मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुसीको खबर, अब रगतबाटै क्यान्सरको परीक्षण हुने

खुसीको खबर, अब रगतबाटै क्यान्सरको परीक्षण हुने

अपि टाइम्स

एजेन्सी

काठमाडौँ । पछिल्लो समय विश्वमा क्यान्सर मानव जातिको सबैभन्दा ठुलो शत्रु बनेको छ । हिँडिरहेको, बोलिरहेको, देखिरहेको मान्छेलाई क्यान्सरका कारण गुमाउनु परेको खबरहरू सुनिरहेका छौँ ।

बेलायती वैज्ञानिकहरूले भने १९ खालका क्यान्सर शरीरमा फैलिनु भन्दा ७ वर्ष अघि नै पत्ता लगाउने रगत परीक्षण विकास गरेका छन् । क्यान्सर हुनु अघि शरीरका स्वस्थ कोशमा क्यान्सरको कोशमा परिणत हुन थाल्छ । यसका लागि वर्षौँ समय लाग्छ । वैज्ञानिकहरूले रगतमा क्यान्सरको जानकारी दिने प्रोटिन खोजेका छन् ।

बेलायतको अक्सफोर्ड पपुलेशन हेल्थका वैज्ञानिकहरूले ४४ हजार भन्दा धेरै मानिसको रगतका नमूना संकलन गरेका थिए । यसमध्ये ४ हजार ९००भन्दा धेरैलाई क्यान्सर भएको थियो । नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार वैज्ञानिकहरूले यी नमुनाहरूको जाँच गर्दा क्यान्सरसँग सम्बन्धित ६१८ प्रोटिन फेला पारेका थिए । जसमध्ये सात वर्षअघि रगत लिइएका व्यक्तिको रगतमा पनि १०७ प्रोटिन पाइएको थियो । यी प्रोटिनहरूको सहायताले क्यान्सरको उपचार प्रारम्भिक चरणमा गर्न सकिने आशा वैज्ञानिकहरूको छ ।

वैज्ञानिकहरूले प्रोटिन पत्ता लगाउन प्रोटोमिक्स नामक शक्तिशाली प्रविधि प्रयोग गरेका थिए । यसबाट शरीरमा रहेको तन्तुमा रहेका प्रोटिनको विश्लेषण गर्न सकिन्छ । यसले प्रोटिनहरू कसरी एकअर्कासँग अन्तरक्रिया गर्छन् भने थाहा भएको छ ।

प्रोटियोमिक्सले प्रत्येक व्यक्तिको रगतको नमुनाबाट १ हजार ४६३ थरी प्रोटिनहरूको सेटको विश्लेषण गरेको थियो । यस क्रममा क्यान्सर हुनुभन्दा तीन वर्षअघि रगतमा १८२ प्रोटिन फरक भएको पाइयो । क्यान्सरका बिरामीहरूको आनुवंशिक तथ्याङ्कको विश्लेषणबाट रगतमा पाइने ४० प्रोटिन व्यक्तिमा फरक फरक खाले क्यान्सरका लागि जिम्मेवार हुने देखियो ।

थप अनुसन्धानको आवश्यक

क्यान्सरको विकासमा यी प्रोटिनहरूको सही भूमिका पत्ता लगाउन थप अनुसन्धान आवश्यक रहेको अक्सफोर्ड पपुलेशन हेल्थका वरिष्ठ जीनोमिक एपिडेमियोलोजिस्ट डा जोशुआ एट्किन्सले बताए । अब वैज्ञानिकहरूले यी प्रोटीनहरूले वास्तवमा कसरी क्यान्सर जन्माउँछ ? भनेर पत्ता लगाउन कोसिस गर्दै छन् । यही जानकारीको आधारमा क्यान्सरका लागि जिम्मेवार प्रोटिनलाई लक्षित गर्न सक्ने औषधी बनाउन सकिने आशा वैज्ञानिकहरूको छ ।