मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामा जारी कृषि मेलामा किसानहरुको भीँड, धान रोप्ने सिजनमा राम्रो परामर्श

बाणगंगामा जारी कृषि मेलामा किसानहरुको भीँड, धान रोप्ने सिजनमा राम्रो परामर्श

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । बाणगंगा नगरपालिकामा ३ दिने कृषि मेला जारी छ । नेपाल विउ तथा मल परियोजना (सिमिट) को आयोजनामा बुद्ध रंगशालामा बुधबारबाट सुरु भएको मेलाको दोश्रो दिन पनि किसानको भीँड लागेको छ ।

कृषि अत्याधुनिक प्रविधि, निशुल्क कृषि परामर्श, निशुल्क माटोको परीक्षण, बिभिन्न जिातजातिका विरुवाहरुको प्रदर्शनी र धानका उन्नत जातहरुको बारेमा जानकारी दिइएकाले मेलामा दोश्रो दिन मानिसहरुको भीँड बढेको आयोजक सिमिटका बजार ब्यवस्थापक डाक्टर नारायण प्रसाद खनालले बताए ।

मेलामा कृषिसम्वद्ध बिभिन्न ४४ स्टल राखिएको उनले बताए । सबै स्टलमा कृषिसम्बन्धि परामर्शको साथमा आवश्यक पर्ने चिज र वस्तु खरिद गर्न सकिने उनी बताउँछन् । धानको सिजन भएकाले उन्नत जातका बिउविजनबारे बुझ्ने सबालमा धेरै चासो देखिएको उनले बताए ।

बुधबार कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले आयोजकलाई धन्यबाद दिए । धानको बिउबिजन राख्ने समयमा आयोजना गरिएको मेलाले किसान दाजुभाइ दिदीबहिनीलाई निकै टेवा दिने बताए । पछिल्लो समय कृषिबाट आत्मनिर्भर बन्नुपर्छ भन्ने भावना कोही कसैम नरहेको बताए ।

प्रशस्त सम्भावना हुँदाहुँदै पनि काम नगर्ने बानीले आयात बढिरहेको उनले बताए । एउटा बोका पनि किनर खाने स्थिति रहेको उनको भनाई छ । पन्थीले निर्वाहामुखी खेती प्रणालीले कहिल्यै प्रगति नहुने भन्दै कृषिलाई नाफामा लैजन आग्रह गरे ।
मेलाबाट अधिकतम लाभ लिन उनले आग्रह गरे ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले नगरमा कृषि उत्पादकत्व बढेको दावी गरे । २०७४ सालअघिको डाटा र त्यसपछिको डाटामा धेरै फरक रहेको बताउँदै नगरमा उत्पादनको मात्रा वृद्धि भइरहेको अर्यालले बताए । अर्यालले अब निर्वाहामुखी भन्दा पनि नाफामुखी भएर कृषि फर्म, उद्योग चलाउन आग्रह गरे ।

कृषि निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक राम प्रसाद पाण्डे, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सहसराम चौधरी, कृषि क्याम्पस पक्लिहवाका प्रमुख राम भजन मण्डल, कृषि ज्ञान केन्द्रका भाष्कर पौडेल नरेश धिताल लगायतले बोल्दै मेलाको अधिकतम फाइदा लिन आग्रह गरे ।

नेपाल उद्योग बाणिज्य महासंघको कृषि उद्यम केन्द्र, बाणगंगा नगरपालिकाको सहकार्य र अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोगमा मेला भएको हो ।

बिभिन्न जातका विरुवाहरुबारे जानकारी दिँदै स्टलधनी

अमेरिकी प्रविधिको ट्याक्टरबारे बुझ्दै किसान