मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाजपालाई धक्का, आएन एक्लैको बहुमत

भाजपालाई धक्का, आएन एक्लैको बहुमत

अपि टाइम्स

एजेन्सी । भारतको लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) बहुमत ल्याउन असफल भएको छ । तर भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई भने स्पष्ट बहुमत प्राप्त भएको छ ।

पाँच सय ४३ सिटको लागि भएको लोकसभा चुनावमा एनडीएले २ सय ९२ सिट जितेको छ । यसमा भाजपा एक्लैको २ सय ४० सिट रहेको छ । पाँच सय ४३ सदस्यीय लोक सभामा बहुमत पुर्‍याउन दुई सय ७२ सिट चाहिन्छ ।

एनडीएको विपक्षी गठबन्धन भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया गठबन्धन) ले २ सय ३४ सिटमा जीत हासिल गरेको छ ।

परिणाम घोषणा भएकामध्ये अन्य १७ सिटमा केही साना दल र स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका भारतीय निर्वाचन आयोगलाई उद्धृत गरी बीबीसी हिन्दीले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभामा तेस्रो पटक निर्वाचित हुनुभएको छ । उहाँले भाजपा नेतृत्वको एनडीएले सरकार बनाउने बताउनुभएको छ ।

गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात चरणमा गरी गएको शनिवार सकिएको थियो । लगत्तै सार्वजनिक भएका एक्जिट पोलअनुसार भाजपाले लगातार तेस्रो पटक सरकार बनाउने प्रारम्भिक अनुमान गरिएको थियो । तर ती अनुमान गलत भएका छन् ।

पछिल्ला दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गरेका मोदीलाई यसपटक भने सरकार बनाउन गठबन्धनमा आवद्ध दलहरुको भर गर्नुपर्ने भएको छ ।