मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ बर्षको उपहारस्वरुप दीपेन्द्रले ६ बलमा ६ छक्का दिएको खेलमा नेपालको जित

नयाँ बर्षको उपहारस्वरुप दीपेन्द्रले ६ बलमा ६ छक्का दिएको खेलमा नेपालको जित

अपि टाइम्स

काठमाडौँ । एसिसी प्रिमियर कपमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी प्रदर्शनमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

समूहमा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले शनिबार ओमानमा भएको खेलमा कतारलाई ३२ रनले पराजित गर्‍यो।

नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले ९ विकेटको क्षतिमा १७८ रन जोड्यो।कतारका लागि कप्तान मोहमद तनविरले ६३ रन जोडे। उनले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। उनी १५औं ओभरमा अभिनास बोहराको बलमा कुशल भुर्तेलबाट क्याच भएका थिए।

बलिङमा नेपालका ललित राजवंशी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको विस्फोटक ब्याटिङमा ७ विकेटको क्षतिमा २१० रन जोड्यो।

नेपालका लागि दीपेन्द्रले अन्तिम ६ बलमा ६ छक्का प्रहार गरेका थिए। उनले कतारका कमरान खानलाई अन्तिम ओभरको सबै ६ बलमा छक्का हिर्काएका हुन्। दीपेन्द्रले नटआउट ६४ रन जोडे। उनले २१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। दिपेन्द्रको यो किर्तिमानीलाई नेपालीले नयाँ बर्षको उपहार मानेका छन् । सामाजिक संजालदेखि विश्व क्रिकेट इतिहासमा उनको अहिले चर्चा भइरहेको छ ।

यसअघि पनि दीपेन्द्रले ६ बलमा ६ छक्का हिर्काए पनि त्यो एकै ओभरमा थिएन। जसका कारण दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी भए।

उनी एकै ओभरमा छ छक्का प्रहार गर्ने तेस्रो अन्तराष्ट्रिय खेलाडी बने। यसरी भारतका युवराज सिंह र वेस्ट इन्डिजका केइरन पोलार्डले पनि एकै ओभरमा छ छक्का प्रहार गरेका थिए।

त्यसअघि आसिफ शेखले ५२ रन र कुशल मल्लले ३५ रन जोडे। नेपालका अरु ब्याटर भने सस्तैमा आउट भए।

बलिङमा कतारका हिमांशु राथोड र मुसावर शाहले ३/३ विकेट लिए। प्रतियोगितको नेपाल साविक विजेता हो। प्रतियोगितामा १० टिम सहभागी छन्। समूह ‘ए’ मा रहेको नेपालसँगै समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्।

कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा कतारलाई हराएको नेपालले अब तेस्रो खेल हङकङसँग वैशाख ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।

प्रतियोगितालाई आइसिसी टी२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।