मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फुन्जो सबैभन्दा छिटो सगरमाथा चढ्ने महिला, यसरी बन्यो नयाँ कीर्तिमान

फुन्जो सबैभन्दा छिटो सगरमाथा चढ्ने महिला, यसरी बन्यो नयाँ कीर्तिमान

अपि टाइम्स

काठमाडौँ । फुन्जो झाङ्मु लामाले सबैभन्दा छिटो सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान बनाउनुभएको छ । सगरमाथा आधार शिविरमा रहेको अनुगमन फिल्ड कार्यालयले दिएको जानकारी अनुसार ३३ वर्षीया लामा आधार शिविरबाट १४ घण्टा ३१ मिनेट लगाएर बिहीबार बिहान ६ बजेर २३ मिनेटमा सर्वोच्च शिखरको चुचुरोमा पुग्नुभएको हो ।

अनुगमन कार्यालयका प्रमुख खेललाल गौतमले भन्नुभयो, “आरोही लामाले सगरमाथा आधार शिविरबाट आरोहण सुरु गरेर पुनः आधार शिविरमा आइपुग्दा २४ घण्टा ३६ मिनेट लगाउनुभएको छ । उहाँ आधार शिविरबाट १४ घण्टा ३१ मिनेटमा चुचुरोमा पुग्नुभएको हो ।” उहाँ बुधबार अपराह्न ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेर बुधबार बिहान ६ बजेर २३ मिनेटमा चुचुरोमा पुग्नुभएको हो ।

पर्यटन विभागका अनुसार आरोही लामा चुमनुब्री गाउँपालिका–७, छेकम्पार गोरखाकी स्थायी बासिन्दा हुनुहुन्छ । यसअघि उहाँले सन् २०१८ मा ३९ घण्टा ६ मिनेट लगाएर सगरमाथाको आरोहण गर्नुभएको थियो । विभागका अनुसार सन् २०२१ मा हङकङकी स्याङ यिन हङ ९आडा० ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रूपमा गिनिज बुकमा नाम लेखाउनुभएको थियो । जुन रेकर्ड आरोही लामाले तोड्नुभएको छ ।

विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार जापानका महिला आरोही जुन्को ताबेईले सर्वप्रथम २०३२ जेठ २ गते पहिलो महिला आरोहीका रूपमा सगरमाथा आरोहण गर्नुभएको थियो ।

त्यस्तै गरी न्युजिल्यान्डका महिला आरोही लिडिया ब्राडेले २०४५ असोज २८ गते महिलातर्फ बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने महिलाका रूपमा कीर्तिमानी राख्नुभएको थियो ।

पुरुषतर्फ भने सर्वप्रथम २०६० जेठ १२ गते लाक्पा गेलु शेर्पाले १० घण्टा ५६ मिनेटमा सगरमाथा आरोहण पूरा गर्नुभएको थियो । त्यसको एक वर्षपछि उहाँको रेकर्डलाई पेम्बादोर्जे शेर्पाले तोड्नुभएको थियो । पेम्बाले २०६१ जेठ २१ गते आठ घण्टा १० मिनेटमा आधार शिविरदेखि चुचुरोसम्म पुगेर नयाँ रेकर्ड राख्नुभएको थियो । हाल उक्त रेकर्ड ब्रेक हुन सकेको छैन ।

यसैबिच बिनाअक्सिजन सगरमाथा आरोहणका क्रममा बुधबार राति ४० वर्षीय केन्याका नागरिक जोसुवा चेरुयोट ९अक्सिजनसहित० र उहाँको साथमा रहेका नेपाली गाइड लिखु पिके गाउँपालिका–६ का ४४ वर्षीय ङवाङ शेर्पाको मृत्यु भएको विभागले जनाएको छ ।

उहाँहरू दुवै जना बुधबार राति सगरमाथा चुचुरो नजिक मृत अवस्थामा फेला पर्नुभएको हो ।