मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तातो हावाले जनजीवन निकै कष्टकर, ४३ डिग्रीसम्म कपिलवस्तुको तापक्रम

तातो हावाले जनजीवन निकै कष्टकर, ४३ डिग्रीसम्म कपिलवस्तुको तापक्रम

अपि टाइम्स

कपिलवस्तु । विगत केही दिनदेखि बढ्दै गइरहेको चर्को गर्मी र दिउँसोको समयमा चल्ने सुख्खा तातो हावाको लहरका कारण कपिलवस्तुको जनजीवन प्रभावित बनेको छ । चर्को गर्मी र तातो हावाको लहरका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ ।

दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरहरूलाई समस्या परेको हो । दिउँसोको तातो हावाका कारण मानिसहरू घरबाट बाहिर निस्किने गरेका छैनन् । अत्यावश्यक काममा हिँड्ने मानिसबाहेक सडकमा भिडभाड देखिँदैन । दिउँसोमा यहाँका सडक सुनसान जस्तो देखिन्छन् ।

दिउँसोको समयमा सुनसान जस्तो देखिने सदरमुकाम तौलिहवा सहित जीतपुर, गोरुसिंगे, चन्द्रौटा, कृष्णनगर लगायतका बजारमा साँझको समयमा भने भिडभाड हुने गरेको छ । साँझको समयमा किनमेल गर्न निस्कने तथा विभिन्न चोक तथा पसलहरूमा काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेय पदार्थहरू सेवन गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य देखिन्छ ।

विगत केही दिनदेखि बढिरहेको तापक्रम मंगलबार तौलिहवाको अधिकतम ४३ डिग्री सेल्सियस आसपास छ । सोमबार तौलिहवाको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस मापन गरिएको थियो । शनिबार तौलिहवाको अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो भने शनिबार तौलिहवाको तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो ।

दिउँसो १२ बजेपछि बेलुका लगभग ५ बजेसम्मको समयमा तौलिहवामा अत्यधिक चर्को गर्मी हुने र सुख्खा तातो हावाको लहर चल्ने गरेको छ । चर्को गर्मी र सुख्खा तातो हावाको लहरका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा आगामी केही दिनसम्म अझै तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुँदा सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदी हुनसक्ने देखिएकाले सो बाट बच्न विभिन्न उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

तातो हावा तथा तातो लहरबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, पटक(पटक पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ।