रिए । आयोजकको तर्फबाट कपिलवस्तु ११ ले विदेशी खेलाडी मुसा र ओस्कार, थ्रीस्टारबाट ओलावाले र मछिन्द्रबाट एक जना विदेशी खेलाडी मैदानमा देखिएका थिए । यस्तै राष्ट्रिय चर्चित खेलाडीमा नेपाली फुटवल टिमका पूर्व कप्तान विराज महर्जन, विमल घर्ती मगर, रितेश केसी, अनन्त तामाङ, फागु चौधरीको पनि दर्शकले प्रत्यक्ष रुपमा खेल देखे ।

फुटबलमा निकै चासो राख्ने र निरन्तर खेल हेरिरहेका अमृत घिमिरेले आयोजक कपिलवस्तु फुटवल संघलाई धन्यबाद दिँदै फाइनलसम्म अझै राम्रो हुने बताए । उनले भने ‘केहि राष्ट्रिय खेलाडी आउन सकेनन् ।सहभागि क्लवले प्राथमिकता नदिएकोजस्तो पनि देखिन्छ । तर यसो हुनुमा अहिले मोफसलका खेल पनि जुधेको कारण पनि हो । कम तयारीमा आयोजना भएको तिलौराकोट गोल्डकप समग्रमा राम्रो भएको छ ।’

उनले क्लवको खेलाई भने जुनस्तरको देखिनुपर्ने हो त्यो नदेखिएको बताए । दोश्रो सेमिफाइनलमा अझै राष्ट्रिय खेलाडी देख्न सकिनेमा अमृतजस्तै अरु दर्शक आशावादी छन् ।
समाचार श्रोतका अनुसार सेमिफाइनलको अन्तिम खेलमा सुदुरपश्चिम ११ र हनामी एफसी चितवनले अझै केहि राष्ट्रिय स्ट्राइकरहरु भित्राउन सक्ने जनाइएको छ । यदि यो भएमा दर्शक थप उत्साहित हुनेछन् ।

फाइनलमा प्रवेश गरेको नेपाल पुलिस क्लवले पनि आफ्नो मुख्य टिम नै मैदान उतारेको दावी गरेको छ । पुलिसका टिम कोच सुमन सुवेदी भन्छन् ‘अहिलेको टिम नै यहि हो । यहि टिमले विराट गोल्डकप खेलेर आएको हो । पुलिसको टिम अहिले युवा नयाँ अनुहारले भरिएको थियो ।’

पुलिसमा केहि बर्षअघिसम्म जुमानु राई, भोला सिलवालजस्ता खेलाडी थिए तर अहिले त्यस्ता नाम चलेका खेलाडी नभएका तर प्रतिभावान नयाँ खेलाडी रहेको पुलिसका आधिकारिक ब्यक्ति बताउँछन् । यस प्रतियोगिताको उपाधि आफूहरुले उचाल्ने उनीहरुको भनाई छ ।

फुटवल संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शक्तिसिंह ठकुरीले पनि प्रतियोगिता सम्पन्न गर्न निकै चुनौति रहेको बताए । यो खेल अकस्मात् निकै ठुलो हिम्मतले आयोजना गरेको बताउँदै दर्शकको मायाले सफल भएको दावी गरे ।

आयोजक कपिलवस्तु फुटवल संघले आफूहरुले पनि क्लवलाई शीर्ष खेलाडी उत्रार्न आग्रह गरेको बताएको छ । अध्यक्ष तिलक थापाले फाइनलसम्म दर्शकले थप राष्ट्रिय खेलाडी र उच्च स्तरको खेल देख्न पाउने बताए ।

थापाले आँटको उपज तिलौराकोट गोल्डकप रहेको बताउँदै अर्को संस्करण हरेक हिसाबले उत्कृष्ट बनाउने बताए । उनले भने ‘यो आँटैआँटको गोल्डकप हो । हामीसंग उत्कृष्ट मैदान पनि थिएन । रातारात खेल्न योग्य बनायौँ । आर्थिक श्रोत जुटाउन हम्यहम्य भएको छ । धेरै चुनौतिसंग लडियो तर दर्शकको अपार मायाका कारण हामी उत्साहित छौँ । कमजोरी भएका छन् तर ती सबैबाट पाठ सिकेका छौँ ।’

पहिलापटक यति ठुलो प्रतियोगिता आयोजना गरेकाले केहि कमजोरी रहे पनि दर्शकको साथ र प्रतिक्रियाले खुसी थपेको उनको भनाई छ ।

तर कतिपय दर्शकले भने अझै राष्ट्रिय स्तरका नाम चलेका खेलाडी मैदान उत्रन नसकेकोमा गुनासो गरेका छन् । क्लवहरुले आशा गरे अनुसारका खेलाडी पनि नउतारेको र खेलेका खेलाडीले स्तरीय खेल नदेखाएको भन्दै आलोचना गरेका हुन् । कमिकमजोरी भए पनि यत्तिको खेललाई नराम्रो भन्न नमिल्ने फुटवल क्रेजी कतिपय दर्शक बताउँछन् । यसपटक पाठ सिकेर अर्को पटक ब्यवस्थापनदेखि अन्य कुरामा धेरै सुधार गर्नुपर्ने उनीहरुको भनाई छ ।

प्रतियोगिताको फाइनल खेल चैत्र २४ गते शनिबार हुनेछ । विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ हजारसंगै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख रुपैयाँ पाउने आयोजक कपिलवस्तु फुटवल संघले जनाएको छ ।