मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफ्ठ्यारोमा पत्रकार महासंघ कपिलवस्तु, अध्यक्षमा आधा दर्जनको चर्चा !

अफ्ठ्यारोमा पत्रकार महासंघ कपिलवस्तु, अध्यक्षमा आधा दर्जनको चर्चा !

अपि टाइम्स

काठमाडौँ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको अध्यक्ष पदको लागि आधा दर्जन आकांक्षी देखिएका छन् । यहि ज्येष्ठ २६ गते देशभर हुन लागेको चुनावको लागि कपिलवस्तुमा ६ जनाले उम्मेदवारी दिने तयारी गरेका हुन् ।

एमाले निकट प्रेस चौतारीबाट ३ जना, काँग्रेसनिकट प्रेस युनियनबाट २ जना र माओवादीनिकट प्रेस सेन्टरबाट १ जनाको चर्चा छ ।
प्रेस चौतारीबाट हालका महासंघका उपाध्यक्ष रहेका हरि अधिकारी, सचिव जानु पाण्डे र पूर्व उपाध्यक्ष पार्वती पाण्डेले अध्यक्षमा उठ्ने बताएका छन् । यस्तै युनियनबाट महासंघका वर्तमान अध्यक्ष किरणमान बज्राचार्य र युनियनका अध्यक्ष खगप्रसाद चापागाईको चर्चा छ ।

यस्तै माओवादी केन्द्र निकट प्रेस सेन्टरबाट पनि अध्यक्षमा उठ्ने चर्चा छ । महासंघका निवर्तमान अध्यक्ष डिलाराम भुसाल फेरि एक कार्यकालको लागि उठ्न सक्ने चर्चाले अहिले कपिलवस्तुका पत्रकार तातेका छन् ।

प्रेस चौतारीमा पार्वती पाण्डे र जानु पाण्डे पूर्ववर्ती नाम हुन् भने हरि अधिकारी महासंघको सदस्यता शुद्धिकणमा परि हाल सदस्यता फिर्ती नाम हो । सदस्यता फिर्ताभएसंगै अधिकारी पनि तयारीमा लागेका हुन् । तर पार्टीले अन्तिममा यी तिन जनामध्ये कसलाई अघि सार्छ त्यो भने टुङ्गो छैन । समाचार श्रोत अनुसार हरि अधिकारी सांसद विष्णु पन्थीको स्वकीय सचिव रहेको हुँदा पाण्डेद्धयबाट एक जना अन्तिम एकमा पर्ने अनुमान गर्न सकिन्छ । अहिलेसम्मको स्थिति हेर्दा पार्वती पाण्डे र जानु पाण्डे दुवै ढिपीमै छन् ।

पार्वती पाण्डेले यसपटक आफू अध्यक्ष बन्ने भन्दै एक महिनाअघिदेखि नै लविङ गरिरहेकी छन् भने पाण्डे पनि अहिले तातिएका छन् । चुनाव भएको खण्डमा यी दुवै जनालाई सहज स्थिति छैन, किनकि पाण्डेद्धयले पत्रकारहरुमा त्यो विश्वासको जग बसाउन सकेका छैनन् । हरि अधिकारी पनि विचारमा स्थिर नाम होइन । त्यसैले पनि धेरै पत्रकार उनको पक्षमा नभएको देखिन्छ ।

चुनाव भइहाले तिनै जनालाई चुनाव जित्न सकस हुने देखिन्छ । पार्टीमा पाण्डेद्धयमा बराबरीजस्तो समर्थन छ । अहिलेको जिल्ला नेतृत्व जानुतर्फ ढल्किएको हो कि भन्ने छनक देखिन्छ भने शक्तिशाली नेताको साथ पार्वतीलाई छ । हरि अधिकारीको चर्चा भए पनि पार्टीले उनलाई अघि सार्न चाहेको अहिलेसम्मको स्थिति छैन । उनले आफ्नो लविङ भने कसिरहेका छन् ।

पार्टीबाट एक्लो उम्मेदवार बन्ने निश्चित भएका युनियनका अध्यक्ष चापागाईलाई किरणमानको चर्चाले तनाव दिएको छ । किरणको पछिल्लो हल्ला र आकांक्षा कुन रुपमा आएको हो त्यो भने अज्ञात छ । युनियनबाट पहिलेदेखि चर्चामा गोपाल भण्डारी र खगप्रसाद चापागाई रहे पनि भण्डारी सदस्यता शुद्धिकरणमा परेपछि चापागाई ्एक्ला उम्मेदवारका रुपमा रहेका थिए । तर एकाएक किरणमानको कुरा उठेपछि चापागाईलाई असहज स्थिति बनेको देखिन्छ । खगकाविरुद्धमा किरणमानले किन आकांक्षा देखाए त्यो भने अज्ञात छ ।

काँग्रेस पार्टीले पनि के निर्णय गर्छ या दुवै चुनावी मैदानमा रहने हुन् समयलाई पर्खनु पर्दछ । खग र किरणमाथि पनि पत्रकारको त्यति भरोसा देखिदैन । एक अर्को संगठनको हात नसमात्ने हो र चर्चामा आएका सबै उम्मेदवारबीच चुनाव हुने हो भने चापागाईलाईको पक्षमा झिनो मतान्तर हुने देखिन्छ ।

खगप्रसादले सहमतिबाट आफूलाई अध्यक्ष बनाउनु पर्ने बताउँदै आएका छन् भने किरणमानले अझै एक कार्यकाल खाएर महासंघलाई झन् दरिलो बनाउने आसय बाँडेका छन् ।

यता यता डिलारामको इन्ट्रि पनि गज्जबै छ । युनियन र चौतारीको लडाइँले महासंघ अफ्ट्यारोमा जाने अवस्था आए प्रेस सेन्टरले डिलाराम भुसाललाई अघि सारेर नेतृत्व लिन सक्छ । भुसालले पनि सबैले सहयोग गरे अध्यक्ष बन्न तयार रहेको बताउँदै चुनाव भने नलड्ने बताएका छन् ।

केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष वसन्त गिरी केन्द्रको भागवण्डामा कपिलवस्तु सेन्टरमा पारेर भुसाललाई अध्यक्ष बनाउने लाइनमा छन् भने युनियन र चौतारीलाई नेतृत्व माओवादीलाई दिन नहुने पक्षमा देखिन्छन् । अध्यक्षमा धेरै नाम आए पनि महासंघको हितमा काम गर्ने कोहि नभएको भन्दै संघलाई अफ्ट्यारोमा नपार्न पत्रकार मतदाताको आग्रह छ ।

आकांक्षीको यहि ढिपी चुनावको अन्तिमसमयसम्म जारी रहन्छ कि रहँदैन त्यो थाहा छैन । यता संगठनको यो अवस्था भए पनि माथिको महासंघले कस्तो खालको निर्णय गर्छ त्यसले पनि आगामी नेतृत्व चयन गर्न सक्छ । सत्ताको समिकरण मिलाएर अघि बढे जिल्लामा चौतारी र सेन्टरको योग हुन सक्छ भने काँग्रेस, राष्ट्रिय जनमोर्चा लगायत अरु संगठन एकातिर हुन सक्छन् । अर्को कुरा जिल्लालाई भागवण्डामा पार्दा कपिलवस्तु कुन संगठनको भागमा पर्छ त्यसले पनि आगामी दिशा तय हुने छ ।

आकांक्षी जोजो भए पनि महासंघलाई गतिशिल ढंगबाट अघि बढाउनेमा सदस्य पत्रकार शशंकित छन् । ज्येष्ठ २६ मा महासंघको चुनाव हुन्छ या हुँदैन त्यो भने पक्का छैन । सदस्यता शुद्धिकरणको विषयलाई लिएर बिभिन्न संगठनले केन्द्रिय कार्यालयमा तालावन्दी गरिरहेका छन् ।