मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कथाः अप्राप्य

कथाः अप्राप्य

अपि टाइम्स

मधुसुदन घिमिरे

म तिम्रै बारे सम्झिरहेको छु यस बेला।

तिमी आउँछौ हावा बनेर सुस्तरी यो मनको कुना कुनामा स्पर्श गरेर जान्छौ। सितल्ता तिम्रो पाउँछु र ठूलै राहत मिल्छ यसरी मानौँ म अधिक तापमा बाचिरहेको हुँ।

तिमि झरी बनिदिन्छौ कहिलेकाहीँ र भिजाउँछौ निथ्रुक्क मेरा मनका सम्झनाहरूलाई। तिम्रै झरीमा बर्सेका थोपाहरूको हिर्काईले मेरो मनलाई पहिले भन्दा अझै भारी बनाउँछ र बगाउँछ मलाई तिमि तर्फ।

मेरो मनमा तिमि यसरी बसेका छौ कि तिमि जुन होइनौ तर पनि हेरी रहूँ हुन्छ, तिमि धुन होइनौ तर पनि तिमीलाई सुनी रहू हुन्छ।त्यसैले त तिमि सँग समय बिताउनुको छुट्टै मजा छ, अलौकिक आनन्द छ थाहा छैन किन छ यो सब सब मीठा भावनाहरू।

तिमीलाई म जति वास्ता गर्छु त्यसको एक चौँथाई पनि तिमिबाट पाउन मुस्किल छ तर म सक्दिन तिम्रो सामीप्यबाट पर भएर बस्न।तिमि मायालु कहाँ छौ र तर प्रिय छौ मेरो लागी, तिमि रिसाहा छौ तर विनम्र पाउँछु म आपूँ। तिमीलाई म नभए पनि हुन्छ तर मलाई तिमि नभै नहुने भाको छ आजकाल।

मलाई यो पनि थाहा छ कि तिमीले मलाई आफ्नो बनाउने छैनौ तर मै जिद्दी तिम्रो अगाडी लाचार भैदिन्छु र देखाउँछु म भित्रको सम्पूर्णता।तिमि सधैँ भन्छौ “प्राप्ती, म तिमीलाई चाहेर पनि आफ्नो भन्न सक्दिन।“ मलाई राम्ररी थाहा छ यो सब तिमि किन भन्छौ भनेर। फेरी पनि मन अटेरी बन्छ मेरो लाग्छ, तिमीलाई कुनै न कुनै दिन त पक्का आफ्नो कसो नबनाउला।

म हरेक यादमा तिमीलाई भेट्टाउँछु म हरेक प्रभातको सितमा तिमीलाई पाउँछु, म हरेक दिनमा तिमीलाई बोलाउँछु र म हरेक रातमा तिमिलाई नै कल्पिन्छु।

तिमि सँगको त्यो पहिलो भेट जुन नितान्त पहिलो थियो तर मलाई लागेन पहिलो जस्तो। हामी त वर्षौँ अगाडी देखिएका हौं, हामीले एक अर्कालाई वर्षौँ अगाडी चिनिसकेका छौँ जस्तै महसुस भयो मलाई। त्यो एउटा भ्रम सिवाय केही थिएन जुन भ्रम आफैमा मिठो थियो, ठ्याक्कै तिमि जस्तै मिठो थियो मेरा लागी।

पोखरा लेकसाइडको बुक मन्डला भित्र धुई-धुइती चहार्दा पनि इलिफ साफकको उपन्यास “द आइल्यान्ड अफ मिसिङ ट्रिज” भेटिएन। त्यो समय साँझ लगभग ६ बजे तिरको थियो हिउँद भएकाले छिट्टै रातले वातावरणमा आफ्नो साम्राज्य खडा गर्यो र अन्धकार निम्त्यायो।

लेकसाइडको माहोल भने झिलिमिली भैसकेको थियो। रातको समयमा बत्तीहरूका रोसनीले अन्धकारलाई चिर्दै एउटा छुट्टै सुन्दरता सृजित गरेको थियो।

बुक मन्डलाको ठिक दायाँ तिरको कुनामा म यस्सै कितावहरूको चाङलाई हेर्दै उभिएकी थिएँ। मेरै जस्तो हालमा तिमी पनि थियौ टोलाइरहेको। मैले अब भने तिमीलाई नै हेर्दै थिएँ। दिक्क मानेर तिमी कितावहरूको चाङबाट नजर दायाँ तिर फर्कायौ र त्यहि बेला तिम्रा आँखा र मेरा आँखा जुध्न पुगे।

त्यो नजर जुधाई मेरा लागी त एउटा दुर्घटना नै थियो। थाहा छ तिम्लाई यसले खास फरक पारेन। तिमीले कुनै जाँगर बिना नै मलाई हेर्न पुग्यौ, एकदम वेवास्थाका साथ, प्रतिक्रिया विहिन भएर। तिम्रो मुहारमा कुनै विशेष भाव पाइन मैले अथवा भनौँ त्यस्तो खाले कुनै भावभङ्गी देखाएनौ जसलाई म पढ्न सकुँ।

आँखा जुद्धा मलाई एक नजर लगायौ, मैले थोरै ओठ खोलेर सानो मुस्कान छोडिदिए। मेरो मुस्कानको जवाफ तिमीले छोटो मुस्कानबाट दिन सक्थ्यौ तर तेसो हुन सकेन र तिमि पहिले जसरी आफ्नै दुनियामा हरायौ।

“जाबो हाँसोको जवाफ त हासेरै दिन्छन है जसले पनि, कस्तो खाल्को स्टुपिड केटा रैछ” मैले यस्तै सोचे 

केटाहरूलाई केटी देख्नै हुदैँन उनिहरूको आँखा मानौँ क्यामेराको लेन्स हो जो जुन कुनै बेला जहाँ पनि घुम्न भ्याउँछ। अझ राम्री केटीलाई त केटाहरू केटी नै कहिल्यै देख्न नपाए जसरी हेर्न पुग्छन, “के यसलाई म नराम्री लाग्यो? हेर्दा त म राम्री नै छु।” मन मनै तिमि देखि  रिस उठेर आयो। “अटेन्सन त जो केटीले नि खोज्छन यो त हामीहरूको युनिभर्सल अधीकार नै हो नि।” रिस उठ्नुको कारण तिमीले मलाई हेरेनौ भनेर होइन। तिमीले त यसरी एटिट्युड देखायौ कि जुन एटिटियुड कुनै केटाबाट मैले आज सम्म देखेकी थिइन।

“नभेट्नु भाको कुन किताव रे?” स्टोरको मान्छेले मेरो किताव नभेट्टिएको गुनासोलाई ध्यान दिएर सोध्यो।

“द आइल्यान्ड अप मिसिङ ट्रिज हो।” मैले र्याकमा राखिएका कितावहरूलाई हेर्दै भने। ठिक यही बेला एटिट्युड वाला केटो अर्थात् तिमी टुप्लुक्क टुप्कियौ। स्टोरको मान्छे र मेरो बिचको खाली ठाउँमा उभियौ। यस पटक भने एटिट्युड वालालाई नहेरौँ भन्दा पनि खै कसरी कसरी हेर्न पुगे मैले अझै बिस्तार सँग, अझै प्रस्टसँग पहिले भन्दा नियालेर तिमी माथी नै आँखाहरू गाडिए भन्दा फरक पर्दैन।

अन्दाजी ५ फुट ५ इन्च उचाइको तिमी न मोटो थियौ न दुब्लो नै। गहुगोरो वर्णको केटोको ज्यानमा कालो रङको ब्लेजर, कालै रङको प्यान्ट र खुट्टामा चेल्सी बुट सजिएको थियो। आँखामा रेवनको चस्मा अनि शिरको कपाल सपक्क माथी तिर ठाडिएको थियो। अनुहार हेर्दा औधी राम्रो त होइन जेहोस ह्यान्डसम भन्न लायक भने थियो। गोलाकार सेपमा आएको तिम्रो दारी अनि जुङ्गामा चाही छुट्टै आकर्षण पाएँ मैले, सायद स्मार्ट केटा भनेर यस्तै केटालाई भनिन्छ होला।

देख्दा सालिन स्वभावको तिमि सालिन पारा मै बोल्यौ। “हामी सँग द आइल्यान्ड अफ मिसिङ ट्रिज छ होला? अँ राइटर चाही इलिफ साफक हो क्यारे।”तिम्रो मुखारबिन्दुबाट मैले यो के सुने? जे सुने अचम्मित नभै रहन सकिन। तिम्रो बोल्ने स्टाइल पनि तिमी जत्ति कै स्मार्ट होला भनेर अनुमान सम्म गरेकी थिइन मैले। मैले जुन किताव खोज्दै थिए तिमी पनि त्यही किताव खै भनेर सोध्दै थियौ।

“चोइस त मेरै जस्तो पो रहेछ नि मोराको। तिम्रो एटिट्युड यस्तो उस्तो भनेर जज गरेकीमा म आफैँलाई एकपटक हाँसो उठ्यो, जे भए नि तिमी घमन्डी हौ है भन्ने चाही लागिरहयो।”तपाईंहरू दुबै जना एउटै कितावको खोजीमा हुनुहुदो रहेछ है। हेर्नुहोस न ठ्याक्कै हिजो बाँकी भएको कपी सकियो यसको।” स्टोर वाला मान्छे एउटा कुनामा गएर केही खोतालखुतुल गर्न थाल्यो।

तिमी र म यथावत् अवस्थामा मुर्तिवत् उभिएका थियौँ। तिमी  केही बोल्न खोजे जस्तो थियौ तर के भएर हो रोकियौ अनि तिम्रै छेउमा उभिएकी मलाई दोस्रो पटक हेर्यौ। यस पटकको हेराइमा पनि पुरानै भाव विहीन भाव दोहोरियो फरक यत्ती थियो दोस्रो हेराइ पहिलेको जस्तो चिसो भने थिएन ।

“जस्ट वान पिस रैछ है त।” स्टोर मालिक हातमा हामी दुईले खोजेको किताव बोकेर आयो। “आइयम एक्सट्रिम्ली सरी। केही दिन पछाडी यसको अरू कपिज आउदै छ यहाँहरू मद्य एक जनाले लिन सक्नु हुन्छ। बरु यो चाही कस्ले पो लिनु होला?”

“म लिन्छु नि त” मैले अनावस्यक उत्साह देखाउँदै अचानक हात अगाडी बढाए।

हातमा किताव परे पछी किन त्यसो गरिछु  भनेर लाग्यो कम्तीमा मैले तिमीलाई सोध्न पर्थ्यो भन्ने कुराले बेस्सरी मन भित्र बबन्डर मच्चायो।

मेरो अघिको त्यो केटाकेटीपनाले तिमीलाई पनि हाँसो उठाएछ क्यारे, तिम्रो मुहारमा जुन मुस्कान मैले देखे त्यसले मलाई कता-कता कटाक्ष गरेको महसुस भयो।

त्यसपछि तिमी केही नि नबोली बुक स्टोरबाट बाहिरियौ अनी म स्तब्ध हुन पुगेँ, आफ्नो साइड ब्यागलाई काँधमा भिरेँ, किताबको पैसा तिरेर फटाफट बाहिर निस्किएँ।

जिन्दगीमा त्यती धेरै लज्जाबोध मलाई आज सम्मै भएको थिएन। मेरा आँखाहरू तिम्रो खोजीमा लागे।धेरै टाढा नपुगेको तिमीलाई हतारमा दौडिरहेका मेरा पाइलाहरूले भेट्टाए।

“एक्सक्युस मि?” मैले तिमीलाई पछाडीबाट बोलाएँ।फुटपाथमा हिडिरहेको तिमीले मलाई सुनेनौ, तिमी रोकिनुको साटो उसरी नै हिँडिरह्यौ।

“हलो मिस्टर?” मैले अगी भन्दा थोरै चर्को स्वर बनाएर तिमीलाई रोक्न खोजे। यो पल्ट पनि तिमी उही गतिमा हिडीँ मात्र रह्यौ।

यसरी भएन अब। म तिम्रो अगाडी नै पुगेँ र तिम्रो बाटो छेकेँ। तिमिले मलाई चहकिलो बत्तीको प्रकाशमा नियाल्यौ र मुसुक्क हास्यौ। आफ्ना दुबै कानमा जडित एयरफोनलाई निकाले पछि मैले एउटा व्यङ्ग्य कस्दै भनेँ। “कत्रो है एटिट्युड पनि मान्छेको””आइयम सरी” तिमीले यत्ती भन्यौ र चुप बस्यौ।

बाटोमा सबै आ-आफ्नो धुनमा हिड्दै थिए। भिडहरूको बिचमा हामी दुई बाटोको एक किनारमा उभिएका थियौँ।

एक खाले हिनताबोधले अगाडी नै मलाई थिचिसकेको थियो र यहाँ फेरी तिम्रो भावहिन मौनताले यसरी सकस पार्यो मानौँ म निस्सासिदैँ छु।”दिस इज फर यु” मैले मेरो हातको किताब तिमी तिर बढाएँ।

“नो नो, आफूँ राख्दा हुन्छ।” तिमीले यत्ती मात्र भनेर मेरो हातलाई सुस्तरी पन्छायौ। तिमीले किताव लिदैँनौ भन्ने त मलाई महसुस भएकै थियो तर पनि म मेरो हिनताबोधलाई कतै पोख्न चाहान्थे, लज्जाबोधले मलाई सताएको थियो र यसका लागी उचित माध्यम तिमी नै थियौ।

मैले अन्तिम अस्त्र प्रयोग गरे “गिफ्ट सम्झेर लिन नि मिल्छ होला नी।” लगभग याचनै गरेको शैलीमा भनेँ। यो पल्ट हाम्रा आँखा फेरी जुध्न पुगे। तिमी मिठो सँग मुस्कुरायौ, “गाह्रो भयो नि यो त। तर नो कसरी भनौँ गिफ्टका लागी।”

र अन्त्यमा मेरो हातको किताव तिम्रो हातले समाउन पुग्यो।”थ्याङ्क्यु सो मच फर दिस। क्यान वी ह्याब अ कफी प्लिज?” तिम्ले कफीको अफर गर्यौ।

हामी दुई त्यतै नजिकको एउटा कफी सपमा पस्यौँ। मलाई अब भने तिमी सँग भित्र-भित्रै लाज लाग्यो। म आफैँमा बहिर्मुखी स्वभावको केटी तर त्यो समयमा तिमीसँग केही धक लाग्दै थियो जब तिमीले “कुन कफी प्रिफर गर्छौ” भनेर सोध्यौ।

मलाई केही बोल्नै आएन केवल आँखा झुकाएर टेबल तिर पुर्याएँ। “तिम्रै चोइस” मात्र भन्न पुगेछु।यो वाक्य मेरो दिमागद्वारा सिर्जित एउटा रेडिमेड उत्तर थियो। “दुईवटा लाटे भेनिला फ्लेबरमा गर्दिनु न है” तिमीले दिएको अर्डर लिएर वेटर सुरुक्क गयो।

मलाई माहोल केही असहज भयो पिसाब फेर्ने बाहानाले म वासरुम तिर लागेँ।वासरुम छिरेर मेरी साथी निलुलाई एउटा म्यासेज पठाएँ “ओई सुन्न यार, आई फाउन्ड माई क्रस।”

लेख्दै गर्दा एक धर्सो मुस्कान मलाई नै चाल नदिई ओठबाट बाहिरिन पुग्यो। तिमीलाई क्रस भनेर घोषणा नै गर्नु खै कत्रो आँट हो मेरो त्यो।

तिमी एक अपरिचितलाई पहिलो भेटमा नै यो मनले आफ्नो क्रस बनाउन पुगिसकेछ। अझै भनौ मैले घमन्डी, एटिटियुड वाला केटा भनेर उपमा दिएको मान्छे तिमी खै कसरी हो म जान्दिन मनको एउटा पाटोले तिमीलाई मन मनै मन परायो। आखिर मनै त हो। 

अहिले सोच्दा लाग्छ तिम्रो उही एटिटिउड, उही वेफिक्रीपन  र तिम्रै उही बानीकै कारणले म अप्रत्यासित रूपमा तिमि तिर तानिँदै गएछु।

तिमीसँगको त्यो कफी भन्दा नि मिठो भेट पछाडी म घर फर्किएँ। जव फोन चेक गरे निलुको मेसेज आएको थियो। “ल बधाई छ है केटी। खै हेरौँ त तेरो क्रसलाई?” उसको मेसेजले मलाई नराम्ररी झस्कायो कारण तिम्रो नाम सम्म पनि मलाई थाहा थिएन यो अवस्थामा तिम्रो कुनै पनि सोसियल साइटको डिटेल्स थाहा हुने कुरो भएन। हतार गरेर निलुलाई मुख खोल्नुको उल्झनमा म आफैँ फस्न पुगे।

काँधमा भिरेको ब्यागलाई कुर्सीमा राख्दै मोबाइलको चार्जर निकाल्न मात्र के लागेकी थिएँ ब्यागमा त नसोचेको चिज फेला पर्यो। त्यो थियो उही किताब जुन मैले तिमीलाई दिएकी थिएँ।किताब हातमा लिएर यसो पल्टाउन थालेँ। कभर पेजमै केही लेखिएको देखेँ।

“इट वाज नाइस मिटिङ विद् यु। प्लिज डोन्ट माइन्ड किताव रिटर्न गरेकोमा। तिमीले जे महसुस गरेकी छौ त्यो मैले बुझेको छु। यु आर नाइस पर्सन, फिल फ्री टु टक टु मी।” तल तिर तिम्रो नाम (अशिम सुबेदी) लेखिएको थियो सँगै तिम्रो नम्बर तिमीले छोडेका थियौ।

तिम्रो यो व्यवहारले मलाई पगाल्यो। म भित्र-भित्रै तरल बनेर बग्दै गएँ, तिम्रै यादका थोपाहरूमा भिज्दै गएँ।त्यस पछाडीका दिनहरूमा ह्वाट्सप र फेसबुक मेसेन्जरमा बोल्ने सिलसिला अगाडी बढ्न थाल्यो।

अक्सर तिमिलाई बोलाउन म नै अगि सर्थेँ। “यु क्यान बि माई गुड फ्रेन्ड” भनेर भन्थ्यौ तिमी बेला बेला तर यो कुराले मलाई कत्ति पनि आनन्दित बनाउन सक्दैन थियो। “जस्ट फ्रेन्ड?” भनेर म प्रति प्रश्न गर्थे।

“मेरो साथी छैन नि कोही पनि” भनेर तिमी मलाई भन्थ्यौ। “अनी साथी भन्दा माथी चाहि छन् त्यसो भए है?” मैले आँखा झिम्काएको इमोजी पठाउँदै लेख्थेँ।

तिमी भन्थ्यौ, “मान्छेको जीवनमा हरेक खालका परिस्थिती हुन सक्छ नि प्राप्ती”

तिम्रो हरेक मेसेजमा, हरेक कलमा म तिम्रा कुराहरू खुब चासो दिएर सुन्थेँ। 

“अनि चुरोट पिउन बन्द गर्दा हुदैँन र अशीम सर?” मैले हास्दै भन्थे। “चुरोट त छ म्याडम एक्लो मान्छेको साथी।” तिमी कुनै सिनेमाको सेन्टिमेन्टल डाइलग बोले जसरी बोल्थ्यौ। मैले चुरोट नखाउ भनेर बार बार भन्न चाहिँ सक्दिनथेँ तर एउटा मन थियो जुन मनले तिम्रो चुरोट पिउने बानी हटोस् भनेर कामना गर्थ्यो। आखिर मनको काम नै कामना गर्नु रहेछ त्यो चुरोट नखा वस्मा सिमित थिएन, अशिम मेरो होस् भन्नेमा पनि असिमित थियो।

तिम्रो बोलीमा छुट्टै मिठास  थियो त्यो मिठास म कुनै पनि मिठो मानिएका चिजहरू सँग तुलना गर्न सक्दिनथेँ। 

अन्तरमुखी स्वभावको मान्छे भएता पनि तिमी म सँग हुदा घन्टौँ सम्म बोल्थ्यौ। तिम्रा हरेक आनी बानीमा म रमाउदै गएँ, तिमिलाई अन्जानवस मन पराउदैँ गएँ।

यस बेला बाहिर मस्त सँग झरि परिरहेछ म भने तिमि सँगको विगतलाई कोट्ट्याएर पानिको मिठो धुनमा तरङ्गित हुदैँछु। अचानक मोबाइलमा आएको तिम्रै कलले मेरो सम्झनाको लहरहरूमा अल्पविराम लाग्न पुग्छ।

सदाझैँ तिम्रो कलले एकपटक फेरी उत्साहित तुल्यायो। त्यसो त तिम्रो कल उती सारो आउने भने होइन त्यसैले पनि तिम्रो फोन कलको पर्खाईमा भै रहन्थे म।”कता हो राम्री मान्छे?” तिमीले राम्रै सँग सोध्यौ।

“म वेरोजगार कहाँ हुनु र घरमै छु नि।” फोनको स्पिकरमा तिम्रो सास र आवाज मिसृत मुस्कान सुस्तरी फुत्कियो।”ए तेसो है?” “है है” मैले लयवद्ध बोलीमा भने।

“अनि रोजगार नै चाहिएको हो त?” “अँ तिम्लाई सम्झिने बाहेक अरू रोजगार गर्न पाए हुने हो।”

“लौ हेर, मैले नदिएको रोजगारमा जोइन भएछौ पछी हात लाग्यो सुन्य होला, त्यो बेला मलाई गुनासो गर्न पाइदैन ल।” 

“मलाई थाहा छ नि राम्रो काम गर्दा घाटा मिल्दैन भनेर।” “ए कुरो नाफा घाटाको रैछ है?” “जिन्दगी नाफा घाटामा चल्दै छ के गर्नु हजूर।” मैले यत्ती भने।

 प्राप्ती, मिल्छ भनि भोली येसो भेटौँ न हामी।” “कहाँ भेट्नी नि?” “फिक्सन पार्कमा आउन है।” हामी भोली भेट्ने योजना बनाएर कल राख्यौ।

तिम्ले भनेको फिक्सन पार्कमा हामी साँझको समयमा पुग्यौँ। चिसो महिनाको त्यो साँझमा चिसै सिरसिरे हावाका झोक्काहरूले हामीलाई स्वागत गरे।

फेवा तालको किनारमा हामी दुई थियौँ, त्यहाँ गहिरो ताल हाम्रै सामुन्य लमतन्न थियो साथमा थिए डुङ्गा सयरको मजा लिदै गरेका मानिसहरू।

“साच्ची फिक्सन पार्क चाही किन भनेको नि यो ठाउँलाई?” मैले तिमीलाई सोधे। “फिक्सनहरू फुर्छन क्या मलाई यहाँ बस्दा।” तिमीले सहज प्रश्नको उत्तर दिए जसरी भन्यौ। “ओक्के आइ सि। भनेपछी यहाँ बसेर धेरै कविता लेख्यौ हैन त?” “अँ सबै त हैन केही केही।” “अनि खै त नि मेरो लागी कविता लेखेको?” म थोरै तिमी तर्फ सरेर लाडे पल्टिदै सोधेँ। “तिम्रो लागी नि कविता लेख्न पर्छ र?” “खुब! किन नि?” “तिमि आफै एउटा कविता हौ नि।”

“नाटकी। कस्ले पो पढ्छ र मलाई?” “किन पढ्नु पर्यो र सबैले, पछी पढ्न पर्ने पाठकले पढे भैहाल्यो नि।” “ह्या छोड। तिम्ले केही लेख्दैनौ मेरो लागी।”

म ठुस्किएर तिमिबाट पर सरे।”प्राप्ती, रिसाको?” “होइन खुसाको। तिम्ले यत्रो फकाको छौ किन पो रिसाउनु।”

“हेर मलाई फकाउन आउदैन बरु मान्छे आफै न रिसाको राम्रो।” मलाई यत्ती भनेर तिम्रो नजर फेवा तालमा अडियो।।म अझै ठुस्किने मुडमै थिएँ तर तिम्ले फकाउने प्रयास गर्नु त कता उल्टो फकाउन आउँदैन भनेर भनिदियौ।

तिम्रो व्यवहारले मुटु बेस्सरी दुख्यो। दुख्नै पर्ने त थिएन त्यही पनि दुख्यो हुन त मुटु दुखाउन के पो गर्न पर्छ र।  तिमी मेरो को न को तर पनि आफ्नै मान्छे ठानीसकेको रहेछ यो मनले।

तिमीले एउटा चुरोट सल्कायौ र भन्यौ “प्राप्ती थाहा छ आज कति तारिक हो?” “उम टुवेल्ब हो।”चुरोटको धुवाँ फेवाताल माथि माथी हुदै पर सम्म पुग्यो। “जेनवरी टुवेल्ब इज द वर्स्ट डे फर मि।” तिमीले रुन्चे आवाजमा यसो भन्यौ।

मनमा आएका सम्भावित घटनाहरू सम्झेर मलाई डर लाग्न थाल्यो । “आयम् सरी अशिम।” “नो प्रब्लम प्राप्ती” तिमिले नजर म बाट उठाएर विपरित फर्किदै चुरोटको अर्को लामो सर्को लियौ।

“यार, लाईफ इज सो फकिङ हार्ड उनी बिना।” तिम्रो मुखबाट यो वाक्य हटात् निस्कियो जुन मेरो कल्पना भन्दा नितान्त बाहिरको थियो।

तिम्रो कुरा सुनेर हिउँदको मौसममा पनि म असिनपसिन भएँ। मेरो मनमा त तिमीलाई मैले राखिसकेकी थिएँ तर तिम्रो मनमा अरू नै कोही रैछ भन्ने यथार्थता थाहा पाएर म सुन्य भएँ। तिमी आफै के के बोल्दै थियौ जसलाई प्रस्टसँग सुन्न मेरा कानहरू असमर्थ भइरहेका थिए।

मैले जसोतसो आफुँलाई सम्हाल्ने कोशिस गर्दै सामान्य हुन खोजेँ। 

“अनी के भयो?” “धेरै कुरा भयो प्राप्ती। यु नो, कसैलाई आफूँलाई भन्दा बडी माया दिएको फल नमिठो सँग पाएँ। उनलाई मैले के मात्र गरिन, सबथोक गरे भन्नै पर्दा त म मेरो परिवार सँग लडे जस्ट फर हर। ऊ त्यस बेला भरखर अमेरिका पुगेकी थिई र म नेपाल थिएँ। मेरो ब्याचलर सकेर म पनि अमेरिका अप्लाई गरेर उतै जाने हाम्रो प्लानिङ थियो तर पछी ऊ म बाट अनेक बहाना बनाएर टाढिदै गै। पछी थाहा पाएँ उसले मलाई हटाएर मनमा अर्कैलाई राखिछे। म हुँदाहुदै उसले मलाई चिट गरी। मैले धेरै समय सम्म यो सब कुरा थाहा पाएर पनि चुपचाप बसे कारण म हाम्रो सम्बन्ध बिगार्न चाहान्नथेँ। धेरै समय सम्म पनि मैले उसलाई आफैँ तिर ल्याउने प्रयास गरे, उसले गरेका हर गल्तीहरूमा आफूँ नै दोषी भैदिन्थेँ। मैले तिमी किन यसो गरेको भने भनि उसकै चर्को स्वर हुन्थ्यो, ऊ नै सही हुन पर्थ्यो। यस्तो अवस्थामा पनि म जति सक्छु झुकिरहेँ मानौँ म एउटा बाँस हुँ जो आफूँ भाचिँदा सम्म पनि झुकिरहन्छ।

एक दिन त ठिक होला, ऊ फेरी मै सँग आउने छे भनेर सधैँ भगवान पुकार्थेँ तर मेरा सब सब प्रयासहरू बालुवामा पानी खन्याए सरह भयो अनि एक दिन यस्तो दिन पनि आयो त्यो अगस्ट टुवेल्ब थियो जुन दिन उसले “आइ कान्ट बि विथ यु।” भनेर भनी। ठिक दुई वर्ष अगाडी हाम्रो मिठो सम्बन्ध आदिकारिक रुपमा छिन्न भिन्न हुन पुग्यो।

तिम्ले यो सब घटनाक्रमलाई एकै सासमा भनेर सिध्यायौ। मैले तिमी तर्फ नजर पुर्याउँदा तिम्रा आँखाहरू आसूँले डम्म भरिएका थिए।

तिम्रो यो हाल देखेर भित्रैबाट तिमी प्रती औधी माया जागेर आयो। दिमागले केही विचार गरेन। न त दिलले नै केही महसुस गर्यो। रोईरहेको तिमीलाई एक्कासी अङ्गालो हाल्न पुगेछु।

“म छु नि तिम्रो साथमा, प्लिज अब रुनु पुग्यो ल।” तिम्रो शिरको कपाल मुसार्दै म बोलेँ।

“थ्याङ्क्स प्राप्ती।” हामी बिस्तारै एक अर्काको अङ्गालोबाट छुटियौँ।

रात झमक्कै परिसकेको थियो अब निस्किनु पर्छ भनेर हामी बसिरहेको ठाउँबाट उठ्यौँ र चिया पिउने बहानामा बाटो नजिकको चिया पसलमा पस्यौँ।

“अब तिम्री उनीले छोडेर गैहालीन है।” तात्तातो चिया सुरुप्प पार्दै मैले भनेँ।

तिम्ले चुरोट सल्काउदैँ भन्यौ। “खै किन किन मलाई अझै आसा छ कि ऊ भविष्यमा मेरी हुन्छे भनेर।” “तिम्री भुपु अर्को केटा सँग लिभिङ टुगेदरमा होलि, तिमी भने यहाँ त्यस्सै तड्पेर।” मैले हाँस्दै भने।

“प्राप्ती उसले मलाई कहिलेकाँही त सम्झिन्छे होली के।” ओठमा मिठो मुस्कान लिएर तिमीले यसो भन्यौ, जुन कुरा सुनेर म भित्र भित्रै भतभती जल्दै थिएँ।

“आफूँले भन्दा नि आफूँलाई बढी माया गर्ने मान्छेलाई छान्नु पर्छ रे त जीवनमा।” जलन भैरहेको मनलाई आफ्नै सान्त्वनाको पानीले छ्याप्दै मैले भनेँ।

“हैन बरु आफूँलाई मन पर्ने मान्छेलाई चाहिँ  आफ्नो माया दिएर मन जित्ने होला।” तिमीले कुरालाई ठ्याक्कै उल्टाइदियौ। मैले केही भन्ने ठाउँ थिएन यसमा।

“खै किन हो प्राप्ती मलाई सारै गारो भएर आउँछ, दुई वर्ष भैसक्यो तै पनि म मुभ अन हुन सकेको छैन।”

“त्यसको लागी त तिम्ले ट्राई गर्नु पर्छ नि। अल्टर्नेटिभ खोज्न पर्यो, सबै भन्दा इम्पोर्टेन्ट त संसारमा ऊ बाहेक पनि अरू छन् जसले मलाई पवित्र माया गर्छ भन्ने कुरालाई पनि विचार गर्न जरुरत छ।”

चुरोटको धुवाँलाई मै तिर उढाउँदै तिम्ले भन्यौ। “यु आर राइट तर ऊ इरिप्लेसेबल छ अर्थात् अपरिवर्तनिय छ कम्तिमा मेरा लागी। मैले धेरै कोसिस गरेँ अहँ सक्दै सकिन। म जो केटी सँग नजिक भएता पनि उसलाई रिप्लेस गर्न कसैले सकेन र सायदै सक्ला।

तिम्रो हरेक वाक्यले मनमा आगोका झिल्काहरू झन झन बढ्दै थिए यता चुरोटको पिरो धुवा मेरो नाकैमा ठोकियो।

“प्लिज अशिम पुग्यो के अब।” मैले चुरोट नखाउ भनेर तिम्लाई रोक्न थालेँ।

“छोड न यार कस्तो दिक्क लाग्दो दिन छ, आज त मेरो ब्रेकअप भाको दिन पो हो।

“ब्रेकअप भाको दिन भन्दैमा खाको खाइ गर्न पर्छ त नि। हामी भेटे देखि तिम्ले लगातार खाइराछौ।” तिम्रो ओठमा च्यापिएको चुरोटलाई मैले थुतेर टेबलमा फ्याकिदिएँ।

मेरो त्यो काम देखेर तिम्लाई उठ्नु नउठ्नु रिस उठ्यो। “प्राप्ती दिस इज टु मच। किन यो सब हँ?” तिम्रा हातहरू जोडले टेबलमा बजारिए।

म डरले काम्न थाले। के गरुँ र के नगरुँ, के भनूँ र के नभनूँको मझधारमा परेँ।

“किन कि, म तिम्लाई माया गर्छु अशिम।” भन्न त भने तर कहाबाट भने, किन भने मलाई नै थाहा भएन। लाग्छ म आफ्नै अवचेतन मनको सिकार हुन पुगेछु।

“आइ डोन्ट लभ यु, स्टप योर बुलशिट।” तिम्ले यती जोडले भन्यौ कि चिया पसलले समेत सुनेर आफ्नो निधार खुम्च्यायो। यता मलाई तिम्रो धार बिनाको वचनले घाइते तुल्यायो। यती भनेर तिमी बसिरहेको कुर्सीबाट उठेर सरासर बाहिरियौ।

“आइयम् सरी अशिम” म पनि चिया पसलबाट बाहिरिदै तिम्रो पछी लागेँ तर मेरो आवाजले तिम्लाई रोक्न सकेन।

नया जिवनको सुरुवात होला भन्ने सोचेर तिम्रो नजिक भएको थिएँ तर मेरो जिवनले फेरी आफ्नो लय गुमाउन पुग्यो। एउटा अर्थपूर्ण सम्बन्धको प्रयास गरेकी थिएँ तिमीसँग जुन आफैँलाई अर्थहिन हुदै गएको महसुस भयो।

म घर फर्किएँ। पाईलाहरू मात्र होइन मन पनि उत्तिकै भारी भएको थियो।

केही बेर अगाडी तिम्रो आँखा आँसुले भरिँदा तिमीलाई साथ दिन म छेउ मै थिएँ, अहिले मेरा आँखाहरू रसाईरहदा तिम्रो एउटा फोन कल सम्म पनि आएको थिएन।

मैले निलुलाई कल गरेर त्यो साँझको सम्पूर्ण वित्तान्तर सुनाएँ। “कस्तो साइको केटा हो त नि। छोड्दे यार यसको पछि लाग्न।” निलुले यसो भन्दै गर्दा मैले मेरो गल्तीलाई पनि प्रस्ट देखाएँ।

” अझै एक्स पनि त रैछ।” “त्यहीँ त त्यो अझै एक्सलाई सम्झेर बस्छ अहिले पनि।” मैले नैराश्य प्रकट गर्दै भने।

“यती राम्री प्राप्ति हुदाहुदै अरू याद गर्ने कस्तो मूर्ख हो मलाई भेटा भोलि नै। प्राप्तिलाई प्राप्त गर्न कति गारो छ त्यसलाई धेरै भाको हैन।” “हेर है केटी म मजाक गरिरा छैन।” निलुको कुरा सुनेर मलाई दुखिरहेको टाउको झन् दुख्यो।

“टाउको नदुखा न प्लिज।” “म जिस्केको के। ओइ सुन्न केटी। त्यसलाई मुभ अन हुन गारो भैराको होला के बरु केही टाइम दिएर तँ पनि नजिक भएर त्यसलाई इजी बनाउँदै जादा ठीक होला है।”

यस पल्ट भने निलुको कुरा चित्त बुझ्दो लाग्यो। केही बेर अरू बोलेर हामीले फोन राख्यौँ।

म सुत्ने प्रयास गरिरहेँ तर पनि निन्द्रा लागेन। यता उता कोल्टो फेर्दा फेर्दै रातको ११ बजे तिम्रो मेसेजको घन्टी बज्यो जुन मेसेज अब कहिल्यै आउँदैन कि जस्तो लाग्दै थियो।

तर सोही मेसेजले राहतको काम गर्यो। “।आयम् सरी प्राप्ती तिम्लाई आज मैले ठूलो चोट पुर्याएको छु। देख्यौ नि म कति न राम्रो छु है? एनिवेज थ्याङ्किउ फर योर कम्पनि टेक केर राम्री मान्छे, आइ मिस यु गुडनाइट।”

तिम्रो यो मेसेजले निभ्नै लागेको दीपमा तेल थपिदियो, त्यहि दीपको प्रकाशलाई मनभरी सङ्गालेर म मिठो निन्द्रा निधाएँ।

दिनहरू हतार हतारमा बित्दै थियो। तिमी र म पनि आ-आफ्नो कलेज आउने जाने गर्दै थियौँ। कहिलेकाहिँ  कलेज बङ्क हानेर पनि मुभी हेर्न हल सम्म पुग्थ्यौँ। यसै बिच हामी दुबै शुक्रबारको दिन कलेज नगएर दिउँसो बाह्र बजेतिर चिप्ले ढुङ्गाको एउटा सानो क्याफेमा गफिदै थियौँ।

“तिम्रो उनिलाई कहिले सम्म मिस गर्ने अशिम?” “थाहा कहा छ र मलाई पनि। अब तिम्ले भनेको जस्तो उन्लाई भुल्ने कोसिस एकपटक फेरि पनि गर्छु ठूलै रिक्स लिएर भए पनि।” ” प्राप्ती, माया पनि कस्तो रहेछ है, नाफा घाटाको बिजनेस जस्तो रिक्स नै लिनु पर्ने।”

रिक्स लिन्छु भन्दा मलाई बेस्सरी हासो उठ्यो। मेरो हाँसोमा साथ दिँदै तिमी पनि मज्जाले हाँस्यौ जुन हाँसोको म वेग्र प्रतिक्षामा थिएँ। तिम्लाई माया गर्ने मान्छे म जो परेँ, तिम्रो एउटै मुस्कानले पनि मलाई आनन्दित महसुस गराउँथ्यो।

“बेग्नास जाने त आज?” तिमि सँग समय बिताउने प्रस्तावलाई नाई कसरी भन्न सक्थे र मैले तर “ढिलो हुन सक्छ नि भरे घर फर्किन” भनेर भनेँ। 

“एकै क्षण मात्र हो के प्लिज जाम न है? मलाई रिफ्रेस हुनु छ। सधैँ यसरी पनि त चल्दैन।” तिम्रो प्लिजले मलाई मोहित बनायो र बस चढेर हामी बेग्नास तिर हानियौँ।

तिम्रो परिवर्तित बानी देखेर म आफै छक्क पर्दै थिएँ। हामी बिच धेरै कुराहरू भए। पढाइदेखि जिवन सम्म, जिवन देखी माया प्रेमका कुरा गर्न पनि पछी हटेनौँ। रमाइलो गर्दा गर्दै झमक्कै साँझ परेको हामी दुईलाई पत्तै भएन।

“अशिम घर जाने नि अब।” मैले भनेँ। “प्राप्ती धेरै लेट पो भयो त है, अब अहिले के हतार गरेर जाने र। यतै बसौँ आज हुन्न?” हुन्न कसरी भनौँ अनि हुन्छ पनि त म भन्न सक्ने अवस्थामा थिइन।

तिमी मेरो हौ, मेरै हुन पर्छ त सधैँ मनले भन्थ्यो तर तिम्रो मनले के भन्थ्यो त्यो थाहा पाउन सकिन कहिल्यै पनि।म चुपचाप नै बसे। तिम्ले मेरो मौनतालाई नै स्विकृति ठान्यौ र नजिकैको रिसोर्टमा हामी पुग्यौँ।

जिन्दगीको पहिलो पटक म कुनै केटा मान्छेको यती धेरै समीपमा थिएँ जहाँ तिम्ले फेरेको सास पनि मलाई महसुस हुदै थियो। मेरो मनमा रहेका भावनाहरू कही कतै नछचल्किउन् भनेर म सक्दो सतर्क हुदै थिएँ। रुममा दुई ओटा खाट थिए म एउटा खाटमा गएर सुत्ने तरखर गरेँ। “प्राप्ती सुत्ने अहिले नै? बस न एक छिन” तिम्रो बोलीले खाटमा पल्टीसकेकी मलाई उठायो। तिम्ले आफ्नो ब्याग खोलेर केही निकाल्यौ जुन चिज वाइन र भोड्का थियो। “बाठो मान्छे।” मैले तिम्रो छेउमा पुगेर कुमले सुस्तरी धक्का दिएँ।

“तर म खान्न है।” “खानै पर्छ प्राप्ती मैले तिम्रै लागी ल्याको हो।” तिम्ले वाइनको बोतल खोलेर गिलासमा राख्न थालिसकेका थियौ। “जस्ट वाइन मात्र खाने तिम्ले ल।”

मलाई फेरी पनि आफ्नो मनको बहकाउमा बहकिनु हुदैन भन्ने कुरा सम्झना भयो साथै, अशिमको भुपु प्रेमिकाको पनि याद आयो। के साच्चै अशिमले अब बिर्सन्छ त उन्लाई? मनले आफैँलाई प्रश्न गर्यो तर खास उत्तर पाउन सकेन। तिमी खुसी देखिन्थ्यौ त्यसैले पनि मैले तिम्लाई केही प्रश्न गर्ने आँट गर्न सकिन।

मेरो अगाडीको एउटा गिलास वाइनले भरियो र अर्को गिलास भोड्काले। तिम्ले आफ्नो गिलास उठायौ। म भने खाउँ कि न खाउँको दोमन मै अर्को गिलास उठाएँ र हामीले चियर्स गर्यौँ।

दुई गिलासहरू जसै एक आपसमा ठोकिए त्यसरि नै हामी बिचका मनका र तनका पर्दाहरू सुस्त सुस्त खुल्दै गए, खोलिदै गए।

“आइ वाज लाइकिङ यु प्राप्ती फ्रम आवर भेरी फस्ट मेट।” गिलासको रक्सी सकिएपछी तिम्रो बोली पहिले भन्दा नि मिठो लाग्यो, भन्नै पर्दा मादक लाग्यो।

तिम्ले अर्को गिलास आफूँलाई बनाउदै गर्दा मैले भने।”म त झन तिम्लाई माया गर्छू नि अशिम। आई रियल्ली वान्ट यु।” मैले आफ्नो माया तिमी सामुन्य पोख्दै गएँ।

“तिम्ले मलाई कहिल्यै माया दिएनौ। तिमी जहिले तिम्रो एक्स बाहेक केही भन्दैनौ।” मैले यत्ती बोल्दै गर्दा लाग्यो यही नै हो तिम्लाई आफ्नो बनाउने उचित समय। “प्लिज कुरा न गर है त्यो रन्डीको।” “त्यस्तो नराम्रो शब्द न बोल है तिमी।” तिम्लाई रक्सीले बढी नै लागेको थियो। मैले तिम्लाई नियन्त्रण गर्न सक्दो कोसिस गरेँ तर पनि तिम्ले आफ्नो भुपुलाई सुन्नै नसकिने गाली गरेर भुत्भुताउदै थियौ।

“साला हेर्दै जाउ न डियर त्यो कुकुर्नीले जिन्दगीमा कुकुरले नपाउने दुख पाउछे मलाई मात्र थाहा छ के। बट आइयम् सरी डियर तिम्रो मायाको कदर गर्न सकिन है मैले। अब त्यस्तो हुने छैन कहिल्यै पनि। त्यसलाई त मा कस्सम काटेर टुक्रा टुक्रा बनाएर सेतीमा बगाइदिन्छु।” तिम्रो आक्रोसलाई मैले रोक्न नसकिरहेको बेलामा तिमी सुस्तरी मेरो नजिक आयौ र आफ्ना ओठहरू मेरो ओठहरूमा जोड्यौ।

वाइनको झम्झमाइ एकातिर थियो भने अर्को तिर तिम्रो चुम्बनको नसामा म घुल्दै गएँ। हाम्रा ओठहरूले एकआपस सँग गहिरो सम्बन्ध बिस्तार गरे जुन बिस्तारै हाम्रा हातहरूमा पनि सर्दै गयो।

तिम्रा हातहरू चकचके भएर मैले लगाएका लुगाहरू उधीन्न थाले, यता मेरा हातहरूले पनि तिम्रो प्यान्टको बटन खोल्न थाल्यो।

अब भने हामी दुई सर्वाङ्ग नाङ्गा भयौँ। बसिरहेको सोफा हुदै खाट सम्मको यात्रा एकदमै उल्लास मय बन्यो। बेड लाइटको मसिनो प्रकाशमा हाम्रा दुई शरीर एक आपसमा खप्टिए।

विभिन्न कोणको हाम्रा हलचललाई साथ दिन तिम्रा मेरा सुस्केराहरू थिए सँगै थियो खाटको चुई, चुई, चुईको अविराम ध्वनी।

बिहानै चरा चुरुङ्गीको चिर्बिरले मलाई बिउँझायो।

आज म मिठो कल्पना बाट बिउझिएकी थिइन, आज त म सत्यतालाई छोएर बिउझिएकी थिएँ। तिमी नै मेरो एउटै सत्य थियौ। लाग्यो खास जिवन त आजकै दिनबाट शुभारम्भ हुने वाला छ।

आँखाहरू नखुलेकै अवस्थामा खाटको एक छेउमा म आफूँलाई पाएँ। अर्को छेउमा तिमीलाई अङ्गाल्न जब हातहरू लम्काएँ तव केवल खाली ठाउँ मात्र फेला पारे।

अर्को खाटमा आँखा पुर्याएँ तर तिमी त्यहाँ पनि थिएनौँ। “कहाँ गयो त यो मान्छे एक बिहानै?” मुटुले आफ्नो ठाउँ छाड्ला जस्तो महसुस भयो. ढुक्ढुकी भढेकै अवस्थामा रुमको अट्याच वाथ्रुम तर्फ लागेँ तर पनि तिमी फेला परेनौँ।

कोठाको चारै कुनामा हेरेँ तिम्रो न ब्याग थियो न त कुनै कपडा नै, तिम्रो भन्ने एउटै चिजको पनि नामोनिशान थिएन, थिए त केवल रक्सीका बोतल, गिलासहरू र चुरोटका ठुटाहरू।

आखिर यो सब किन, केका लागी हुदैँछ। मनले कुनै भेउ पाउन सकेन। म पसिनाले निथ्रुक्क भिजिसकेकी थिएँ। हात खुट्टाहरू राम्ररी चलिरहेका थिएनन् केवल एक खाले कम्पन मात्र थियो शरिरभरी।

लुला भएका खुट्टाहरूलाई यताउता घिसार्दै गर्दा टेबलमा सानो कागजको टुक्रो फेला पर्यो। जहाँ तिम्रो उही परिचित अक्षरहरू छरिएका थिए।

“डियर प्राप्ती, तिम्लाई अब सरी भन्ने आँट पनि छैन म सँग। थाहा छैन किन मैले यो सब गरे। न त तिम्लाई तड्पाउन हो, न त तिम्लाई धोका दिउँ भनेर नै। 

तिम्लाई थाहा नै छ म मेरी उनीलाई भनेर दुई दुई वर्ष सम्म कुरी बसेको छु, हुन त फिर्ता आउँछु भनेको मान्छेलाई पो कुर्ने हो त तर पनि म जिन्दगीको एउटा अनिश्चित ढोका अगाडी उभिएको थिएँ जुन ढोका खुल्ने भन्दा नखुल्ने सम्भावना बढी छ। त्यहीँ अनिश्चित ढोका अगाडी उभिएको मलाई तिम्ले देख्यौ र मायावी भएर बोलायौ। राम्ररी सम्झाएर भन्यौ “तिम्रो लागी त्यो ढोका खुल्दैन अब नयाँ ढोकामा प्रवेश गर है” भनेर।

प्राप्ती मैले हजार कोशिस गरे होला उन्लाई भुलाउन तर पनि कुनै उपाय हुन सकेन। तिम्रो साथलाई आफूँ सँग सङ्गालेर तिमि सँग रमाउने कोशिस गरेँ तर पनि सकिन उनका यादहरूलाई तिलान्जली दिएर बाँच्न। बिर्सिएको जस्तो गर्न सकिन्छ न कि साच्चै बिर्सिन।

हिजोको रातमा जे नहुन पर्ने हो त्यहि भयो। तिमी विरुद्ध गएर मैले तिम्रो कोमल मन र तन दुबैलाई बिटुल्याएँ। हो म पापी हो प्राप्ती तिमिलाई जुठो मात्र बनाइन तिम्रो मनको कोमल सतहमा घाउ तुल्याएर हिडेको छु आज।

तिमी भेट भएको दिनदेखी मेरो जिवनमा फेरी खुसी फर्केर आयो। म हाँस्न बिर्सिसकेको मान्छे पनि मुस्कुराउने भाको थिएँ तर जिन्दगीमा तिमीलाई अङ्गालेर मनमा अर्कैलाई सजाउनु पक्कै तिम्रा निम्ती त ठूलो सजाए हुने छ भन्ने महसुस गरेरै तिमीबाट पर जाँदै छु।

प्राप्ती, तिमीलाई भन्नै पर्छ मैले कि म मेरी उनीलाई फिर्ता पाउँला, कि त मै मरी जाउँला अथवा बाँचे पनि घिटी-घिटी भएर बाँच्ने छु तर उसलाई

बाहेक कसैसँग पनि यो दिलको साँचो सुम्पिन सक्ने छैन।

अशिमका शब्दहरू पढ्दा-पढ्दै आँसुहरूले निकास खोजे आँखाबाट। उसलाई माया त गर्थे म तर उसको खुसी नै अरू कोही छ भने मैले आफ्नो जिवनलाई फरक ढङ्गबाट ज्युन सिक्न पर्ने छ अब।

एक पटक मेरो नाम राख्दिने मेरो बाबा सम्झिएँ, “बाबा हजूरकी छोरीको नाम त प्राप्ती राख्दिनु भयो तर सबै चिजहरू गुम्दै गए जिवनमा। सानैमा हजूरलाई गुमाएँ आज अशिमलाई पाउन सकिन। खै के प्राप्त गरे त मैले?”

नेपाल छोडेर लन्डन आएको पनि ठ्याक्कै ३ वर्ष भएछ। गाडी भित्र म छु र मेरो साथमा मेरि मम्मी हुनुहुन्छ । वहाँलाई बकिङहम प्यालेस घुमाउने योजना छ आज।

लन्डनको ट्राफिक लाइटमा बस्दै गर्दा मेरो फोनमा नोटिफिकेसन आउँछ। ह्वाट्स्यापमा निलुको मेसेज देखिन्छ। “ओई केटी छिटो भन्दा छिटो इन्स्टाग्राम खोल्न है।” मैले ट्राफिक लाइटमै भएको अवस्थामा इन्स्टाग्राम खोल्छु। फिडको सुरुमै देखिन्छ अशिम सुबेदीको पोस्टमा एउटा फोटो।

अशिम सुबेदी गट म्यारिड विथ रुपा तामाङ। म मुसुक्क मुस्कुराउँछु।”किन हाँस्छे छोरी एक्लै?” मम्मी प्रश्न गर्नु हुन्छ। “अरूको खुसीमा पनि खुसी लाग्ने रहेछ ममी ।

कथाकार घिमिरेको मायाको आयतन पहिलो कविता कृति हो ।