मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधुवनधाममा थाई विशेषज्ञ डाक्टरद्धारा निशुल्क जाँच, थामिनसक्नु भीँड

मधुवनधाममा थाई विशेषज्ञ डाक्टरद्धारा निशुल्क जाँच, थामिनसक्नु भीँड

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित महावन बौद्ध विहार (मधुवन धाम) मा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । थाइल्याण्ड तथा देवदह मेडिकल कलेज रुपन्देहीका विशेषज्ञ डाक्टरको सहभागितामा निशुल्क स्वास्थ्य जाँच गरिएको हो ।

विहान ९ बजेदेखि सुरु भएको शिविरमा साँझ ६ बजेसम्मै थामि नसक्नु भीँड थियो, ५ सय बढी जनाले स्वास्थ्य जाँच गराई लाभ लिएका थिए ।

थाइल्याण्डका नाक, काट घाँटी रोग विशेषज्ञसहित वरिष्ठ स्वास्थ्य अधिकृतहरु, देवदह मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ अजय अधिकारी, मेडिकल अफिसर विष्णु भुर्तेल, नर्सिङ डाक्टर बर्षा दवाडी लगायतले सर्वसाधारणको मुटु, नाक, कान, घाँटी, हाडजोर्नी लगायतका रोगबारे स्वास्थ्य जाँच गराउँदा सर्वसाधारण खुसी देखिन्थे । शिवरमा मोतिपुर स्वास्थ्य चौकीका चिकित्सकको पनि सहयोग रहेको थियो ।

यस्तै चिकित्सकको परामर्समा थाइल्याण्डका चिकित्सकले गुणस्तरीय औषधि पनि निशुल्क प्रदान गरेका छन् ।
विदेशी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य जाच गराएर महत्वपूर्ण सुझाव सल्लाह पाएको भन्दै सर्वसाधारणले वौद्ध विहारका प्रमुख सुमङ्गलो भन्तेलाई धन्यबाद दिए । विदेशी डाक्टरबाट पहिलोपटक स्वास्थ्य जाच गराउर औषधी पनि पाएको भन्दै विमार ठिक हुने उनीहरुको आशा थियो । थाइल्याण्डका डाक्टरले उतैबाट ल्याएको औषधी वितरण गरेका थिए ।

भन्तेले यस शिविरबाट आफू उत्साहित भएको भन्दै आगामी दिनमा पनि यस्ता शिविर जारी राख्ने बताए । उनले भने ‘सर्वसाधारण निकै खुसी हुनुभएको छ । उहाँहरुले विदेशी डाक्टर र उतैको औषधी रुचाउनु भयो । आजभोलि स्वास्थ्य सचेतना बढेको रहेछ । अन्य मुलुकका डाक्टर पनि झिकाएर बिभिन्न शिविर फेरिफेरि पनि गर्नेछौँ । सबैलाई धेरै धन्यबाद दिन चाहान्छु ।’

सोही दिन नै थाइल्याण्डका वरिष्ठ बौद्ध विद्वान श्री अचान सुजिन बोरीहर्नवानाकेलको नेतृत्वमा आएका ७० बढी बौद्ध, भिक्षु, विद्वान, उपासक र उपासिकाहरुको सहभागितामा अन्तरसंवाद कार्यक्रम पनि सम्पन्न भएको छ ।
अन्तरसंवादमा बौद्ध धर्म, बौद्धशिक्षाबारे छलफल भएको थियो । छलफलमा यस क्षेत्रका बुद्धिजिवी, विद्यार्थी, शिक्षकले सहभागिता जनाएका थिए । सोही अवसरमै विद्यालयलाई ४ थान ल्यापटप पनि वितरण गरिएको भन्तेले बताए । ल्यापटपलाई शिक्षण सिकाइको लागि प्रयोग गर्न उनको आग्रह छ ।

मधुवन धाम गौतम बुद्धले शाक्य तथा कोलिय कुमारहरु, भिक्षुहरु तथा देवताहरुलाई महासमय सुत्र प्रदान गरेको पवित्र ठाउँ हो । यो ठाउँलाई विश्वभरका बौद्धमार्गीले भ्रमण गर्ने ठाउँको रुपमा विकसित गर्ने गरी अहिले काम भइरहेको वनविहारका प्रमुख भन्तेले बताए ।