मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगाको बजेटमा ८७५ योजनाः ब्राण्डिङको प्रयास, ब्राण्ड चिन्न भने विफल

बाणगंगाको बजेटमा ८७५ योजनाः ब्राण्डिङको प्रयास, ब्राण्ड चिन्न भने विफल

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०८१ / ८२ को बजेट सार्वजनिक गरेको छ । मायादेवी रिसोर्ट बैरियामा आयोजना भएको १५ औँ नगरसभामार्फत् ८७५ बुँदे योजना समेटेर १ अरब ६२ करोड ४६ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक भएको हो । नगर प्रमुख चक्रपाणी अर्यालले सभामा बजेटको सारांस पढेर सुनाएका थिए ।

संघबाट नगरमा आउने वित्तिय समानीकरणतर्फ १९ करोड ९ लाख, शसर्त अनुदान ५५ करोड ७३ लाख ३८ हजार, विशेष अनुदान ६५ लाख, राजश्व बाँडफाँड १६ करोड २७ लाख, प्रदेशतर्फबाट आउने १ करोड ३५ लाख ८६ हजार, शसर्त अनुदान १ करोड ४५ लाख, विशेष अनुदान २५ लाख, राजश्व बाँडफाँड १ करोड ६० लाख, समपुरक अनुदान १ करोड ५ लाख, आन्तरिक आयतर्फको २८ करोड ५० लाख, सडक बोर्डको ५० लाख र सामाजिक सुरक्षा तर्फको ३८ करोड ८६ लाख ६२ हजार गरी १ अरब १ अरब ६२ करोड ४६ लाख ४६ हजार रुपैयाँको बजेट सार्वजनिक भएको हो ।

त्यसमध्ये सामाजिक विकासको लागि सबैभन्दा धेरै ९१ करोड ११ लाख ५१ हजार विनियोजन भएको छ भने दोश्रोमा भौतिक पूर्वाधार रहेको छ । भौतिक पूर्वाधारमा ४१ करोड ६९ लाख ९९ हजार बजेट छुट्याइएको छ । त्यसैगरी सुशासन तथा संस्थागत विकासतर्फ २० करोड २५ लाख, आर्थिक विकासतर्फ ७ करोड २७ लाख र वन वातावरण तथा विपद् बयवस्थापनतर्फ २ करोड २ लाख बढी विनियोजन भएको छ ।

नगरको आगामी प्राथमिकतामा सामाजिक, पूर्वाधार, सुशासन, आर्थिक र वन, वातावरण तथा विपद् बयवस्थापन रहेको बजेट पुस्तिकामा उल्लेख छ । सोहि बजेटको आधारमा कृषि, पशुसेवा, शिक्षा, युवा खेलकुद, स्वास्थ्य, महिला तथा बालबालिका रोजगार र उद्धम प्रर्वद्धन लगायतका कार्यक्रम समेटिएको नगरप्रमुख अर्यालले जानकारी गराए । नगरका विगतका बहुबर्षे योजना लगायतलाई पनि बजेटले प्राथमिकतामा राखेको छ ।

समग्र नगरको विकासको लागि ब्राण्ड बाणगंगा, विलिभ बाणगंगा भन्ने अभियान संचालन गर्ने कुरालाई पनि बजेटले समेटेको छ । तर नगरले आफ्नो ब्राण्ड के हो ? भनेर चिन्न नसकेको देखिन्छ । अर्थात् बाणगंगाले आफ्नो परिचय के हो भन्ने कुरालाई खुट्याएर बजेट विनियोजन गर्न सकेको छैन । होलसेलमा कार्यक्रम समेटिए पनि नगरको ब्राण्ड केलाई बनाउने हो भनेर बजेटले स्पष्टसंग भन्न सकेको छैन ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नेक्रममा प्रमुख अतिथि भूमि ब्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, प्रदेश सांसद गिरीधारीलाल न्यौपाने, जिल्ला समन्वय प्रमुख बाबुराम आचार्य, काँग्रेसका नगर सभापति विष्णु थापा, माओवादीका नारायण भुसाल, नेकपा एसका दीपक पन्थी लगायतले बजेटले नगर ब्राण्डिङको प्रयास गर्नु राम्रो भएको बताउँदै नगरको आफ्नो ब्राण्ड के हो भनेर चिन्न अनुरोध गरेका थिए ।

कार्यक्रममा सहभागि अन्य सरोकारवालाले पनि नगरको ब्राण्ड चिन्नुपर्ने बताउँछन् । स्थानीय तहको दोश्रो चुनावपछिको ३ बर्ष र त्यसअघिको ५ बर्षसम्म पनि नगरले आफ्नो चिनारी बनाउन नसकेको, गौरव गर्ने योजना निर्माण गर्न नसकेको भन्दै नाराले मात्र नगरको ब्राण्डिङ नहुने उनीहरु बताउँछन् । स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन के मा परिचय बनाउने हो त्यस कुराको सम्बोधन बजेटले स्पष्टसंग गर्न नसकेको भन्दै आलोचना भएको थियो ।

बजेट सार्वजनिकीकरण कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्ति तथा संस्थालाई पनि सम्मा गरिएको थियो । नगरमा धेरै कर तिर्ने, रोजगारी सिर्जना गर्ने, पत्रकारिता, शिक्षा, खेलकुद, स्वास्थ्य आदि क्षेत्रमा योगदान दिएका ब्यक्तिलाईसमेत सम्मानित गरिएको थियो । यस्तै नगरको लोगो बनाउने प्रकाश घिमिरेलाई पनि ३० हजार नगद रुपैयाँले सम्मान गरिएको थियो ।