मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री उत्पादन गर्ने कारखाना बन्दै लुम्विनी प्रदेश सभा, ८७ मध्ये ५२ जना मन्त्री बने

मन्त्री उत्पादन गर्ने कारखाना बन्दै लुम्विनी प्रदेश सभा, ८७ मध्ये ५२ जना मन्त्री बने

अपि टाइम्स

बुटवल । लुम्विनी प्रदेश सभा मन्त्री उत्पादनको कारखाना वनेकोछ । करिव ७ वर्ष नपुग्दै यहाका ८७ सांसद मध्ये ५२ जना मन्त्री बनेकाछन् । नेपालमा संघीयता कार्यान्वयनसँगै २०७४ को मंसिर महिनामा पहिलोपटक प्रदेश सभा निर्वाचन भएको थियो फागुन ३ गते लुम्बिनीमा प्रदेश सरकार गठन भयो ।

तीन तहका सरकारमध्ये प्रदेश सरकार नेपालको सन्दर्भमा नयाँ थियो । केन्द्रीय राजनीतिमा स्थापित अनि संघीय सरकारका सञ्चारमन्त्री समेत भइसकेका नेकपा एमालेका नेता शंकर पोखरेल मुख्यमन्त्री भए । सात मन्त्रालय र ६ जनाको सानो मन्त्रिपरिषद बनाएर पोखरेलले प्रदेश सरकार चलाउँदा शुरुवाती दिनमा प्रदेशवासीमा प्रदेश सरकारप्रति चासो र आशा देखिन्थ्यो ।

तर जब दुई तिहाई मतनजिक रहेको तत्कालीन सत्तारुढ दल नेकपामा विवाद अनि अदालतबाट एमाले र माओवादी पार्टी विभाजित भएर ब्युंतिए अनि शुरु भयो प्रदेशमा अस्थिरता । साढे तीन वर्षसम्म राम्रै ढंगले चलेको प्रदेश सरकार माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै अस्थिरता र बद्नामीको बाटोमा लाग्यो । सरकार टिकाउन सांसद अपहरण, किनबेच र मन्त्री बन्ने लोभमा पार्टीहरूभित्र बिग्रह अनि कारवाहीको श्रृंखला तत्कालिन मुख्यमन्त्री शंकर पोखरलेकै पालाबाट शुरु भयो ।

संघीयतापछिको पहिलो पाँच वर्ष मन्त्रीको बाढी नै आयो । तैपनि प्रदेशको स्थायित्व र औचित्य पुष्टि गर्ने काम भने प्रदेशले गर्न सकेन । खासगरी नेकपा विभाजन भएपछि सबैभन्दा बढी आक्रमण प्रदेशमा पनि भयो । त्यहीँबाट प्रदेश सरकार अस्थिर बन्ने क्रम सुरु भयो । संघीय निजामति ऐन, प्रहरी ऐन, शिक्षा ऐनलगायत प्रदेश सञ्चालनका लागि आवश्यक पर्ने दर्जनौँ ऐन बन्नुपर्ने समयमा सत्ता र नेतृत्व खिचातानीमा पाँच वर्ष खेर गयो । अहिले पनि प्रदेश संरचनामा सोही अभ्यासको निरन्तरतामा ब्रेक लागेको छैन । बरु, केन्द्रीय सरकारमा हुने गरेका खिचातानीको स्पष्ट प्रतिविम्ब प्रदेश सरकारमा पर्ने गरेको छ ।

केन्द्रको सत्ता समीकरण फेरिने वित्तिकै प्रदेश सरकारहरू अस्थिर भइहाल्ने र सरकार परिवर्तन भइहाल्ने परिपार्टीले प्रदेश संरचना स्वायत्त नभएको र स्थिर हुन नसकेको बुद्धिजिवि एवं नागरिक समाजको ठम्याई छ । अर्कोतर्फ प्रदेशमा १।५ प्रतिशत थ्रेस होल्डका कारण प्रदेश सभामा धेरै दलको प्रतिनिधित्व रहेको छ जसका कारण एउटै दलको वहुमत नहुँदा पनि प्रदेश सरकार स्थिर बन्न सकेका छैनन् । अस्थिरतामा गिजोलिएकै कारण प्रदेशसभाको दोस्रो कार्यकालको एक वर्ष समेत गरी कूल साढे ६ वर्षको अवधिमा ६ जना मुख्यमन्त्री र ४७ जना मन्त्री बनेका छन् ।

पहिलो कार्यकालमा शंकर पोखरेल दुई पटक र कुलप्रसाद केसी एक पटक मुख्यमन्त्री बन्दा ३० जना प्रदेश सांसद मन्त्री बने । दोस्रो कार्यकालको १५ महिनाको अवधिमै तीन मुख्यमन्त्री र २७ जना मन्त्री बने । तैपनि स्थिरताको छनक छैन । प्रदेशसभाको दोस्रो कार्यकाल पूरा हुँदासम्म मन्त्रीको संख्या कति पुग्ने हो ठेगान छैन । केन्द्रीय सत्ता समीकरणमा हुने फेरबदलको असर तुरुन्तै प्रदेश सरकारमा पर्ने हुँदा मुख्यमन्त्री र मन्त्रीहरू छिटो छिटो फेरिने गर्दा प्रदेशहरू मन्त्री उत्पादन गर्ने कारखानाजस्तो बनेको, आर्थिक बोझ थपिएको र भ्रष्टाचार मौलाएको जस्ता आरोप र टिकाटिप्पणी जनस्तरमै सुनिन थालेका छन् ।