कपिलवस्तु । मुलुकभरको सात प्रदेश र विदेशमासमेत मोजा निर्यात गर्दै आइरहेको बाणगंगाको एउटा उद्योग स्थानीय सरकारको छायामा परेको छ । भारतको लुधियानास्थित धागो कारखानामा २० वर्ष काम गरेर ल्याएको अनुभव समेटेर बाणगंगामा संचालन गरिएको मोजा उद्योग छायाँमा परेको हो । कहाँसम्म भने प्राकृतिक विपत्ति (बर्षाका कारण) मा चुर्लुम्म डुवेर लाखौँ नोक्सानीमा परे पनि उक्त उद्योगलाई स्थानीय बाणगंगा नगरपालिका र अरु सरकारबाट थोरै पनि राहत उपलब्ध हुन नसकेको अहिलेसम्मको स्थिति छ ।
वाणगंगा नगरपालिका वडा नम्बर ४ दरखास्तका ५३ वर्षे एकराज अधिकारी र उनका भाइ खेमराज अधिकारीले आजभन्दा ७ बर्ष पहिले दरखास्तमै एउटा मोजा उद्योग खोले । विदेशको सिप प्रयोग गरेर स्वदेशमा केहि गरौँ भन्ने उद्धेश्य अनुसार उनीहरुले बीएचयू (बराह होजियारी उद्योग) ब्रान्डमा मोजाहरु उत्पादन गर्छन् । सुरुमा दुई करोड ५० लाख लागतमा स्थापना भएको उद्योगमा अहिले लागत पनि बढेको छ । एकराजका अनुसार अहिले उद्योगमा साढे ३ करोडसम्म लगानी भएको छ ।
सुरुमा तीनवटा मेसिनबाट सुरु भएको उद्योगमा अहिले विश्वमा प्रचलित अध्याधुनिकस्तरका १६ वटा मेसिन छन् । चीनबाट अत्याधुनिक निटिङ सक्स मेसिन आयात गरेर सुरु गरिएको उद्योगमा अहिलेको सबैभन्दा चलेको कम्प्युटराइज्ड मेसिनले मोजा बनाउँछ ।
यी मेसिनबाट महिनाको ३ हजार ५ सय दर्जन मोजा उत्पादन हुन्छ । शिशु, सानादेखि ठूला, सेना, प्रहरी, विद्यार्थी र फुटबल खेलाडीले लगाउने बनाउँछन् । त्यस्तै बालिका र युवतीले लगाउने स्ल्याक्स (लामो मोजा) ट्र्याकिङ र स्पोटर््स मोजा पनि त्यहाँ उत्पादन हुन्छ । उद्योगले ५२ देखि ५६ किसिमका मोजा उत्पादन गरेको छ । मेसिनले लामो मोजा एक मिनेटमा एक जोडा सिउँछ भने सानो मोजा ५ मिनेटमा एक जोर सिउँछ ।
विश्वमा प्रचलित नाइक, एडिडास कम्पनीसंग प्रतिस्पर्धा गर्नेगरी अधिकारी दाजुभाइले बिएचयु ब्राण्डमा मोजाहरु उत्पादन गर्दछन् । उद्योगका प्रमुख एकराज भन्छन् ‘गुणस्तरमा हामी विश्वका कुनै पनि कम्पनिभन्दा कम छैनौँ । तर यहाँ बुझाउन निकै समस्या छ । कतिपय ग्राहक र फर्मले कुरा बुझिहाल्छन् भने कतिपयलाई बुझाउन गारो छ । राम्रो छ भन्दा पनि ए यो त नेपालको नयाँ कम्पनी रहेछ भनेर पहिल्यै इग्नोर गर्दछन् ।’
उनले थपे ‘यहि कुरा बुझाउन हामी अहिले मुलुकका सातै प्रदेशमा मोजा निर्यार गरिरहेका छौँ । थाइल्याण्ड, युके, मलेसियाजस्ता विदेशी बजारमा पनि हाम्रो मोजाको माग छ । माग बढ्यो भने अझ बढाउन सकिने क्षमता मेसिनको छ । तर कोरोनापछि बजारमा टिक्नै समस्या छ । अहिले हामी संकटमा छौँ जुधिरहेका छौँ ।’
अधिकारी दाजुभाइले मोजा उद्योग चलाएर परिवारका ८ जनालाई रोजगारी दिएका छन् । एकराज आफू मेसिन हेर्छन् । भाइ खेमलाल मार्केटिङ र अर्का भाइ मोजा प्याकिङ गर्छन् । आमा पनि तलवमै त्यहिँ रोजगारीमा छिन् । परिवारका ४ छोराछोरी, छरछिमेकका केहि र अन्य थप १८ जनाले त्यहाँ रोजगारी गर्दछन् ।
कोरोना संक्रमणअघि २४ घण्टा उद्योग चल्ने राम्रो बजार रहेको भाइ खेमराजले बताए । खेमराज भन्छन् ‘अहिले १२ घण्टा एक सिफ्ट मात्रै चल्छ । सुरुमा ३ र ४ जना मेसिन चलाउने भारतीय कामदार थिए । अहिले सबै स्थानीय जनशक्ति तयार भएका छन् । मोजाको बजार ४० बढी जिल्लामा छ ।’
स्थानीय बजारमा भने आफ्नै गाडीबाट मोजा पुर्याउने गरेको उनले बताए । मुलकका सातै प्रदेश, डेनमार्कमा पनि मोजा निर्यात गर्न गरेका उनीहरुल दुबई, कतार र साउदी पनि पठाएको दाजु एकराजको भनाइ छ ।
प्रतिस्पर्धात्मक बजार भए पनि गुणस्तरीय उत्पादन र कसिलो सम्पर्क समन्वयले व्यापार राम्रै रहेको एकराजले जनाए । मुलुकभर रहेका मेसिन पूर्ण क्षमतामा चलाउन सके मोजा उत्पादनमा मुलुक आत्मनिर्भर हुने उनले बताए । बर्सेनि दुई करोड आसपास कारोबार हुने गरेको एकराजको भनाइ छ । डेढ करोड ऋणको मासिक ब्याज भुक्तानी गर्नुपर्ने र सबै खर्च कटाएर वर्षमा २०र२२ लाख बचत भइरहेको एकराजले जनाए ।
भरतीय खुल्ला बजारको चपेटामा परेका उनीहरुले स्थानीय सरकारको साथ पाए अझै गर्न सक्ने बताउँछन् । उनीहरुको चाहना छ मुलुकमै नमुनात्मक ढंगबाट काम गर्ने, कपिलवस्त’ र बाणगंगाका सयौँलाई रोजगारी दिने र मोजामा मुलुलाई आत्मनिर्भर बनाउने तर सरकारको साथ नपाउँदा त्यो आफ्नो इच्छा त्यसै मर्ने हो कि भन्ने डरमा एकराज दाजुभाई छन् । नगरपालिकाले जग्गा ब्यवस्थापन गरिदिने र राहत दिने हो भने २४ घण्टा मेसिन चलाएर अझ सयौँलाई रोजगारी दिने एकराजको योजना छ तर आजभन्दा ३ बर्षपहिले बर्षासंगै डुवान हुँदा नगरबाट एक रुपैयाँ पनि राहत नपाएपछि नगरले जग्गा देला, सहयोग गर्ला भन्ने आश उनमा छैन । तथापि आफूहरुलाई प्रोत्साहन गर्न एकराजको माग छ ।
स्थानीय सरकारले मात्र पनि प्रोत्साहन गर्ने र स्वदेशी मोजा प्रयोग गरौँ भन्ने चाहना राख्ने हो भने पनि आफूहरुको मोजा विक्रिमा समस्या नहुने एकराजको भनाई छ । तर यहाँ बाहिरबाट आएका मजा प्रयोग गर्ने र स्वदेशी उत्पादनलाई संरक्षण गर्ने स्थानीय सरकरको नीति नहुँदा आफूहरु छायामा परेको उनी बताउँछन् । एकराज भन्छन् ‘अहिले पनि करोड बराबरका मोजा स्टक छन् । भारतीय खुला सिमानाको मारमा हामी पनि पर्यौँ । यहाँका स्कुल र संघसंस्थामा यहाँको मोजा प्रयोग गरिदिने खालको नियम स्थानयि सरकारले जारी गरिदिने हो भने पनि विक्रि गर्न अलिक सजिलो हुन्छ ।’ बिभिन्न बोर्डिङले अरु कम्पनीका कमशल मोजा विक्रि गरिरहेका हुन्छन् तर हाम्रो मोजामा विश्वास छैन । स्कुलस्कुलमा लगेर बुझउँदा पनि बुझाउन कोहिश तयार हुन्न,यसकारण दुखि छौँ एकराजले भने ।
मोजालाई चाहिने ९० प्रतिशत कच्चापदार्थ भारत र चीनबाट आयात हुने गरेको छ । लेबल (ट्याग) बाहेक प्याकिङमा प्रयोग हुने पानी कागज, ह्यांगर र क्लिप सबै भारतबाट आउँछ । यी समानको भन्सार ६० प्रतिशत तिर्नुपर्छ । ‘तयारी मोजाको आयात हुँदा ३० प्रतिशत भन्सार लाग्छ,’ उनले भने, ‘प्याकिङ मेटरियलमा ६० प्रतिशत भन्सार छ । सरकारको नीति व्यावहारिक नहुँदा समस्या परेको छ ।’
यसरी तयार हुन्छ मोजा
पसलको अर्डरअनुसार जस्तोसुकै डिजाइनमा पनि मोजा उत्पादन गरेर दिने क्षमता भएको सञ्चालक खेमलालले बताए । ‘डिजाइन देखाइदिए हुन्छ,’ उनले भने, ‘हुबहु बनाएर दिन्छौं । त्यसबाहेक पनि अहिले चलेका डिजाइन इन्टरनेटमा हेरेर विश्व बजारमा पाइने डिजाइनमा उत्पादन गरिरहेका छौं ।’ ग्राहकको रोजाइमा ध्यान दिएर सस्तोदेखि महँगा मोजा उत्पादन गरिरहेको सञ्चालक एकराजले बताए ।
सामान्यतया कटन ६० र पोलिस्टर ४० प्रतिशत धागो प्रयोग गरेर बनाइन्छ । मोजा उत्पादन भएपछि त्यसलाई नाइलनले सिलाइन्छ । सस्तोको माग भयो भने पोलिस्टर बढी प्रयोग गरिन्छ । लेग्रा स्पेन्डेक्स प्रयोग गरेर मोजा बनाउँदा खुट्टालाई च्याप्प समात्छ, स्ट्रेन्थ आउँछ । सुरुमा नसिलाएको मोजाको कपडा मेसिनले तयार गरेर फाल्छ । त्यसपछि नाइलनले सिलाएर मोजाको रूप दिइन्छ । त्यसपछि मोजालाई आइरन गरिन्छ । त्यसपछि ह्याङ्गर र क्लिप लगाएर ट्याग लगाइन्छ । अनि प्याकिङ गरेर बजार पठाउन तयार गरिन्छ ।
प्रतिक्रिया