मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शंकाको घेरामा सिद्धार्थ बजार विकास समितिः न साधारण सभा, न अधिवेशन !

शंकाको घेरामा सिद्धार्थ बजार विकास समितिः न साधारण सभा, न अधिवेशन !

करिब एक दशकसम्म सार्वजनिक छैन हिसाबकिताब

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
काठमाडौँ । कपिलवस्तुको वाणगंगानगरपालिकास्थित सिद्धार्थ बजार विकास समितिमा सक्रिय सदस्यमध्येका चार नम्बर निवासी राम पौडेल (कपिल देव) ले आइतबार फेसबुकमा लेखे ‘म सिद्धार्थ बजार विकास समितिको सबै जिम्मेवारीबाट बाहिर ।’ अर्थात् उनले अब समितिमा नरहेको जनाउ दिए । यसबारे के भएको हो भनेर सोध्दा संस्था सक्रिय र गतिविधिहिन भएपछि छोडेको पौडेलले अपि टाइम्सलाई बताए ।

उसो त राम प्रसाद पौडेल त प्रसंगवस जोडिएका मात्र हुन् यस संस्थाको काम कारबाहीको विषयलाई लिएर केहि बर्षदेखि त्यहाँका सरोकारवालाले पनि प्रश्न उठाउँदै आइरहेका छन् । समितिका सदस्यले एकाएक छोड्न थालेपछि संस्थामा चलखेल भएको हो कि भनेर शंका गर्ने ठाउँ बनेको छ ।

नयाँ नेतृत्व आएको करिब एक दशक भयो, सिद्धार्थ बजार विकास समितिले न साधारण सभा गरेको छ न अधिवेशन नै । स्थानीय समाजसेवी तथा राजनीतिज्ञ विष्णु थापा अध्यक्ष भएपछि पछिल्लो दश बर्षसम्म संस्थाको गतिविधि के भइरहेको छ स्वयम् समितिका सदस्यलाई पनि केहि थाहा छैन ।

भएको हिसाबकिताब पनि पारदर्शी ढंगले सार्वजनिक नभएको धेरै भयो । त्यसपछि संस्थामा आर्थिक चलखेलको आसंका छ । संस्थामा के भएको हो भनेर ? पछिल्लो समय सरोकारवाला र सर्वसाधारणले पनि चासो दिन थालेको छन् ।

नामीको बदनामी

संस्थामा अध्यक्ष थापासंगै वरिष्ठ उपाध्यक्षमा रामजि सेन, महासचिवमा अमित पौडेल र कोषाध्यक्षमा झलक मल्ल ठकुरी छन् । अन्य पदाधिकारी र सदस्य पनि त्यस क्षेत्रका गिनेचुने ब्यक्ति नै हुन् ।

ती सबै ब्यक्ति त्यस क्षेत्रमा शुशासन सिकाउने पात्र हुन् भने बिभिन्न संस्थामा रहेर सार्वजनिक पद धारण गरेका छन् ।
अध्यक्ष थापा नेपाली काँग्रेसका वाणगंगा नगर सभापति हुन् भने वरिष्ठ उपाध्यक्ष सेन कपिलवस्तु सामुदायिक अस्पतालका निवर्तमान अध्यक्ष हुन् । महासचिव अमित पौडेल नेकपा एमालेका सक्रिय नेता हुन् भने उनी मनकामना सामुदायिक वनबाट भर्खर निवर्तमान भएका हुन् ।

कोषाध्यक्ष झलक मल्ल ठकुरी वि सं २०७४ सालको स्थानीय तहको चुनावमा वडा नम्बर १ बाट वडा सदस्यको चुनाव जितेका ब्यक्ति हुन् ।
यस्ता सामाजिक ब्यक्तिले नेतृत्व गरेको संस्थाको ८ बर्षसम्म साधारण सभा र अधिवेशन नहुनु पक्कै पनि दुखद् हो । यसले संस्थागत रुपमा प्रश्न त उठाएको छ नै समाजमा पनि नकारात्मक सन्देश छरेको छ भने ती ब्यक्तिमाथि पनि नैतिक प्रश्न खडा भएको छ ।

कसले जन्माए, अनि के गरे ?

वि सं २०५२ सालमा स्वर्गिय खड्ग बहादुर कार्कीले संस्था जन्माए । दोश्रो अध्यक्ष राम बहादुर रास्कोटीले मलजल दिए र तेश्रो अध्यक्ष स्वर्गिय शेर बहादुर केसीले संस्थालाई फलाए, फुलाए र उर्वर बनाए । संस्थाको समृद्धि र विकास जे जति भयो स्वर्गीय केसीकै पाला (२०५९–२०६९) सम्म भयो ।

बजार विकास समिति नगरपालिका आउनुपूर्व नगरपालिकाकै प्रकृतिको विकास निर्माण गर्ने संस्थाको रुपमा थियो । मुख्यगरी बजारको विकाससंगै फोहर ब्यवस्थापनमा यस संस्थाको ठुलो भूमिका छ ।

यसको इतिहास हेर्ने हो भने त यही संस्थाले नै कपिलवस्तु सामुदायिक अस्पताललाई ९ कट्टठा जग्गा नै दिन सफल भएको थियो । स्वर्गिय केसीकै पालामा यो भएको थियो । क्रमिक रुपमा संस्थाले धेरै विकास निर्माणमा सक्रियता देखाउँदै थियो । अकस्मान् केसीको निधन भयो । स्वर्गिय केसीपछि चौथो अध्यक्ष बने विष्णु थापा । त्यसपछि संस्थाको गतिविधि पनि सेलाउँदै गयो, जुन अनपेक्षित छ ।

किन असफल अध्यक्ष भए युवा नेता थापा ?

धेरैले विष्णु थापा अध्यक्षमा आइसकेपछि संस्था थप गतिशिल हुन्छ भन्ने आशा राखेका थिए । यस्तो आशा अध्यक्ष थापामाथि लामै समय राख्ने काम भयो समितिकै एक सदस्य बताउँछन् ‘तर अब पर्खन सक्ने अवस्था रहेन । संस्थाको नाम भजाएर उहाँ नेता बन्नु भएको छ तर संस्थागत शुसासन र विकासमा पटक्कै ध्यान छैन ।’

अहिले त सर्वसाधारणले पनि संस्थामाथि थुप्रै खालका प्रश्न उठाउन थालेका छन् । संस्थाका अरु काममा जनताको चासो नभए पनि फोहर ब्यवस्थापनको काम गरिरहेकोमा प्रसंसा नै गरिरहेका थिए । पश्चिममा बाणगंगा खोलो, पूर्वमा गजेहडा कुलो, उत्तरमा उप्टहवाको इमिलीको बुटो र दक्षिणमा देउराली खाद्य उद्योग रहेको स्थानसम्मलाई कार्य क्षेत्र बनाएर फोहर ब्यवस्थापनको काम समितिले गर्दै आएको थियो ।

यसरी फोहर ब्यवस्थापन गरे बापत् समितिले सर्वसाधारणबाट एक घरबाट ५० रुपैयाँदेखि उतपादन हुने फोहरको मात्रा अनुसार ५ सय रुपैयाँसम्म लिने गरेको थियो । त्यसको लागि मासिक तलब दिएर एक जना कर्मचारी र एउटा ट्याक्टरसमेत खटाइएको थियो ।

रुट र तालिका मिलाएर ट्याक्टर फोहर संकलन गर्न डुल्ने गर्दथ्यो । यसरी हेर्दा संस्थाले बार्षिक रुपमा करिब ५ लाख कमाउँछ । थापा नेतृत्वपछिका करिब १० बर्षमा संस्थाले ३५ देखि ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेको देखिन्छ । खर्च भने औसतमा २५ लाख रुपैयाँसम्म हुन सक्छ । एक सदस्यले मासिक रुपमा हुने आम्दानी खर्चको विवरण अपि टाइम्सलाई दिएपछि यो आँकडा निकालिएको हो । तलमाथि हुन सक्छ ।

यसरी यो आम्दानी र खर्चको विवरण हेर्दा संस्थामा अनुमानित करिब १५ लाख जतिको हिसाब बुझाउन बाँकी छ । यसमा पछिल्लो २ बर्षको हिसाब नराख्न सकिन्छ, किनकि नगरपालिकाले फोहर उठाउन थालेपछि संस्थाले फोहर उठाउन छाडेको छ ।
यसरी हेर्दा १५ लाख रुपैयाँजतिको हिसाब देखिन्न । यो आसंका मात्रै हो । संस्थाले नियमित रुपमा साधारण सभा र अधिवेशन गरेको भए यसरी औसतमा हिसाब निकाल्न जरुरी थिएन, संस्थामा सरोकार राख्ने एक जनाले भने ।

कार्यसमिति सदस्यकै प्रश्न ?

नेतृत्वले बदमासी गरेको छ छैन ? भन्न नसकिए पनि साधारण सभा र अधिवेशन नहुँदा प्रश्स्तै शंका उब्जिएका छन् । ‘यहि आसंकाका कारण संस्थामाथि साधारण सभा र अधिवेशन गर्न कार्यसमितिका कतिपय मान्छेहरुकै चर्को दबाब छ, श्रोत बताउँछ । ‘संस्थाको बेइज्जत भयो, साधारण सभा पनि हुँदैन, अधिवेशन पनि हुँदैन । त्यहाँको आर्थिक गतिविधि के भइरहेको छ ? भनेर सरोकारवालाले प्रश्न गर्न थालिसके कम्तिमा पनि हामी सदस्यलाई हिसाब त भनिदिनुहोस् न’ भन्दा अध्यक्ष थापाले सबै बराबर भएको जानकारी दिएको अपि टाइमसले सूचना लिएको छ ।

फोहरका नाममा जनतासंग उठाएको पैसा (आम्दानी) र मासिक खर्च बराबर भएको अध्यक्ष थापाले बताउने गरेका छन् । उनका अनुसार संस्थाको आम्दानीको अरु श्रोत छैन ।

पछिल्लो करिब २ बर्ष भयो । समितिले फोहर उठाउन छाडेको छ । नगरपालिकाले एक नीजि कम्पनीलाई फोहर उठाउने ठेक्का दिए पछि सिद्धार्थ बजार विकास मितिको काम नै सकिएको कतिपय बताउँछन् ।

त्यसैले अहिले संस्था कामविहिन छ । फोहर ब्यवस्थापनको काम नै नगरपालिकाले जिम्मा लिए पछि कि संस्थालाई खारेज गर्नु पर्ने कि तुरुन्तै साधारण सभा र अधिवेशन डाकेर अझै ब्यापक बनाउनु पर्ने आवाज जनसरोकारवालाबाट उठ्न थालेपछि अध्यक्ष थापामाथि दबबा बढ्न थालेको हो ।

चौतर्फी आलोचनापछि के भन्छन् अध्यक्ष थापा ?

यस विषयमा अध्यक्ष थापासंग बुझ्दा साधारण सभा र अधिवेशन नगरेको स्विकार भए पनि आर्थिक अनियमितिताको विषयलाई ठाडो प्रतिबाद गरेका छन् ।

साधारण सभा र अधिवेशन नगर्नुका कारण केके हुन् ? भन्ने सन्दर्भमा उनले भने ‘यो गर्नुपर्ने थियो, ममाथि स्थानीयको भरोसा पनि थियो तर भनेजसरी काम गर्न नसक्दा पक्कै दुखि छु । अब चाँडै अधिवेशन र साधारण सभा गर्दै छौँ । मैले कोषाध्यक्षलाई भनिसकेको छु, चाँडै अडिट सक्नु पर्यो ।’

उनले काम गर्छु भने पनि एक्लो प्रयास सार्थक नहुने रहेको कुरा आफूले पाएको सुनाए । संस्थाका अरु पदाधिकारीले समय नदिँदा संस्थाको गर्नै पर्ने काम गर्न सकिएन उनी सुनाउँछन् ।

आफूलाई पनि यस विषयमा प्रश्न आउन थालिसकेको र कतिपय ठाउँमा जवाफ दिँदै हिँड्नु परेको उनले सुनाए ।
आर्थिक हिनामिना भएको हो कि भन्ने विषयमा त्यो नभएको अध्यक्ष थापाको दावी छ ।

‘हाम्रो आम्दानीको श्रोत फोहर भनेकै फोहर उठाएबापत् संकलन हुने रकम हो । यहाँ त्यस्तो आसंका गर्नुपर्ने गरी कुनै ठुलो रकम छैन । त्यसमाथि कर्मचारी, ट्याक्टर खर्च बुझाउँदा त्यो सबै सकिन्छ । तै पनि प्रश्न उठ्न थालेपछि हिसाब हेर्न कोषाध्यक्षलाई भनेको छु’, उनले थपे ।

उनले दोहोर्याए अब अधिवेशन गर्न दबाब छ, म पनि अरुलाई सुम्पने योजनामा छु । बजार विकास समितिको नाममा जग्गा लिने क्रममा सहयोग गरेका दाताको सम्मान लगायतका काम पनि रहेकाले ती सबै काम अब चाँडै गरिने उनले अपि टाइम्सलाई बताए ।

अहिलेसम्म नेतृत्वबाट भएका कमजोरी स्विकार गर्दै अनर्थ रुपमा नबुझ्न पनि अध्यक्ष थापाले सबैमा आग्रह गरे । अब संस्थामा नबसेर अरुलाई हस्तान्तरण गर्ने योजनामा रहेकोे उनले तेहर्याए ।

यता वाणगंगाका बुद्धिजिवीले भने संस्थागत सुशासन कायम गर्न नसक्ने कुनै पनि नेतृत्वमाथि धेरै आशा गर्न नसकिने बताउँछन् ।