मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर श्रेष्ठको समय आन्दोलनः हरेक कार्यक्रम समयमा, ढिलो गर्नेहरुको बङ्क !

मेयर श्रेष्ठको समय आन्दोलनः हरेक कार्यक्रम समयमा, ढिलो गर्नेहरुको बङ्क !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । २०७८ सालको स्थानीय तहको चुनावमा दोश्रोपटक नगरप्रमुख पदमा सानदार जित हासिल गरेका मेयर हुन् ‘केशव श्रेष्ठ’ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको नेतृत्व गरेका मेयर श्रेष्ठले धेरै विकास निर्माणका काम गरिरहेका छन् । जिल्लाका उत्कृष्ट मेयरका रुपमा चिनिएका श्रेष्ठ इमान्दार र जनउत्तदारी देखिन्छन् । मेयर श्रेष्ठ जनताप्रति उत्तरदायी छन् भन्ने कुरा स्थानीय तहमा दोश्रोपटक चुनाव जितेबाट पुष्टि हुन्छ ।

मेयर श्रेष्ठका धेरै विशेषतामध्ये ‘समय आन्दोलन’ पनि एक हो । मेयर श्रेष्ठ समयको निकै ख्याल गर्दछन् । समयको महत्व बुझेर हरेक कामहरु समयमा गरेमा मात्र सफल हुन सकिन्छ भन्ने कुरा मेयर हुनुभन्दा पहिले नै आफूमा ज्ञात रहेको मेयर श्रेष्ठको भनाई छ । मेयर भएपछि जनताका कामहरु धेरै गर्नुपर्ने भएकाले ठिक समयमा पुग्नु, ठिक समयमा नगरका कार्यक्रम सुरु गर्नुलाई आफूले प्राथमिकतामा पारेको मेयर श्रेष्ठ बताउँछन् ।

उनी भन्छन् ‘मेरो कार्यकालमा अधिकांस कार्यक्रमहरु समयमा सुरु गर्ने प्रयास गरेको छु । छिटफुट कार्यक्रमबाहेक हाम्रा कार्यक्रम समयमा नै सुरु हुन्छन् । विशेष कारण विना कार्यक्रम सुरु गर्न ढिलाई हुँदैन ।’

नगर कार्यपालिका वैठकदेखि, नगरसभाहरुसमेत समयमा नै सुरु गर्ने संस्कृतिको सुरुवात गरेको बताउँदै नगरभित्रका कुनै पनि कार्यक्रम समयमा सुरु नगरिए आफू फर्कने गरेको उनले बताए ।

मेयर श्रेष्ठ थप्छन् ‘यो मेरो समय आन्दोलनको प्रयास हो । मेरा मातहतका कार्यक्रम पनि समयमा सुरु गर्दछु र बोलाइएका कार्यक्रममा ठिक समयमा पुग्छु, कहिले काहिँ २ ४ मिनेट तलमाथि हुन सक्छ अन्यथा ती कार्यक्रम बंक हुन्छन् अर्थात् छोडेर हिँड्छु । आयोजक रिसाउला भन्ने मलाई लाग्दैन । अबको विकास भनेको समयमा चल्नु पनि हो ।’
नगरपालिकाका हरेक नागरिकलाई समयको महत्व सिकाउन सके पनि धेरै विकास र प्रगति हुन सक्ने उनको ठम्याई छ ।
नगरपालिकाका कर्मचारी पनि मेयर केशव श्रेष्ठमा समयको महत्वको बुझाई धेरै रहेको बताउँछन् । नगरपालिकाका शाखा अधिकृत केशव ज्ञवालीले भने ‘मेयर ज्यूको समयमा काम गर्ने प्रवृत्तिले हामीले पनि धेरै कुराहरु सिकेका छौँ । समयप्रति मेयर साब निकै सचेत हुनुहुन्छ । धेरै कार्यक्रम बीचैमा छोडेर हिँड्नुभएका धेरै उदाहरण छन् ।’

श्रेष्ठ समयमा आउने नभए छोडेर हिँड्ने गरेका उदाहरणपछि बिभिन्न कार्यक्रम आयोजना गर्ने आयोजकहरु पनि बुद्धभूमिमा अचेल सचेत छन् ।

‘नेपालमा एउटा यस्तो संस्कृति विकास भएको छ कि समयको महत्व नै थाहा छैन । यसमा कोहि संवेदनशिल छैन । हरेक कार्यक्रम निर्धारित समयभन्दा एकदुई घण्टा नै ढिलो हुने गर्दछन्’, मेयर श्रेष्ठ थप्छन् ‘यस समयको महत्व नबुझ्ने बानीले धेरै प्रगतिमा बाधा पुगेको छ । मुलुक विकास गर्न अब सबैले समय आन्दोलन सुरु गर्नुपर्दछ ।’

श्रेष्ठले भनेजस्तै कार्यक्रम सुरु हुने विषयमा मानिसको मस्तिष्क नै यसरी विकास भएको छ कि मानौँ विहान १० बजे कार्यक्रम सुरु भनेपछि १२ बजे पुग्दा ठिक्क होला । १२ बजेतिर जानुपर्ला नभन्दै १२ बजे पुग्दा पनि अझै औपचारिक कार्यक्रम सुरु भएको हुँदैन ।

श्रेष्ठको सुझाव छ ‘अतिथिलाई बोलाइनु नै उनीमाथि गरेको सम्मान हो । कार्यक्रमको मुख्य वक्ता या प्रमुख अतिथि आएन भने पनि आयोजकले कार्यक्रम सुरु गर्नुपर्दछ । उसलाई कुरेरै बस्नु प्रगतिको बाधक र सहभागि दर्शकको अपमान हो । कार्यक्रमका मुख्य ब्यक्ति ढिलो सहभागि हुनु भनेको आयोजकमाथि अपमान हो । उनलाई नकुरी समयमा सुरु गर्दा उनको अपमान भएको मानिदैन । मैले मातहतका कार्यक्रम आयोजकलाई यहि निर्देशन र सुझाव दिने गरेको छु ।