मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराट र ध्वनीको भीडन्त, फाइनलभन्दा रोमाञ्चक हुने अपेक्षा

विराट र ध्वनीको भीडन्त, फाइनलभन्दा रोमाञ्चक हुने अपेक्षा

अपि टाइम्स

एजेन्सी । इन्डियन प्रिमियर लिग ‘आईपीएल’ को १७औँ सिजनको ६४औँ खेलमा दिल्ली र लखनउका लागि जित जति महत्त्वपूर्ण थियो, त्योभन्दा बढी नतिजाको प्रतीक्षा बैंग्लोर र चेन्नईका समर्थकले गरेका थिए । किनकि लखनउको जितले दुवै टिमको प्लेअफ सम्भावनामा धक्का लाग्थ्यो ।

दिल्लीले खेल १९ रनले जितेपछि बैंग्लोर र चेन्नईका समर्थकले चैनको सास फेरेका छन् । अब लिग चरणको अन्तिम खेलमा दुईमध्ये जुन टिमले जित्छ, उसको प्लेअफ सम्भावना बलियो बन्छ । तर बैंग्लोरलाई प्लेअफ पुग्न चेन्नईमाथि १८ रनभन्दा बढी वा लक्ष्य पछ्याएको अवस्थामा १८।१ ओभरभित्र लक्ष्य हासिल गर्नुपर्ने हुन्छ । चेन्नई विजयी भएमा भने १६ अंकसहित प्लेअफमा पुग्नेछ । महाभिडन्त मानिएको बैंग्लोर र चेन्नईको खेल आगामी शनिबार हुनेछ ।

लिग चरणका ६ खेल बाँकी हुँदा प्लेअफका लागि दुई टोली छनोट हुन बाँकी छ, जसका लागि पाँचवटा टोलीबीच प्रतिस्पर्धा छ । यीमध्ये तीनवटा टोली हैदरावाद, चेन्नई, बैंग्लोरको प्लेअफ पुग्ने सम्भावना छ । १९ अंक जोडेको कोलकाता र १६ अंक भएको राजस्थान भने प्लेअफमा पुगिसकेका छन् ।

चेन्नई सुपर किङ्स १३ खेलबाट १४ अंक जोड्दै तेस्रो स्थानमा छ भने १२ खेलबाट १४ अंक जोडेको हैदरावाद चौथो स्थानमा छ । उसले दुई खेल खेल्न बाँकी छ । दिल्ली लिग चरणका सबै १४ खेलबाट १४ अंकसहित पाँचौँ स्थानमा छ । माइनस रनरेटका कारण दिल्लीको प्लेअफ सम्भावना कम छ ।

१३ खेल खेलेको रोयल च्यालेन्जर्स बैंग्लोर ६ जित र सात हारसहित १२ अंक जोडेर छैटौँ नम्बरमा छ भने समान खेलबाट समान अंक जोडेको लखनउ रनरेटमा पछि पर्दै सातौँ स्थानमा छ । अंक तालिकाको अन्तिम तीन स्थानमा रहेका पञ्जाब, मुम्बई र गुजरात प्लेअफको होडबाट बाहिरिइसकेका छन् । दिल्ली र लखनउको प्लेअफ सम्भावना कम भए पनि प्राविधिक रूपमा दौडबाट बाहिरिएका छैनन् ।

अब चेन्नई, हैदरावाद र बैंग्लोरमध्ये दुई टिम प्लेअफमा पुग्ने सम्भावना बलियो छ । १२ अंकसहित तेस्रो स्थानमा रहेको चेन्नईले प्रतियोगिताको प्ले–अफमा पुग्न अन्तिम खेलमा बैंग्लोरलाई हराउनैपर्ने हुन्छ । बैंग्लोरले चेन्नईलाई र मुम्बईले लखनउलाई हराएमा दिल्लीको पनि अघि बढ्ने सम्भावना हुन्छ । तर, यतिले मात्रै पुग्दैन । हैदराबादले दुवै खेलमा आफ्ना प्रतिद्वन्द्वीलाई २ सय रनभन्दा माथिको लक्ष्य पछ्याएर ठूलो अन्तरले हराउनुपर्नेछ । जुन असम्भव देखिन्छ ।

लखनउले पनि प्लेअफमा पुग्न अन्तिम खेलमा मुम्बईलाई १५० रनभन्दा ठूलो अन्तरले हराउनुपर्ने हुन्छ । त्यसैले दिल्ली र लखनउको प्लेअफ सम्भावना अब गणितीय हिसाबले मात्रै बाँकी छ । तर, हैदरावाद बाँकी दुवै खेलमा फराकिलो अन्तरले पराजित भई माइनस रनरेटमा पुगेको अवस्थामा समीकरण बदलिन सक्छ । राजस्थानले पञ्जाबलाई हराएमा दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्ने सम्भावना हुन्छ भने हैदरावादले पनि बाँकी दुवै खेल जितेमा दोस्रो हुने सम्भावना छ ।