मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेर्नुहोस् सिरोहियाका १० प्रस्टीकरणः जाहेरीकर्तालाई चिन्दैनन्, गृहमन्त्रीमाथि प्रश्न

हेर्नुहोस् सिरोहियाका १० प्रस्टीकरणः जाहेरीकर्तालाई चिन्दैनन्, गृहमन्त्रीमाथि प्रश्न

अपि टाइम्स

काठमाडौँ । नागरिकतासम्बन्धी कसुरको अनुसन्धानका लागि धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले अदालतमा दिएको बयानबारे जानकारी गराउँदै प्रस्टीकरण दिएका छन् । प्रहरीमा परेको जाहेरीमा गरिएका दाबी, सरकारी वकिल कार्यालयले लिएको जानकारी र अदालतमा दिएको बयानबारे आफ्ना कानुन व्यवसायीमार्फत उनले प्रस्टीकरण दिएका हुन् । गत मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट सिरोहियालाई पक्राउ गरी धनुषा लगिएको थियो ।

आफूविरुद्ध जाहेरी दिने इन्द्रजितप्रसाद महतोलाई नचिनेकाले व्यक्तिगत रिसइवीको गुञ्जायस नरहेको सिरोहियाले बताएका छन् । ‘कसैको प्रतिशोध र इसारामा यो काम गरेका हुन् भन्ने मेरो दाबी छ । मैले उनलाई माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र रास्वपाका सांसद मनीष झासँग एउटै टेबलमा बसेर छलफल गरिरहेको फोटो सार्वजनिक भएपछि पहिलोपटक देखेको हुँ । साथै, निज महतो रास्वपाको मधेश प्रदेश कार्यसमितिको सदस्यसमेत रहेको जानकारी पनि समाचार पढेर थाहा पाएको हुँ,’ उनले भनेका छन् ।

जाहेरीवालासँग मेरो चिनजान वा रिसइबी

जाहेरीवाला इन्द्रजीत प्रसाद महतोलाई मैले चिनेको छैन। त्यसैले व्यक्तिगत रिसइबीको गुञ्जायस छैन। कसैको प्रतिशोध र इसारामा यो काम गरेका हुन् भन्ने मेरो दाबी छ। मैले उनलाई माननीय उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र रास्वपाका सांसद् मनिषा झासँग एउटै टेबलमा बसेर छलफल गरिरहेको फोटो सार्वजनिक भएपछि पहिलोपटक देखेको हुँ। साथै, निज महतो रास्वपाको मधेस प्रदेश कार्यसमितिको सदस्यसमेत रहेको जानकारी पनि समाचार पढेर थाहा पाएको हुँ।

नागरिकता र प्रतिलिपिबारे
आफू २९ मंसिर ०१९ मा धनुषामा जन्मिएको, २५ भदौ ०३६ मा जिल्ला प्रशासन कार्यालयबाट वंशजको आधारमा ३९६९८८८६ नम्बरको नागरिकता प्राप्त गरेको सिरोहियाले बताएका छन् । ‘नागरिकता प्राप्त गरेको करिब ४४ वर्ष भएको छ । तत्कालीन समयमा नेपाली कागजमा वितरण हुने नागरिकता पुरानो भएकाले ०५७ साल असोज २९ मा प्रतिलिपिसमेत लिएको छु । तर, मैले एउटा मात्र नागरिकता लिएको छु,’ उनले भनेका छन्, ‘दुई–तीन थरी नागरिकता बनाएको भनेर बजारमा हल्ला गरिएको छ, तर मलाई प्रहरीले लगाएको आरोपमा त्यो विषय भने समावेश छैन ।’ आफूआबद्ध कम्पनीका प्रबन्ध–पत्रमा नागरिकताको नम्बर फरक भएको विषय कम्पनीसचिवले टाइप गर्दा त्रुटि भएको सिरोहियाको प्रस्टीकरण छ ।

‘तर, प्रबन्ध–पत्रसहित पेस गरिएको कागजपत्रमा मेरो नागरिकताको प्रमाणित प्रतिलिपि संलग्न भएकाले नम्बरको विषय स्वतः सम्बोधन हुन्छ । एउटाबाहेक नागरिकता बनाएको वा प्रयोग गरेको भए कानुनबमोजिम हदैसम्मको दण्ड भोग्न तयार छु,’ उनले भनेका छन् ।

सरकारी ढड्डामा अभिलेख नभेटिएकोबारे
आफ्नो राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, मतदाता परिचयपत्रलगायतमा एउटै नागरिकता नम्बर रहेको सिरोहियाले उल्लेख गरेका छन् । ‘गत वर्ष गृह मन्त्रालय, सिंहदरबार काठमाडौंबाट धनुषा जिल्ला प्रशासन कार्यालयमा अभिलेख झिकाई प्रमाणित गरेर २०७९ फागुन १५ मा मलाई राष्ट्रिय परिचयपत्र दिइएको हो । जसमा मेरो नागरिकता नम्बर स्पष्ट उल्लेख छ,’ उनले भनेका छन्, ‘गत वर्षसम्म अभिलेखको व्यहोरा दिने गृह मन्त्रालयको संयन्त्रले अहिले ढड्डामा अभिलेख नभेटिएजस्तो प्रचार किन गरेको छ ? यो प्रश्नमा विचार गर्ने जिम्मा म विवेकशील नेपाली नागरिकमा छोड्न चाहन्छु । राज्यका अभिलेखमा पहुँच भएका कसैको लापरबाही वा दुर्नियतले सरकारी अभिलेख तलमाथि हुन्छन् भने त्यसको सम्पूर्ण दायित्व सम्बन्धित निकायले लिनुपर्छ ।’

दुई व्यक्तिको नागरिकता नम्बर एउटै रहेको विषयमा
आफ्नो नागरिकता नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको विषयमा आफू जवाफदेही नहुने सिरोहियाले उल्लेख गरेका छन् । सेवाग्राहीलाई दिइएको प्रमाणपत्रको अभिलेख राख्ने सम्पूर्ण दायित्व राज्यको हुने उनले बताएका छन् । ‘यसको सम्पूर्ण नियन्त्रण, जिम्मेवारी र जवाफदेहिता जिल्ला प्रशासन कार्यालय धनुषासँग रहन्छ । अझ, दुईजना व्यक्तिको नागरिकतामा एउटै नम्बर परेको भनिएकामा अर्को व्यक्तिसँग यस विषयमा सामान्य जानकारीसमेत नलिई कैलाश सिरोहियालाई भने पक्राउ गरी रातारात चलान कसको आत्मरतिका लागि गरिएको हो ? कानुनी राज भएको मुलुकमा नागरिकको प्रतिष्ठामाथि कसैको आत्मरति हाबी हुन सक्छ कि सक्दैन ? यो पनि सबैको सरोकारको विषय हो,’ उनले भनेका छन् ।

बुबा, दाजु र आफ्नो नागरिकताबारे
बुबाले नागरिकता प्राप्त गरेपछि जन्मिएकाले आफू वंशजको नागरिक भएको उनले बताएका छन् । ‘पिताजीले नागरिकता प्राप्त गर्नुअघि र पछि जन्मिएका सन्तानको नागरिकताको प्रकार पनि कानुनअनुसार फरक भएको होला । तर, यसको सम्पूर्णताको व्याख्या गर्ने जिम्मेवारी मेरो होइन । तत्कालीन समयमा प्रचलित कानुन र अधिकारप्राप्त अधिकारीहरूले कानुनको अधीनमा रही नागरिकता दिएको विषयमा मैले जवाफ दिनुपर्ने होइन । म आफ्नो नागरिकताप्रति जवाफदेही, जिम्मेवार र इमानदार छु,’ उनले भनेका छन् ।

कहिले १८ वर्ष पुगेको भन्ने प्रश्न
०३३र३४ मा आएको सरकारी घुम्ती टोलीबाट नागरिकता प्राप्त नगरे पनि आफ्नोसमेत अभिलेख संकलन भएको सिरोहियाले उल्लेख गरेका छन् । ‘त्यही आधार मेरो नागरिकतामा प्रकट भएको छ । मलाई नागरिकता दिने आधार ०३३र३४ को अभिलेखअनुसार भनेर नागरिकतामा नै स्पष्ट लेखिएको छ । त्यसैले मैले नागरिकता लिएको ०३६ भदौ २५ मा हो । यसबीचमा म बालिग नागरिक भएको विषयमा प्रश्नै छैन,’ उनले भनेका छन्, ‘उमेर कति लेखियो भन्ने अधिकारप्राप्त अधिकारीले जान्ने विषय हो, यो मेरो इच्छा र रोजाइको विषय होइन । राज्यले सबै प्रमाण भिडाएर उमेर तय गरी नागरिकताको प्रमाणपत्र दिने हो । प्रमाण नपुगेसम्म कुनै पनि नागरिकले कुनै पनि प्रमाणपत्र पाउँदैन । राज्य आफैँले प्रमाणित गरेर दिएको प्रमाणपत्रको विषयमा सेवाग्राहीलाई धरपकड गर्नु न्यायपूर्ण होइन ।’

नागरिकतामा दुईथरी अक्षर र केरमेट गरिएको विषयमा
आफ्नो नागरिकताको फोटोकपी पाएका व्यक्तिहरूले जन्ममितिको दायाँ–बायाँ गरिएको छोटो हस्ताक्षरलाई केरमेट गरिएको भनी दाबी गरेको भन्दै सिरोहियाको प्रस्टीकरण छ, ‘०३६ सालमा नागरिकता बनाउँदा त्यतिवेलाको चलनअनुसार उमेर १८ वर्ष मात्र उल्लेख भएको थियो । तर, ०५७ मा प्रतिलिपि लिँदा पनि फाँटवाला कर्मचारीले उमेर १८ वर्ष मात्र लेखेको देखिन्छ । तर, प्रमाणित गर्ने अधिकारीले १८ वर्षपछि कोस्ट थपेर ९२०१९।८।२९० लेखेर थप स्पष्ट पारेको देखिन्छ । कोस्टभित्रका अक्षरलाई दुवैतर्फबाट रातो हस्ताक्षरद्वारा बन्द गरिएको छ । यो नागरिकताको प्रमाणपत्र मसँग सुरक्षित छ,’ उनले भनेका छन्, ‘फोटोकपी र मूलकपी भिडाउन चाहेको भए मलाई पक्राउ गरिरहन जरुरी थिएन ।’

पक्राउ गरेर रातारात चलान गरिएको विषय
राज्यले गर्ने हरेक अनुसन्धानमा आफू सहयोग गर्न हरदम तयार रहेको सिरोहियाले बताएका छन्् । ‘तिम्रो नागरिकतामा यस्तो कैफियत देखियो भनेर बोलाएको भए कुनै पनि दिन हाजिर भएर आफ्ना विषय स्पष्ट पार्न हामी तयार थियौँ, त्यो हाम्रो कर्तव्य पनि हो । तर, एकपटक पनि पत्र नकाटी सीधै म अध्यक्ष रहेको सञ्चारमाध्यमको कार्यालयमा हतियारधारी प्रहरी परिचालन गरेर पक्राउ गरिएको छ । मानौँ, त्यो दिन पक्राउ नगरे देशलाई अपूरणीय क्षति हुनेछ । यो राज्यसत्ताको चरम दुरुपयोग हो ।’

विवाद नागरिकताको होइन, सहकारीको हो
आफूलाई पक्राउ गरिनुमा नागरिकताको विवाद नभएर उपप्रधानमन्त्री तथा गृहमन्त्रीबारे लेखिएका समाचारहरूको प्रतिशोध भएको सिरोहियाले उल्लेख गरेका छन् । ‘यो कैलाश सिरोहियाको नागरिकताको विवाद हुँदै होइन । बरु, गृहमन्त्री रवि लामिछाने, दोहोरो नागरिकता, दुई देशका पासपोर्ट र सर्वसाधारणले गाँस कटाएर सहकारीमा बचत गरेको रकम हिनामिना गरिएको विषयसँग सम्बन्धित छ,’ उनले भनेका छन् । नागरिकतासम्बन्धी विषय सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाबाटै प्रमाणित भइसकेको उनले उल्लेख गरेका छन् । ‘

इजलासले उनको नागरिकतालाई अवैध ठहर गर्दै सम्पूर्ण सार्वजनिक पदबाट उनलाई मुक्त गरेको हो । देशको संविधान र कानुन कान्तिपुर वा कुनै सञ्चारमाध्यमले लेखेका होइनन् । तर, त्यसमा लेखिएका विषय स्मरण गराउने महत्वपूर्ण दायित्व सञ्चारमाध्यमको हुन्छ । यही कर्तव्य पूरा गरेकै कारण लामिछानेले पत्रकार सम्मेलन गरेर नेपाली सञ्चारमाध्यममाथि अनर्गल लाञ्छना लगाएका थिए ।’ त्यस्तै, सर्वसाधारणले सहकारीमा बचत गरेको रकम हिनामिनामा पनि गृहमन्त्री लामिछाने संलग्न रहेको सिरोहियाले उल्लेख गरेका छन् ।

लामिछानेको दोहोरो राहदानीको अनुसन्धानको प्रश्न
दुई देशको राहदानी बोकेका गृहमन्त्री लामिछानेले उल्टै नागरिकलाई तर्साउने प्रयास गरिरहेको सिरोहियाले उल्लेख गरेका छन् । ‘हाम्रो प्रश्न यति मात्र हो, दोहोरो नागरिकता र दुई देशको पासपोर्ट बोेकेर हिँडेको व्यक्ति गृृहमन्त्री हुने र उनकै प्रतिशोध साँध्न यो देशको सार्वभौम नागरिकलाई रातारात पक्राउ गर्ने रु जब सरकारले उन्मादमा वा प्रतिशोधमा आफ्नो कर्तव्य बिर्सन्छ, त्यो वेला नागरिक र आमसञ्चारमाध्यमले आफ्नो आवाज मुखरित गर्छन् । अहिले नेपाली प्रेस र समस्त नागरिक समाजले त्यही कर्तव्य पूरा गरिरहेका छन्,’ उनले भनेका छन् ।