मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले कपिलवस्तुका आकांक्षीमाथि ओलीको ब्यङ्ग्यः सबैलाई ‘मंगलम भगवान् विष्णु’

एमाले कपिलवस्तुका आकांक्षीमाथि ओलीको ब्यङ्ग्यः सबैलाई ‘मंगलम भगवान् विष्णु’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व गर्न सुझाव दिएका छन् । प्रजातन्त्रको प्रचलित सर्वोत्तम विधि सहमति र समझदारी भएकोले अबको नेतृत्व सकेसम्म सहमतिबाट गर्न उनले नेताहरुलाई सुझाएका हुन् । चुनाव पनि प्रजातन्त्रको उत्तम विधि भए पनि त्योभन्दा उत्तम प्रचलित विधि समझदारी र सहमति भएको ओलीको भनाई छ ।

ओलीले भने, ‘हडबडी गर्ने होइन आत्तिने होइन, जहाज छुट्यो भन्ने होइन, फेरि आउँछ । म विहान चडेको जहाज फेरि सक्यो होला । त्यस्तै हो, त्यसो भएर सकेसम्म एकतावद्ध हुनुस्, छाड्दा र त्याग्दा प्रतिष्ठा घट्दैन । अर्कोपटक अवसर आउँछ । मै खाऔँ मैलाऔँ नगरौँ । यो नीति एमालेको होइन अरुको हो ।’ उनले एक ब्यक्ति दुई कार्यकालभन्दा बढी उठ्न नपाउने नियम बनाएकाले सबैले पालो पाउने बताए ।

अहिले अवसर नपाउनेले भोलि संघ, प्रदेश स्थानीय तहको सरकार इत्यादिमा अवसर पाउने बताउँदै के लिएँ भन्दा पनि के दिएँ भनेर सोच्न नेताहरुलाई उनको आग्रह छ ।
पदलाई केन्द्रमा राखेर काम नगर्नुस, आफ्नो कर्तव्यलाई केन्द्रमा राख्नुहोस्, पद नपाउदा पनि मान्छे महान हुने भन्दै उनले महात्मा गान्धीको उदाहरण प्रस्तुत गरे । पद नलिएर पनि महात्मागान्धी असाधारण रहेको उनले बताए । ओलीले सहमति नभए लामो समय लगाउन नहुने भन्दै तुरुन्तै चुनावको बाक्सा थाप्नु पर्ने बताए । मंचका नेतालाई साथीहरु सम्बोधन गर्दै ओलीले जोशिँदै भने, ‘यदि त्यो सहमति भएन भनेसहमतिको नाममा १० दिन नराख्नुस । भोलि बाक्सा थाप्नुहोस् । मिलाउने यो त्यो भनेर समय नराख्नुहोस् । ढिलो नगर्नुस् । प्रतिनिधि आएका छन् । मत खसाल्न आएका छन् । यता बस्ने नेताले हस्तक्षेप गर्ने, कानकानमा कुरा खेलाउने नगर्नुस् । प्रतिनिधिले पनि भन्नुस् सके सहमति गर्नुहोस् नसके कहाँ भोट हाल्ने हामीलाई थाहा छ भन्नुहोस् ।’

उनले माथिबाट कसैमाथि पनि समर्थन नभएको बताए । ठट्यौली पारामा उनले भने, ‘माथिबाट उठ्न चाहेका सबैलाई ‘मंगलम् भगवान विष्णु, मंगलम गरुडध्वजः ….।’ उनले यो भनिरहँदा नेताकार्यकर्ता गलल हाँसेका थिए ।जसले भोट ल्याउँछ उसले जितोस् । कम ल्याउनेले स्विकारोस । हिहिप हुर्रे भनेर ज्यादा फुर्ति नछोडोस् । हार्ने पनि निरास नहोओस् चुनावमा उठ्दै गर्दा जस्तो जोश आएको थियो त्यस्तै जोश फेरि पनि देखाओस् ।’