मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामा करको दर नबढ्ने दायरा बढ्ने, १ अरब ७५ करोडको बजेट आउँदै

बाणगंगामा करको दर नबढ्ने दायरा बढ्ने, १ अरब ७५ करोडको बजेट आउँदै

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिकाले आगामी बर्षमा करको दर नबढाउने भएको छ । आर्थिक रुपमा नगरबासी चपेटिएकाले यस बर्ष कुनै पनि शीर्षकमा करको दर नबढाउने र दायरा बढाउनेगरी नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

गरपालिकाको २० औँ कार्यपालिका वैठकले पनि नीति कार्यक्रम पारित गरिसकेको छ । कार्यपालिकाबाट पारित भएको आर्थिक बर्ष २०८१ । ८२ को नीति तथा कार्यक्रम भोलि १५ औँ नगरसभामार्फत् पारित हुँदैछ । यो नीति र कार्यक्रममा यो विषय समेटिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनीले बताए ।

नक्साविनाका घरहरु निर्माण हुन नदिने, बनेका घरहरुको अनिवार्य नक्सापास, करको दायरामा नआएका सबैलाई करको दायरामा ल्याउनुपर्ने गरी नीति र कार्यक्रम बनेको बताइएको छ ।

यसपटक नगरले ब्राण्ड बाणगंगा, विलिभ बाणगंगा नारा पनि पारित गरेर यहाँको सम्भाव्यता र राम्रोपनलाई देशविदेशमा प्रचार गर्ने लक्ष्य पनि नगरले अख्तियार गर्ने भएको छ । यो नारा बनाउनुको उद्धेश्य यहाँ सम्भावना छ, यहिँ बसौँ, ब्यापार ब्यवसाय गरौँ, कामधन्दा गरौँ, बाणगंगालाई ब्राण्ड बनाऔँ र समग्रमा बाणगंगालाई विश्वास गरौँ रहेको मरासिनीले बताए ।

नगर प्रमुख चक्र अर्यालले पनि बाणगंगा आफैमा ब्राण्ड भए तापनि नारा नै पारित गरेपछि यसले थप विश्वासको बातावरण जगाउने बताए । नगरका हरेक काम र गतिविधि यहि नाराको वरिपरि रहेर हुने अर्याल बताउँछन् ।

यसपटक बाणगंगाले १ अरब ७५ करोड बराबरको बजेटअनुसारनीति कार्यक्रम बनाएको छ । यो आन्तरिक आय, संघ र प्रदेशका बिभिन्न शीर्षकमा आउने समग्र बजेटको आकार हो । संघबाट मात्र नगरले ५२ करोड अनुदान पाएको छ । यसअघि नगरले डेढ अरब बढीको बजेट सार्वजनिक गरेको थियो ।