मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शर्माको समिक्षाः चुनावी नतिजामा सफल अध्यक्ष, गुट सिर्जना र अडानमा नटेकिँदा क्षय !

शर्माको समिक्षाः चुनावी नतिजामा सफल अध्यक्ष, गुट सिर्जना र अडानमा नटेकिँदा क्षय !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुको १० औँ अधिवेशन आज र भोलि शिवराज नगरपालिकाको चन्द्रौटामा हुँदैछ । नवौँ अधिवेशनमा पार्टीका बाबुराम खनालमाथि ५२ मतको जित हासिल गरेका पार्टी अध्यक्ष डम्बर शर्मा फेरि पनि अध्यक्षको लाइनमा छन् । पार्टीमा अझै एक कार्यकाल बसेर गर्न बाँकी रहेका काम पुरा गराउने इच्छा अनुसार उनले अहिले अध्यक्षको उम्मेदवारी दिने बताइरहेका छन् ।

पार्टीका कतिपयले शर्मालाई सफल अध्यक्ष भन्ने गरेका छन् भने कतिपयले उनको कार्यकालमा पार्टीले खासै ठुलो उपलब्धि हासिल नगरेको बताउँदै आएका छन् । यद्यपी अब अध्यक्षमा उठ्दै गर्दा शर्माले आफ्नो कार्यकालमा के कस्तो उपलब्धि हासिल गरे, केकस्तो सफलता पाए ? उनका असफलताका सुचक र कमजोरी केके रहे यसबारे अहिले पार्टीमा समिक्षा भइरहेको छ । ब्यक्तिगत केहि कमजोरीले पार्टीको आन्तरिक जीवन र संगठनमा कमजोर देखिए पनि शर्मा नेताकार्यकर्ताको विश्लेषणमा सफल अध्यक्ष मानिन्छन् ।

यसकारण सफल

करिब ३ दशक पार्टीमा काम गरेका शर्मा चुनाव केन्द्रित समिक्षामा सफल अध्यक्षको रुपमा दर्ज भएका छन् । कुनै पनि पाटीमा सफलताको मापन विन्दु भनेकै चुनावको हार र जित नै हो । यस हिसाबमा ७८ को प्रदेश र संघको चुनाव तथा ७९ वैशाखको स्थानीय तहको चुनावमा शर्माले कपिलवस्तुमा पार्टीलाई जिताउन सफल भए ।

प्रतिनिधि सभा निर्वाचनका ३ क्षेत्रमध्ये १ र ३ मा बलराम अधिकारी र मंगल गुप्तालाई जिताए भने ६ वटा प्रदेश सभा सदस्यको निर्वाचनमा ४ स्थानमा जित हासिल गराउन शर्मा सफल भए । केहि ठाउँको पराजय बाहेक अधिकांस ठाउँमा जित्नुमा अध्यक्षको भूमिका रहेको नेता कार्यकताको भनाई छ ।

गठबन्धनका विरुद्धमा शानदार ढंगबाट एमालेका उम्मेदवार जिताएर शर्माले झण्डै क्लिनस्विप नै गरेकाले उनको कार्यकाललाई सफल भएको मान्नुपर्ने नेताहरु बताउँछन् ।

यस्तै स्थानीय तहका निर्वाचनमा पनि शर्माको भूमिकामै कठिन पालिकामा पनि पार्टीका उम्मेदवारले जित हासिल गरे । कठिन मानिएको बाणगंगा नगरपालिकामा काँग्रेस, माओवादीको गठबन्धनलाई हराउँदै चक्रपाणी अर्याल विजयी भए भने विजयनगर गाउँपालिकामा पनि गोपाल थापाले सबै पदमा जित हासिल गरे ।

केहि पालिका गुमाए पनि कपिलवस्तुमा एमालेले लालकिल्ला गाढेको छ भन्दा अत्युक्ति नहोला । बिभिन्न पालिकामा प्रमुख–उपप्रमुख, वडा अध्यक्ष, प्रतिनिधि र प्रदेश सभा सदस्य आफ्नो बनाएर एमालेले कपिलवस्तुमा आफ्नो पकड बनाउन सफल भयो । यसमा देन पार्टी अध्यक्षकै भएको बताइन्छ ।

यसकारण प्रश्न ?

पार्टीलाई चुनावमा जिताए पनि पार्टीको आन्तरिक जीवनलाई भने जुन उचाईमा पुर्याउन सकिन्थ्यो त्यो उचाईमा लैजान भने शर्मा असफल सिद्ध रहे । पार्टीभित्रको त्यहि गुटका कारण पार्टीले गत चुनावमा जित्ने स्थानमा पनि हार खाएको थियो । क्षेत्र नम्बर २ मा पार्टीकै कमजोरीका कारण क्षेत्रनम्बर २ गुमाएको पार्टीभित्र छलफल चलेको थियो ।

२ नम्बर क्षेत्र जितेको भए संघीय निर्वाचनमा पार्टीले क्लिनस्विप गर्न सक्ने अवस्था थियो । यता कपिलवस्तु नगरपालिकामा टिकट वितरणमा केहि ब्यक्ति हावी हुँदा क्रुटी हुन पुग्दा उपमेयर पदमा पार्टीले हार्यो । केहि प्रदेश सदस्य पनि पार्टीभित्र नेताको जुँगे लडाई र अस्तित्व स्वीकार गर्न नसक्ने कमजोरीका कारण गुमाएको बताइन्छ ।

पार्टीको पकड भइकन पनि शिवराज नगरपालिमा एमालेले नगरप्रमुख पद गुमायो । यसमा पनि पार्टीको कमजोरी भएको नेताहरु बताउँछन् । चुनाव जितेको जस खाएजस्तै हारेका ठाउँको कमजोरी पनि शर्माले स्वीकार गनुपर्ने नेता कार्यकर्ताको भनाई छ ।
लुम्बिनी प्रदेश अधिवेशनमा पनि कपिलवस्तुबाट स्पष्ट रुपमा दुई प्यानल देखिएबाट एमालेभित्र गुटैगुटको जालो रहेछ भन्ने पुष्टि हुन्छ ।
एकजना नेता भन्छन् ‘चुनावमा जिताउनु मात्र पार्टीको अध्यक्षको सफलता हुँदैन । चुनाव जितको विषयलाई लिएर म सफल भएँ भन्नु मूर्खता हुन्छ । चुनाव जितमा बिभिन्न फ्याक्टर हुन्छन् । एक्लै कसैले पनि चुनाव जिताउन सक्दैन । शर्मा अध्यक्ष भएर जस जानु स्वभाविक होला तर चुनाव जित्ने कुरा सामुहिकतासंग जोडिन्छ ।’

उनी थप्छन्, ‘अध्यक्ष सफल त्यतिखेर मानिन्छन् जतिबेला पार्टीको आन्तरिक जीवन पनि मजबुत बनेको हुन्छ । कपिलवस्तुमा असल कार्यकर्ता भएकाले पार्टी मजबुत भएको हो । नेताहरुको आपसमा ठुलो लडाई छ । एकले अर्काको अस्तित्व स्विकार गर्न सक्दैनन् । नढाँटी भनौँ पार्टीमा एउटा ठुलो गुट छ । यसलाई मिलाउन नसक्नु पार्टी अध्यक्षको अक्षमता हो । उहाँलाई सफल अध्यक्ष भन्न मिल्दैन ।’

ती नेताले भनेजस्तै शर्माको कार्यकालमा पार्टीभित्र गुटबन्दी कम भन्दा पनि ज्यादा मौलाएको देखिन्छ । डम्बर शर्मा, बलराम अधिकारी, विमला घिमिरेको एउटा गुट, विष्णु पन्थी पक्षको एउटा गुट र माओवादीबाट एमालेमा आएर प्रदेश समानुपातिक सांसद बनेका गिरीधारीलाल न्यौपानेको एउटा गुट प्रष्ट देखिन्छ ।

कुनै समय झविलाल पोख्रेल र डम्बर शर्मा एउटै कित्तामा थिए । तर अहिले अध्यक्ष पदको लागि बाबुराम खनाललाई लिएर झविलाल पोख्रेल हिँडेपछि त्यो देखावटी थियो पार्टीको आन्तरिक जीवनमा शर्मा र पोख्रेल स्वस्थ रुपमा एकैे ठाउँ थिएनन् पुष्टि भएको छ ।

यस्तै शर्माको कार्यकालमा जनवर्गिय संगठनहरु जस्तै राष्ट्रिय युवासंघ, विद्यार्थीको अखिल पनि चलायमान हुन सकेन । यस्तै अरु जनवर्गीय संगठनको अवस्था बेहाल छ ।

पार्टीका नेता तथा सांसद विष्णु पन्थीले पार्टीमा गुट हुने कुरा राम्रो भएको बताउँदै यसले पार्टीलाई झन् बलियो बनाउने बताए । शर्मा समग्रमा सफल अध्यक्ष भएको बताउँदै गुटकै कारण असफल भन्न नहुने उनको भनाई छ ।

पार्टीका एक जना युवा नेताले शर्माको अर्को कमजोरी पनि औँल्याए । उनले भने, ‘पार्टी अध्यक्ष समग्रमा ठिकै हुनुहुन्छ तर उहाँमा हलुङ्गोपना छ । सिमित वर्गसंग रमाउनु हुन्छ र तिनै वर्ग आफ्ना हुन्छन् । कुनै कुरामा अडान लिन सक्नुहुन्न । अडान लिन नसक्ने उहाँको सबैभन्दा ठुलो कमजोरी हो ।’

कतिपय स्थितिमा अडानमा नटेकिँदा उहाँ आफैले क्षय ब्यहोर्नु परेकाले आगामी दिनमा यस्तो कमजोरी सुधार्न शर्मालाई नेताकार्यकर्ताको सुझाव छ । जहाँ गयो, त्यहाँ गएर आश्वासन बाँड्ने शर्माको प्रवृत्तिले पनि कतिपय ठाउँमा समस्या भएको ती नेता बताउँछन् ।

के भन्छन् शर्मा ?

यता शर्माले इतिहासकै सफल अध्यक्ष भएको दावी गर्दछन् । पार्टीलाई सबै चुनावमा जिताउनु, राष्ट्रिय सभा उपाध्यक्ष पाउने गराउनु, संघ र प्रदेशमा अहिलेसम्मकै धेरै मन्त्री पाउनु, उत्तरदेखि दक्षिणसम्म संगठन विस्तार हुनु, केन्द्रमा कपिलवस्तु पहिलो प्राथमिकतामा पर्नु इतिहासमै स्वर्णिम रहेको उनको जिकिर छ । तथापि पार्टीको आन्तरिक जीवन भनेजस्तो गराउन नसकेको स्विकार गर्दै अहिले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँछन् ।

उनले अपिटाइमससंग भनेका छन् ‘मेरो कार्यकाल इतिहासमा स्वर्णिम समय बन्यो । राजनैतिक रुपमा कपिलवस्तुमा प्रदेशमै पहिलो भयो । स्थानीय, केन्द्र र प्रदेश सानदार तवरले जित्यौँ । केन्द्रिय पहुँच निर्माण भयो । लुम्बिनी प्रदेशबाट मन्त्री, राष्ट्रिय सभा उपाध्यक्ष पायौँ, प्रदेशमा स्वास्थ्य र अहिले वन बातावरण मन्त्री पाएका छौँ । बिभिन्न समितिउपसमिति पाएका छौँ । केन्द्रिय पहुँच राम्रो छ । जिल्लाको समग्र विकास अघि बढेको छ । हाइवेमा केन्द्रित थियो अहिले दक्षिणमा पनि संगठन बनाएका छौँ । ब्यापक जनसमर्थन जुटाएका छौँ । कतिपय अपेक्षा पुरा भएन तथापि इतिहासकै स्वर्णिम युग बनाएको छु मेरो कार्यकालमा । उनले थपे अलौकिक त भन्दिन । यसको मुल्यांकन नेता कार्यकर्ताले गरेका छन् ।’

अबको आफ्नो उम्मेदवारी संगठन निर्माणमा रहेको भन्दै बिभिन्न चुनाव लगायतले पार्टीको आन्तरिक जीवनमा ध्यान दिन नसकेको शर्माले स्वीकार गरे । उनले थपे, ‘अब अध्यक्ष भएर मेरो ख काम भनेको आन्तरिक जीवन सुदृढ बनाउने, नयाँ पुराना मिलाउने, अन्तरविोध कम गर्ने नै हुन्छ । पार्टीमा अलिअलि विचार फरकफरक छन् यिनलाई मिलाउनुपर्दछ ।’

उनले सहमति भए सबैले जित्ने बताउँदै चुनाव भए अरु दुई जनासंग मित्रवत प्रतिस्पर्धा हुने बताए । आफू अध्यक्ष भएको खण्डमा केन्द्रदेखि स्थानीयसम्म कपिलवस्तुलाई एमालेमय बनाउने शर्माको दावी छ ।

१० पूर्णाङ्कमा आफूलाई कति नम्बर दिनुहुन्छ भन्ने प्रश्नको उत्तरमा उनले भने ‘आफैले आफैलाई अंक दिन जायज हुन्न, यत्ति हो मेरो पालामा पार्टीले स्वर्णिम युग पायो अंक दिने, भन्नुपर्ने नेताकार्यकर्ताको काम हो । मेरो बारे उहाँहरुलाई थाहा छ ।’