मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका र युरोपका वनमा प्रयोग हुने एयर ब्लोर’ प्रविधि अब कपिलवस्तुमा

अमेरिका र युरोपका वनमा प्रयोग हुने एयर ब्लोर’ प्रविधि अब कपिलवस्तुमा

अपि टाइम्स

तस्बिरः जानु पाण्डे
कपिलवस्तु । डढेलो नियन्त्रण गर्न पहिलो पटक एयर ब्लोर उपकरणको प्रयोग गरिएको छ। डिभिजन वन कार्यालय कपिलवस्तुले पहिलो पटक ब्लोर डढेलो नियन्त्रणमा प्रयोग गरेको हो। कपिलवस्तुको तिलौराकोट र मायादेवी साझेदारी वनमा अत्याधुनिक एयर ब्लोर मेसिनको प्रयोग गरिएको हो।

डिभिजनल वन अधिकृत विजयराज सुवेदीले अमेरिका र युरोपका वनमा ब्लोर प्रयोग गरेको देखिएपछि नमुना ल्याएर परीक्षण गरिएको जानकारी दिए। नमुना परीक्षण प्रभावकारी देखिएपछि कार्यालयले थप ५ थान ब्लोर खरिद गरेर सब डिभिजन वनलाई प्रयोगका लागि हस्तान्तरण गरेको छ।

एक लिटर पेट्रोलमा २० एमएल मोबिल मिसाएर ब्लोर चलाउँदा एक घण्टासम्म काम गर्ने बताइएको छ। ब्लोरको सहायताले पात सफा गरी फायर लाइन बनाउन सकिन्छ। डढेलो लागेपछि नियन्त्रण गर्न प्रयोग हुन्छ। आगोको सानो लप्का भए नजिकै पुगेर र ठुलो लप्का छ भने टाढैबाट ब्लोर चलाएर पात हटाउँदै आगो फैलिनबाट रोक्न सकिने अधिकृत सुवेदीले बताए।

ब्लोर मेसिनबाट आएको हावाको वेगले पातपतिङर उडाएर स्थान परिवर्तन गर्छ। डढेलो लागेको पातलाई एकीकृत गर्दै अन्य पात सँगको सम्पर्क विच्छेद गरी आगो फैलिन नदिने सब डिभिजन वन कार्यालय पिपराका प्रमुख विष्णु लामिछानेले जानकारी दिए।

कार्यालयले वन उपभोक्ता समितिलाई ब्लोर प्रयोग गर्ने विधि सिकाउँदै आएको छ। अभ्यासमा सहभागीले ब्लोर प्रयोग गरी डढेलो नियन्त्रण गर्दा थप सुरक्षित हुने बताएका छन्।